काठमाडौं । गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले विगतका वर्षमा जस्तै यसपटक पनि चोभार डाँडामा वृक्षरोपण गरेको छ । यसटक नेपाल-जापान दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठलाई समेत अवसर पारेर वृक्षरोपण गरिएको छ ।कार्यक्रमको सुरुवातमा पञ्च बटुकद्वारा स्वस्ती बाचन गरिएको थियो । त्यसपछि नेपाल र जापानको राष्ट्रिय गान बजाई कार्यक्रम अघि बढाइएको थियो ।
नेपालको वातावरण तथा पर्यावरण क्षेत्रको विकास गर्ने उद्देश्यले रुद्राक्ष, धुपी सल्लोलगायत विभिन्न थरीका बिरुवाहरु रोपेका थिए । कार्यक्रममा सहभागीहरुले चोभारको डाँडामा अवस्थित पार्कमा निर्माणाधीन ३८ फिट अग्लो मञ्जुश्री मूर्तिको अवलोकन समेत गरेका थिए ।
गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीले सहभागीहरुलाई स्वागत गरेका थिए । स्वागत मन्तब्यको क्रममा उनले गैरआवासीय नेपाली संघ नेपाल सरकार र निजी क्षेत्रको सहयोग र सहकार्यमा मुलुकको आर्थिक समृद्धिका लागि कार्य गर्न सदा तत्पर रहेको बताए । वातावरण क्षेत्रमा विविध कार्यहरु गरिरहेको र यसमा थप टेवा पुर्याउन संघले शंखमुल घाटमा बगैंचा र शंख निर्माण गर्न लागिरहेको जानकारी पनि गराए ।
कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल र जापानको मैत्री सम्बन्ध ६० औं वर्षमा प्रवेश गरेको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले नेपाल जापानको मैत्री सम्बन्धमा थप उर्जा मिलेको बताए । नेपालको वातावरण क्षेत्रमा गैरआवासीय नेपालीहरुको योगदानको प्रशंसा गरे । नेपालको समग्र क्षेत्रको विकासमा गैरआवासीय नेपालीहरुका साथै आवासीय नेपालीहरुलाई हातेमालो गरेर सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासाशी ओगावा, गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट, गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक तथा बृक्षारोपण कार्यक्रमका समेत संयोजक किरण विक्रम थापा, सांसद राजेन्द्रकुमार केसी, कीर्तिपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उद्धवप्रसाद रिजाल, राष्ट्रपतिका सल्लाहकार डा. मदनकुमार भट्टराई, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, राष्ट्रिय समन्वय परिषद् जापानका महासचिव अनुज थापा, अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा लगायतले पनि धारणा राखेका थिए ।
वृक्षरोपण कार्यक्रमपछि एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक किरणविक्रम थापाले सहभागीहरुको सम्मानमा जलपान तथा दिवा भोज आयोजना गरेका थिए ।