-प्रकाश श्रेष्ठ
शिक्षा समाजको एेना हो । समाज विकासको आधार भनेकै शैक्षिक क्षेत्रको विकासले पार्ने सकारात्मक प्रभाव हो । यसैले गुणस्तरिय शिक्षाको विकासको सकारात्मक प्रभावलाई आम रुपमा महशुष गर्न देश भित्र रहेका सबै स्थानका बालबालिकाले समयसापेक्ष वैज्ञानिक व्यवहारिक शिक्षा सर्वसुलभ रुपमा प्राप्त गर्न सक्नु पर्छ ।
तसर्थ राज्य तहबाटै यसमा विशेष जोड दिदै सोही अनुसारका कार्यक्रमहरु लागु गर्न सक्नु पर्छ । अफसोच तर नेपाल सरकारले यस तर्फ खासै उपलब्धी हासिल गर्न सकेको छैन तसर्थ आम जनताहरुले आ-आफ्नो प्रयासलाई अगाडी बढाउन सके केही नभएपनि सकारात्मक प्रयासहरु हुन सक्छ यसको लागी आज एउटा सानो प्रयासको बारे केही विचारहरु राख्ने प्रयास गरेको छु ।
यसबाट तपाई -हामी सबैमा शिक्षा प्रति हाम्रो जिम्मेवारिताको भावना थोरै भएपनि महशुस हुने मैले सोचेको छु । त्यो भनेको हामी सबैले जहाँ, जे जस्तो काम गर्दै गरेको भएपनि(स्वदेश तथा विदेशमा ) “बर्षको एकपटक आफुले कमाएको कम्तीमा एक दिनको कमाई आफुले पढेको स्कुललाई चन्दा सहयोग दिने गरौ “भन्ने हो ।
यसरी सबै व्यक्तीहरुले स्वत:स्फुर्त आफुले पढाई पुरा गरेको स्कुललाई सहयोग गर्न सके यसरी जम्मा हुन आउने रकमबाट अरु साना भाई-बहिनीहरुलाई आवस्यक शिक्षा-दिक्षा प्राप्तीका लागी आवस्यक शैक्षिक सामाग्री देखि सानोतिनो शैक्षिक पुर्वाधार स्थापनाको लागी सहयोग पुग्ने छ ।
खासगरी ग्रामिण क्षेत्रमा अझैपनि पढ्ने पाठशालाहरु सुविधासम्पन्न छैनन् , पाठ्यसामग्रीहरुको अभाव , खेलकुद मैदान र खेलकुद सामाग्रीको अभाव, कम्प्युटर ल्याव एवं पुस्तकालयको अभाव , प्राविधिक शिक्षकको अभाव , प्राथामिक स्वास्थ्य उपचारका सामान एवं क्लर्क(नर्स, स्वास्थ्य कर्मी ) को अभाव , आतेजाते गर्ने बाटो-घाटोहरुको असुविधा , विद्यार्थी पोशाक, झोला लगायत सामाग्री खरिद गर्न नसक्ने अभिभावकहरुको समस्या आदी कठिनाईहरु छन् ।
यसरी संकलन गरिएको रकमलाई ती समस्याहरु समाधानको लागी सदुपयोग गर्न सकिन्छ । व्यक्तीहरु जो जहाँ जे जस्तो अवस्थामा रहेपनि आखिर तपाई,हामीलाई अक्षर चिनाउने र अगाडी बढ्न सिकाउने स्कुलहरुकै योगदान नै सबैको पहिलो सफलताको आधार हो ।
त्यस कुरालाई मनन गरेर आफुले आर्जन गर्ने एक दिनको कमाई कम्तीमा बर्षै पिच्चे सामुहिकरुपमा जम्मा गरेर स्कुललाई प्रदान गर्ने काममा सबैले आ-आफ्नो ठाउँबाट पहल गर्ने हो भने देश -विदेशमा रहेका आफ्ना गाउँ-छिमेकी व्यक्तीहरु, साथीहरु , अग्रजहरुबाट धेरै सहयोगहरु जुट्न सक्छ यसका लागी आफुले पढेको स्कुलसँग सहकार्य गरी निश्चित नेटवर्कको व्यवस्था समेत गरेर फण्ड कलेक्शनलाई व्यवस्थित गर्न सकिन्छ ।
आजको सामाजिक संजाल र अनलाईन मेडियाको जमानामा दुरीले टाढा रहेर पनि यस्तो कार्य संचालन गर्नको लागी सजिलै एकआपसमा जोडिन सकिन्छ । यस्को लागी हामी सबैको पवित्र मन र सामाजिक उत्तरदायित्वको भावना भने हुनै पर्छ । हामीले पढेर सकियो , हाम्रा सन्तती शहर-बजारका निजी बोर्डिंगमा पढेका छन् वा हामी विदेशमा छौ र यही हाम्रा सन्तती पढिरहेछन् भन्ने किसीमका भावना पाल्ने हो भने खोक्रो राष्ट्रवाद र देशप्रेमको कुरा सामाजिक संजाल र भाषणवाजीमा व्यक्त नगर्दा नै राम्रो हुन्छ ।
यो स्तम्भकारले ४-५ बर्ष पहिले देखिने यो कुरा आफ्नो गाउँको स्कुलमा उठाउँदै आएको तर त्यतीबेला अहिलेको जस्तो नेटवर्क र सामाजिक संजालमा सबैको पहुँच नरहेकोले यसलाई लागु गर्न सकिएन । केही व्यक्तीहरु बीच मात्रै छलफलमा सिमित रह्यो तर पनि स्वयं आफुले थालनी गर्नु पर्छ भनि त्यतीबेला ३ बर्षको कमाईबाट हुन आउने ३ दिनको कमाई आफुले पढेको र पढाएको स्कुललाई अमेरिकाबाट सहयोग पठाएको पनि स्मरण गराउन चाहन्छु ।
खासगरी कम्प्युटर शिक्षालाई अगाडी बढाउनको लागी र समयसापेक्ष शिक्षा दिन यस्तो काम थालौ भन्ने प्रयास भएको थियो त्यसले मुर्तरुप लिन सकेन , अव यसै आलेख मात्र सबैलाई यतातिर ध्यान दिन अनुरोध पनि गर्दछु ।
हो हामी सामाजिक प्राणी भएकोले समाज प्रति पक्कै हाम्रो केही दायित्व हुन्छ र सामाजिक दायित्वलाई केही न केही रुपमा हामीले निर्वाह गर्नु जरुरी छ । हुनेले , सक्नेले नाम कै लागी लाखौ-करौडौ सहयोग गर्न सक्लान् , गरेका पनि होलान् तर हाम्रो स्वच्छ मनले हामीले गरेको १ रुपियाँको पनि त्यतीनै महत्व हुन्छ जति लाखौ रकमको हुन्छ । अत: स्कुल जस्तो पवित्र मन्दिरमा दान गरेर पुण्य कमाउन हामी सक्छौ केवल हाम्रो मन हुने हो भने ।
हामीले एक दिनको कमाई बर्षमा एकपटक दिदैमा हामी गरिव र जीवनको यात्रै विच बाटोमा रोकिने पक्कै अवस्था आउँदैन बरु त्यहाँ भन्दा बढी हामीले दिएको सहयोगले आर्थिक समस्याबाट स्कुल पढ्न नपाउने बालबालिकाले स्कुल पढ्न पाउने छन् , स्कुल भवनहरु बन्न, पुस्तकालय बनाउन , कम्प्युटर शिक्षा प्रदान गर्न , व्यवहारीक प्राविधिक शिक्षा प्रदान गर्ने कामको शुरुवातमा समेत सहयोग पुग्ने छ ।
जसले निजी बोर्डीग स्कुलहरु पढेर उच्च शिक्षा हासिल गरेर जागिर , पेशामा संलग्न छन् त्यस्ता व्यक्तीहरुले पनि कम्तीमा बर्षको एक दिन र सके बढी नै रकम अरु सोही स्कुल पढेका साथीहरु बाट संकलन गरि ग्रामिण क्षेत्रका नाजुक आर्थिक अवस्थाबाट स्कुल शिक्षा लिन बन्चित वा भौतिकरुपमा कमजोर स्कुलहरुलाई सहयोग गर्न सकिन्छ त्यस्तै गरिवका छोरा-छोरीलाई समेत निजी बोर्डीग स्कुल पढ्नको लागी आवस्यक सहयोग गर्न सकिन्छ ।
यसरी प्रत्येक नेपालीले यो “एक दिनको सहयोग कार्यक्रमलाई “अगाडी बढाउन सके शिक्षाको लागी पुरैरुपमा सरकारको मुख ताकि रहनु पर्दैन र यस्तै सहयोग गर्ने प्रथालाई अन्य सामाजिक काम जस्तै स्वास्थ्य केन्द्र निर्माण , बाटो-घाटो, पुल-पुलेसो निर्माण , खानेपानी, कुलो-नहर आदी बनाउन समेत उपयोग गर्न सकिन्छ ।
अत: शैक्षिक क्षेत्रमा देखिने आर्थिक अभावबाट संचालन हुन नसकेका साना-तिना कामहरु र समस्याहरु सहजै समाधान गर्न र स्थायीरुपमा सहयोगलाई निरन्तर प्राप्तीको आधार बनाउन यस किसिमको प्रयास कोशेढुंगा सावित हुन सक्छ ।
बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका