पूर्वप्रधानमन्त्री कोइरालाको अन्त्येष्टि


पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ बुधबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कोइरालाको पार्थिव शरीरमा भतिजाहरु सुधांशु र अतुल कोइरालाले दागबत्ती दिए । पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृह सुरु भए पनि हिन्दू परम्पराअनुसार चितामै राखेर दाहसंस्कार गरिएको हो

आर्यघाटमा कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, कुटनीतिज्ञ, सरकारी उच्च अधिकारीलगायतले अन्तिम श्रद्धाञ्जलि अर्पण गरे । प्रधानमन्त्री ओलीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए ।

कोइरालाको पार्थिव शरीरलाई शवयात्रासहित आर्यघाट पुर्‍याइएको हो । दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा थापाथली, कमलपोखरी, मैतीदेबी, गौशाला हुँदै आर्यघाट पुगेको थियो । शवयात्रामा सहभागीहरुले कोइरालाको तस्बिर अंकित प्लेकार्ड बोकेका थिए ।

गत सोमबार राति १२ः५० मा कोइरालाको महाराजगञ्जस्थित निवासमै आकस्मिक निधन भएको थियो ।