– मोहनराज बराल “मुन”
जिब्रान खलिल जिब्रान,६ जनवरी १८८३ मा लेबलानमा जन्मेका जो एक लेबनानी-अमेरिकी कलाकार, कवि तथा लेखक थिए ।उनिको विचारसँग तर्सेर तत्कालिन लेबनानी अधिकारीहरूले देश निकाला गरेका थिए।
पछि जिब्रान खलीलको नामबाट प्रसिद्ध भएका उनिले भनेका थिए ‘रातको अन्धकारमा ब्वाँसाहरूले निर्दोष पाठाहरूको सिकार गर्छन्, र ठान्छन्— यो कसैले थाहा पाउनेछैन । तर, बिहान सूर्योदय हुन्छ, र रगतका टाटाहरू संसारले देख्छ ।’ जिब्रानले भनेझै नेपालमा राणा शासकको चरम अत्याचार काल अन्धकारमय थियो। ब्वाँसाहरूको रूपमा राणाहरू थिए भने निर्दोष पाठाहरूको रूपमा हाम्रा सहिदहरू थिए।
राणाहरूले ठानेको कुरा गलत साबित हुदै प्रजातन्त्र रूपी बिहानी सुर्योदय भएको थियो।फेरि यहाँ चर्चा गर्न खोजिको बिषय हो सहिद ।यस शब्दको अर्थ खोज्दा यसको सुरू शब्दमै ‘आफ्नो’ भन्ने पदावलीबाट ‘कसैको लागि होइन वा कसैको कर, बल, छल अथवा अरोट-परोट होइन आफ्नै ज्ञान, विवेकका आधारमा आफ्नो देशको निम्ति, आफ्नो संस्कृतिको निम्ति, आफ्नो स्वतन्त्रताको निम्ति, सङ्घर्षमा उत्रने र सङ्घर्षको क्रममा ज्यान गुमाउने वा आफ्नो हक अधिकारको निम्ति निर्भिक भई बलिदान हुने व्यक्ति सहिद हुन्छ भनिन्छ ।
हाम्रा सहिदहरू पनि स्वतन्त्रता प्राप्त गर्ने यज्ञमा चरु भएर होमिँदै सहिद भएका थिए । यिनीहरू अन्याय र अत्याचारलाई नाश गर्न सहिद भएका थिए ।त्यस राणाकालिन अन्धकारमय रातहरूलाई चिरेर मिर्मरमा तारा झारेर बिहान ल्याउने पथमा होमिएका थिए लखन थापा मगर,शुक्रराज शास्त्री,धर्मभक्त माथेमा,दशरथ चन्द र गंगालाल श्रेष्ठहरू ।
विसं १८९१ मा गोरखाको बुङकोट काहुलेमा जन्मेका लखन थापामगर पुरानो गोरख गण पल्टनहुंदै प्रजातान्त्रीक आन्दोलनमा होमीएका थिए । १८५७ मा लखन थापा राणाविरोधी र जनपक्षीय विचार निर्माणमा लागे ।थापाले विसं १९२७ मा जंगबहादुरविरुद्ध विद्रोह गरे र त्यसैको आरोपमा थापालाई पक्रेर जंगवहादुर राणाले मनकामना मन्दिर अगाडि विसं १९३३ फागुन २ गते झुण्ड्याएर मारे ।
तर दुर्भाग्य राज्यले उनिलाई मारेको एक शताब्दी भन्दा बढि समयपछि अर्थात वि.सं. २०५६ सालमा मात्र सहिद घोषणा गरयो।यि थापा नेपालको प्रथम सहिद मानिन्छन् । फेरि वि.सं.१९९७ माघ ६ गतेका दिन विशेष अदालतले शुक्रराज शास्त्री,धर्मभक्त माथेमा,दशरथ चन्द र गंगालाल श्रेष्ठहरूलाई राजद्रोह र देशद्रोहको अभियोग लगाई अंश सर्वस्वसहित मृत्युदण्डको फैसला सुनायो भने नेपालमा सबभन्दा पहिला नेपाल प्रजा परिषद नामक राजनीतिक पार्टी खोली प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई भने ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावासको सजायँ दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउंदो शहीदको रूपमा लिइन्छ।
फेरि शुक्रराज शास्त्रीलाई १९९७ सात माध ९ गते राति टेकु पचलीको खरिको रुखमा झुन्डयाई फाँसी दिईयो भने धर्मभक्त माथेमालाई त्यसको दुई दिन पछि सिफलको एउटा रूखमा झुन्डयाइ फाँसी दिईयो । चार सहिद मध्ये दशरथ चन्द र गंगालाल श्रैष्ठलाई भने माघ १४ गते काठमाण्डौको बिष्णुमती किनार शोभाभगवतीमा गोली ठोकी मारियो। देश र जनताको मुक्तीकोलागी अन्याय–अत्याचारविरोधी संग्राममा मारिँदै छौ भन्ने जान्दाजान्दै पनि मरेर जाने सपुत सहिद हो ।माओत्सेतुङले सहिदको सन्दर्भमा के भनेका थिए भने , ‘जो देश र जनताका लागि मर्छ, उसको मृत्यु पहाडजस्तै गह्रौ हुन्छ । आफ्नो निम्ति मात्र मर्नेको मृत्यु प्वाँख जत्तिकै हलुका हुन्छ ।’यसरी यिनीहरूको मृत्यु पहाडझै गह्रौ थियो। यसकारण पनि यिनीहरू सहिद बनेका थिए।
यि हाम्रा सहिदहरू परिवर्तनको प्रेरक ,साहसको प्रतीक ,त्यागको प्रतिमूर्ति थिए। यसकारण पनि तत्कालिन राणा शासकको डरलाग्दो शत्रु थिए। यसकारण नेपालमा प्रजातन्त्रको उदय पश्चात हरेक वर्ष माघ १६ गते देश र जनताका लागि आफ्नो प्राणको आहुती दिएका वीर सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ। आज पनि देशभर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरी सहिद दिवस मनाइंदैछ।
वास्तवमा सहिद कुनै पार्टी विशेषको मात्र हुँदैन। ऊ सम्पूर्ण जनता र समग्र देशको हुन्छ। जसले देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर अघि बढेको हुन्छ ऊ मरेर पनि बाँचिरहेको हुन्छ। जो व्यक्ति नीजि स्वार्थमा मात्र तल्लीन रहन्छ ऊ वास्तवमा बाँचेर पनि मरिरहेको हुन्छ।
तर नेपाली समाजको अहिलेको सन्दर्भमा सहिद शब्दकै घोर अपमान हुन थालेको छ । वास्तवीक सहिदका परिवारहरु लजाउने स्तिथि पैदा भएकोछ।लाग्छ अहिलो यस अवस्थामा सहिद सप्ताह अथवा कुनै कार्यक्रम अघि गरिने एक मिनेट मौनधारणले उनिहरुको वलिदानीको सम्मान हुदैन ।
अहिले अच्चम के हुदै छ भने अपराधिक क्रियाकलापमा संलग्न भएका, राज्य विरुद्ध हतियार उठाएका, दुर्घटनामा परेका तथा पार्टी राजनीतिमा लागेकालाई समेत सहिदको दर्जा दिएर परिवारलाई १०-१० लाख रुपैंया दिने काम भएको छन।अहिले सहिदको पदवी जथाभावी बाँडिएकोछ। सडक छेके र टायर बाले ग्याङ फाइटमा मर्ने पनि सहिद घोषित भईन्छ अनौठो शैली सहिदजस्तो अमूल्य अलंकारको यो घोर उपहास भईरहेकोछ ।
आजका दिनमा आम जनताहरुमा सहिदप्रतिको देखाईने सम्मान निकै गिरेको छ । कारण जो पनि जस्तो पनि सहिद घोषित गराईने परम्पराको थालनी भएको छ। यसरी सहिदको परिभाषा र मापदण्डलाई कुल्चँदै आफूखुशी मनगढन्ते तरिकाबाट “सहिद” घोषणा गर्ने यस प्रवृत्तिले वास्तवमा सच्चा सहिदहरूको घोर अपमान भएको छ। सत्ता संचालक राजनैतिक दलहरूले यो पदवीको गरिमालाई हल्का र सस्तो पार्दै लगिरहेका छन।दलहरूले सत्ता आरोहणसँगै सहिदको बलिदान भुल्ने गलत परम्परा थालनी भइसकेको छ ।
वास्तवमा अहिले हाम्रो संसद या सरकारको स्तिथि भारतीय कवि धूमिल रोटी और संसद्’ झै छ। जून कविताका अंशहरू
“एउटा मान्छे रोटी बेल्छ
अर्कोचाहिँ खान्छ
यहाँ तेस्रो मानिस पनि छ
जो न रोटी बेल्छ
न रोटी खान्छ
मात्र रोटीसँग खेल्छ
त्यो मान्छे को हो?
हाम्रो संसद् मौन छ।”
खासमा सहिदको परिभाषा के हो ? सहिद को हो ? कोही कुन योग्यता र गुणले बन्छ सहिद ? यी प्रश्नहरू नेपाली समाजमान अनुत्तरित छन् । शासनको आसनमा बसेर सक्कली सहिदमा आधुनिक नक्कली सहिदलाई मिसाउनेहरू जो लोभ, लाभ, भोग र सुखसयलभन्दा माथि उठेर लोकहितका लागि प्राण आहुति गर्छ।
जो आफ्नो महान् ध्येय, लक्ष्य वा आस्थाका निम्ति जस्तोसुकै यातना सहेर पनि राजीखुसीले मृत्यु वरण गर्छ।जस्को हृदय विशालता युक्त अलंकार छ। यस्ता सच्चा सहिदहरूलाई गिजाउने काम गरिरहेका छन। तर के हामीले सहिदलाइ बुझ्न सकेका छौँ त ? तिनको आँसु पढ्न सकेका छौँ त ? के सहिदका आत्मा खुसी होलान त आजका दिनमा ?सहिदका हृदयलाई छाम्न सकेका छौँ त हामीले ?
के हामी देशलाई एउटा समृद्ध र समुन्नत राष्ट्र होस् र अमनचयन कायम होस् । भन्ने सहिदका ती सपनालाई व्यवहारमा उतार्न सकेका छौ ? कवि भुपि शेरचनले झ्याउरे छन्दमा लेखेका थिए।सहिदहरूको सम्झना भन्ने कवितामा
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन देश दुई–चार सपुत मरेर नगए ।
तर सच्चा सहिदहरूले वलिदान दिएको लगभग सात दशक भन्दा बढि भैसक्यो तर हामीले सहिदप्रति गरेको अपमान र उनिहरूले देखाएको बाटोलाई आत्मसाथ नगर्दा देश उस्तै छ।हामीले सहिदहरूले देखाएको बाटोलाई आत्मसाथ गरि हामी देश बनाउने दिशामा अधि बढनुनै सहिदहरू प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।