– वसन्त रानाभाट
“मेरो नाम धन बहादुर गुरुङ,अनि मेरी मिसेसको नाम चाँही शान्ता देबी गुरुङ हो। नेपालमा एनआरएनको घर बनाउने लक्ष्य लिएर शेष घले आउनु भएको हुँदा सहयोग गर्न चाहन्छु। म पेन्सिन क्रेडिड खाने नेपाली हुँ तर पनि पवित्र कार्यमा सहयोग गर्न मन लागेको छ। सन् १९६१ सालमा भर्ती भएर १९७९ साल तिर रिटायर भएँ म । १८ साल सर्भिस गरे। अनि गाउँमा हुँदा पनि सहयोग गरिरहन्थे। अहिले,यहाँ बेलायतमा रहँदा पनि सहयोग गर्न मन जागीरहन्छ। त्यसैले मेरो तर्फबाट एनआरएनको आफ्नै घर बनाउँको लागि ५० हजार रुपौयाँ सहयोग है हजुर। म र मेरी श्रीमती दुवै जना ईच्छुक भएर सहयोग गरेका हौ नि ,अनि सुन्नुहोस् त अहिले पैसा ल्याएका छैनौ तर ढुक्क हुनुहोस् भोलि पर्सी तिर तपाईलाई डोनेसन गर्छौ । एउटा कुरा नि, हामी शुभ-कामाना दिन चाहन्छौ यस्तो पवित्र काम सफल होस्, प्रगती हुँदै जाओस् ,सबैको मनमा सहयोगी भावाना जागोस्।”……..
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतले अध्यक्ष शेष घलेको उपस्थितिमा सोमबार एनआरएन भवन निर्माण सहयोगार्थ एक भब्य कार्यक्रम हुँदै गर्दा, मैले धन बहादुर गुरुङको यो आबाज रेडियोबाट सुनेको हुँ। धन बहादुरलाई प्रत्यक्ष देख्न नपाए पनि बेलायतबाट संचालित एक अनलाईन रेडियोले कार्यक्रमको प्रत्यक्षप्रसारण गरिदिदा बार्सिलोनाबाट नै सबै कार्यक्रम नछुटाई सुने। मलाई त्यही पुगे जस्तै लाग्यो त्यसैले लेख्दै छु,धनबहादुर बा तपाईलाई सलाम ! देख्न नपाए पनि, आबाज सुन्दा,दयालु भावाना र सहयोगी तपाईको मनले साह्रै मन छोयो।

भबन निमार्णको लागि ग्लोबल टुरका लागि अन्तिम देश बेलायत भएको बताउँदै ,अध्यक्ष शेष घलेले राखेका अनुभवहरु पनि सुन्ने अबसर मिल्यो। अध्यक्ष घले भन्दै हुनुहुन्थ्यो, ” म जापानको नागोया शहरमा गए त्यहाँ एक जना ७७ बर्षको आमासँग भेट भयो। उहाँ मेरी आमा जस्तै हुनुहुन्थ्यो। पाउना भएर नेपाल देखि आफ्ना छोरा बुहारीसँग जापान पुग्नु भएको रहेछ। उहाँको पकेटमा २ हजार नेपाली रुपैयाँ मात्र रहेछ ,हामी एनआरएनको घर बनाउँदै छौ भन्ने थाहा भए पछि हामीलाई सहयोग गर्नु भयो। मैले भवनको लागि एक करोड दिएको थिए तर उहाँलाई भने,तपाईको नाम मेरो भन्दा अगाडी हुनु पर्छ। मैले आमालाई यसो भने।”
अध्यक्ष घलेले फेरि अर्को अनुभव सुनाउँनु भयो,” यो अभियानमा लाग्दा अष्टेलियामा पनि एक जना बिद्यार्थी भाईले,त्यस्तै सहयोगी भावानाले ५० डलर दिनुभएको थियो त्यसैले उहाँलाई पनि मैले त्यसै गरी भने। अमेरिकाको न्युयोर्क शहरमा कार्यक्रम हुँदा एकै रातमा २ लाख ११ हजार अमेरिकी डलरको सहयोग प्रतिबद्दता जाहेर भयो। फेरि अमेरिकाको सिकागोमा भने रकम संकलन कार्यमा जम्मा २६ जना सहभागीहरु आउँनु भयो। अनि त मलाई धेरैले प्रश्न गर्नु भयो तपाई अध्यक्ष आउँदा कार्यक्रममा जम्मा २६ जना ? तर मैले भने, ” मोर देन ईनफ”। हो २६ जनालाई आज मैले कन्भिन्स गर्न सके भने, उहाँहरु अरु सयौ जनालाई बुझाउँन सक्नुहुन्छ।”

अध्यक्ष घलेले फेरि जापान तिरको अनुभव सुनाउँदै भन्नु भयो, “नेपालवाट जापान जानु भएका एक जना पत्रकार साथी पनि भेटिनु भयो। फेरि उहाँले पनि हाम्रो भवनको लागि भन्दै आफ्नो पकेट झारेर,सायद २-३ हजार रुपैयाँ जति दिनुभयो। आखिर सबै कुरामा भावान जोडियो छ त्यसैले हामी भावानाले जोडिएको भबन बनाउँन चाहन्छौ।”
फेरि घलेले थप्नु भयो ,”अहिले हामी सँग झोलामा अफिस छ। अब यसलाई युनाईटेड नेपाली नेशनको हेड क्वाटर बनाउँन चाहेका छौ। ५० बर्ष पछि तपाईको छोरा नाति नेपाल पुग्दा, मेरो बाजेबजैले यो भबन बनाउँन ५० पाउण्ड दिनु भएको रहेछ भनेर गर्ब गर्न सकुन्। बाजे बजैले सहयोग गरेको भनेर,आफ्नै आँखाले देख्दा, उनीहरुलाई कस्तो अनुभव होला ? कस्तो भाबना जोडिएला ?” घलेका अनुभव र बिचारहरु यस्तै थिए।
बन्दैछ भावानाले जोडिएको घर
माथिका सबै कुराहरुलाई मनन गर्दा एनआरएनको निमार्णधिन भवन भाबानाले जोडिएर बन्नेमा दुई मत छैन भन्ने लाग्दछ।चाहे युरोप होस् वा अमेरिका,एसिया होस् अफ्रिका,मिडिल ईष्ट होस् वा ओसेनिया। एनआरएनको घर ,सबै क्षेत्रका गैर आबासीयहरुको पसिना मिसिएको घर हुनेछ। सबैको भाबानात्मक सम्बन्धलाई जोडेर बनाईने छ।

माथिका यी सबै कुरालाई जोड्न खोज्नुको एउटै अर्थ छ। बिशेष त अलि धेरै खर्च बनाएर भबन निर्माण गरेपछि कतिपयको टिप्पणी यस्तो पनि आउँला सक्ला, “एनआरएन धनाढ्यहरुले करौडौ खर्च गरेर भबन बनाए।” त्यो टिप्पणी गर्नु अगाडि,बेलैमा यी सबै यथार्थहरुलाई भित्रबाट नै बुझ्न जरुरी छ भन्ने आशय मात्र हो। हो हुनेले लाख देखि करोड रुपैयाँ सम्म सहयोग गरेका छन्। तर त्यही भबनका लागि, “धेरै मजजुर र बिद्यार्थीहरुका सेन्टि र पेनिको सहयोग जोडिएको छ,” भनेर पनि बुझ्नु जरुरी छ।
“झोलाबाट २० करोडको’ भबनतिर”
बेलायतका भएका सबै गतिबिधिहरु प्रत्यक्ष रेडियो मार्फत सुन्दै गर्दा, करिब २० करोडको लागतमा भबन बन्ने देखिएको अभियन्ताहरु बताउँछन्। यो भबन निर्माणका लागि काठमाडौमा १३ करोडमा किनेको जग्गा सहित ७ करोड (अनुमानित) निमार्ण खर्च रकम जोड्दा करिब २० करोड लाग्ने अनुमान गरिएको छ। संसारभरका गैर आबासीयहरुवाट सहयोग प्रतिबद्दता जाहेर गर्दा सो रकम प्राप्त हुने देखिन्छ।हालै सम्पन्न कार्यक्रम सहित बेलायतबासी नेपालीहरुले मात्र एक करोड रुपैयाँ भन्दा बढी रकम संकलन गरेको खबर पनि छ।
कार्यलय झोलामा बोकेर हिडेको एनआरएन, अब आफ्नै घर निर्माणधिनको क्रममा रहँदा गैर आबासीयहरु गदगद छन्। एउटा सुबिधा युक्त घरको कति जरुरी रहेछ ? भन्ने महसुस भूकम्पमा राहत बितरणको क्रममा गैर आबासीयहरु राम्रै सँग बुझेका छन्। मूलत: एनआरएनको सामाजिक र परोपकारी कामहरु पुरा गर्न, आफ्नै घरले ठुलो टेवा पुर्याउँनेमा सबै जना बिश्वस्त देखिन्छन्। “हाम्रै घर हाम्रै दायित्व, बन्छ आफ्नै भबन, बन्छ मन पावन”भन्दै यो अभियानमा जुट्ने सबै अभियन्ताहरुलाई सलाम !