फ्रान्समा आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्केका पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले एउटा गतिलो पुस्तक लेखेका छन् । उनले आफ्नो जीवनको केही अंशसमेतलाई जोड्दै कुटनीतिक सेवामा गरेका कामहरु समेटेर ‘कूटनीतिमा तीन दशक’ नामको एक पुस्तक प्रकाशन गरेका छन् ।
पुस्तकमा उनले पाइसकेको शाखा अधिकृतको जागिरलाई तिलाञ्जली दिई कुटनीतिक सेवामा नै जागिर खाने मनशाय राखेकोमा सफल भई अन्त्यमा फ्रान्सजस्तो गरिमामय देशमा राजदूत भई काम गर्न सफल भएको रोचक वर्णन गरेका छन् ।
कुनै पनि काम सफल गर्न मनमा दृढनिश्चय हुनु आवश्यक हुने र लक्ष्यमा पुग्न निरन्तर रुपमा कार्यरत रही रहन पर्दछ भन्ने सन्देश दिन लेखक श्रेष्ठ सफल भएका छन् । परराष्ट्र मन्त्रालय भित्रका कतिपय अन्तरंग गाथाहरु पनि पुस्तकमा समेटिएको छ । पूर्वाग्रही उच्चअधिकारीका कारण विदेशमा लज्जित हुनु परेको घटनालाई बिर्सन नसकिने भएकाले त्यस्ता घटनाका बारेमा पुस्तकमै लेखिदिएको उनको निसञ्कोच वर्णनले मन्त्रालयमा कुनैबेला के-कस्ता व्यक्तिहरु हावी भएका थिए भन्ने बुझिन्छ ।
देशमा हुने र देशवाट बाहिर सम्पन्न हुने विभिन्न अतिविशिष्ट ब्यक्तिहरुको भ्रमणका बारेमा पनि विवरणहरु उल्लेख भएकाले यो निकै शिक्षाप्रद देखिन्छ । यस्तो वर्णन हालसम्म लिखितरुपमा कतै लेखिएको सुनिएको छैन । राजदूतहरुले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रमका सम्वन्धमा उपलव्ध वर्णन पनि निकै शिक्षाप्रद देखिन्छ । खासगरी लिस्बनमा घटेका घटना त झनै रोचक तथा मननयोग्य छ ।
३१ वर्षको लामो कुटनीतिक सेवामा विभिन्न देशहरुमा सेवारत रहँदा त्यहाँ प्राप्त भएका अनुभवहरु लगायत त्यस देशबाट मनन गर्नुपर्ने शिक्षालाई समेत पुस्तकमा उल्लेख गरिएका छन् । कतिपय रोचक घटनाहरु निकै हास्यास्पद भै एकछिनलाई आनन्दमय बनाउँछ भने दक्षिण अफ्रिकाको जाहानेसबर्ग शहरमा प्रधानमन्त्री लगायत प्रतिनिधिमण्डलको कुटनीतिक राहदानी चोरी भएपछि आएको आपत, सोको समाधानलगायत न्युयोर्कमा होटलबाट निकालिएको घटना, हवाइ जहाजको गडबडीले झण्डै ईहलीला समाप्त भएका घटनाहरु पनि निकै रोचक तथा शिक्षाप्रद देखिएका छन् । जापानको समय बोरा चामल तथा हाचीको कुकुरको इतिहास पनि आज पनि हाम्रा लागि एउटा प्रेरणादायक तथा शिक्षाप्रद हुन सक्छ ।
राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा सदा दत्तचित्त भई देशको काममा लागेको वर्णन पनि गरेका छन् । बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक परिबेश यस मुलुकको शक्तिका रुपमा चित्रण गरिनुका साथै प्रकृति प्रदत्त सम्पदाहरुको बर्णन कुटनीतिका सेवा मात्र नभई आम नागरिकलाई पनि शिक्षाप्रद हुन्छ । साथै कतिपय घरायसी कामकाजका लागि उपयोगी ज्ञानवर्धक कुराहरु पनि पुस्तकमा समेटिएकाले कुनै पनि तह तप्काका व्यक्तिले पढ्न योग्य पुस्तक भएको छ ।
मध्यपूर्वका मुलुकहरुमा रोजगारीमा जाने अधिकांश निम्न वर्गका व्यक्तिहरु मात्र रहने भएकाले नेपालमा उपलव्ध अन्य अर्ध दक्ष तथा दक्ष जनशक्तिका बारेमा रोजगारदाताहरुलाई जानकारी उपलव्ध गराउने उद्देश्यले रोजगारी मेला आयोजना गरेकाले युएईमा मात्रै पनि नेपालीले पाउँदै आएको रोजगारी दोब्बर भैसकेको जानकारी पनि उपलव्ध छ ।
कुटनीतिक सेवामा रहँदा आएका चुनौतिहरुलगायत नेपाल प्रवर्द्धन कार्यमा कसरी लागि परे भन्ने व्यहोरा पनि सविस्तार लेखिएका छन् । फ्रान्सजस्तो संसारको अति महत्वपूर्ण मुलुकमा देशको पर्यटन प्रवर्द्धन गर्ने जिम्मेवारी बोकेको संस्थावाट बेवास्ता गरिएको गुनासो पनि पढ्न पाइन्छ ।
फ्रान्समा आफूले कार्यभार सम्हाल्दाखेरिको दुःखदायी अवस्था र चारवर्षे कार्यकालमा गरेका कार्य विवरणहरुको प्रस्तुतीले लागि परेमा एकजना राजदूतले कतिसम्म देशको भलाइका लागि काम गर्न सकिन्छ भन्ने आभास मिल्छ । पेरिसमा सरकारी स्वामित्वमा रहेको महत्वपूर्ण भवन जिर्णोद्वारको अभावमा भत्किन लागेको अवस्थामा रहेकोमा सोको जिर्णोद्वार सम्पन्न भैसकेकाले हाल निकै राम्रो अवस्थामा रहेको व्यहोरा सबै एउटा अध्यायमा नै लेखिएकाले यसबारे जानकारी लिन चाहने जो कोहीलाई पनि पठनयोग्य भएको छ । यसरी नै विदेशमा रहेको सरकारी सम्पतिको जगेर्ना गर्न सबैले सिक्नु जरुरी छ ।
जनताले तिरेको करबाट कुटनीतिक सेवामा रहेका राजदूत तथा कुटनीतिज्ञहरुमा राज्यले लगानी गर्ने भएकाले ठूलो जिम्मेवारी रहेको कुरा भन्नु वहाँ चुक्नुभएको छैन । खासगरी राजदूत पदमा नियुक्ति गर्दा उपयुक्त व्यक्ति नभएको अवस्थामा सरकारी बजेटको क्षय हुने मात्र होइन, महत्वपूर्ण समय पनि खेर जाने भन्ने उनको भनाइ निकै मननयोग्य देखिन्छ । बिदेशमा नेपाल तथा नेपालीप्रति स्नेह तथा सहयोगको रिजभ्वार्यर नै रहेको निजको दाबी रहेको देखिन्छ । त्यसलाई उचित तरिकाले हाम्रो देशको हितका लागि प्रयोग गर्नु सक्नु पर्दछ भन्ने राजदूत श्रेष्ठका जिकिरप्रति सबैको ध्यान जान आवश्यक छ ।
पुस्तकको नेपालको परराष्ट्र नीति तथा विभिन्न अन्तराष्ट्रिय विषयवस्तुहरुका सम्वन्धमा नेपालले प्रतिपादन गरी आएका नीतिहरुका सम्वन्धमा पनि छोटकरीमा ब्याख्या गरिएकाले निकै उपयोगी देखिन्छ । प्राय: कुटनीतिक क्षेत्रमा प्रयोग गरिने शब्दहरुको नेपालीमा व्याख्यासहित राखिएकाले यो पुस्तकको विद्यार्थीहरुका लागि पनि निकै उपयोगी हुने देखिन्छ ।
भाषा शुध्दाशुद्धीमा केही कमीकमजोरी देखिएता पनि यो पुस्तक एक नौलो, रोचक, शिक्षाप्रद, कुटनीतिक अभ्यास तथा अनुभवहरु सम्वन्धी ज्ञान प्रदान गर्न विभिन्न समयका घटनाहरु समेत समेटिएकाले जो कोहीले पनि पढेमा राम्रो हुने देखिन्छ ।
विभिन्न समयमा आफूले काम गरेका तथा भ्रमण गरेका देशहरु जम्माजम्मी ७१ भएकोमा ती देशहरुको बारेमा पनि केही वर्णनहरु पुस्तकमा राखिएकाले एकछिन त पढ्नेलाई पनि विदेश भ्रमणमा गएको जस्तो अनुभुति पनि गराउँदोरहेछ ।
भनिन्छ, कुनै पनि देशको परराष्ट्र नीति आफ्नै घरेलु नीतिको एक अभिन्न अंग रहन्छ । वास्तवमा सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना पश्चात् धेरै देशहरु उपनिवेशवादको चंगुलवाट मुक्त भएपछि स्वतन्त्र देशहरुले आ-आफ्नो अनुकुलको परराष्ट्र नीति प्रतिपादन गरी कार्यान्वयन गरी आएका छन् । खासगरी सन् १९९० को दशकपछि विश्वमा आएको विश्वव्यापीकरण तथा उदारवादको उभारवाट परम्परागत परराष्ट्र नीतिलाई विस्थापित गरी आर्थिक कूटनीतिले प्रधानता पाई आएको देखिन्छ । आजको विश्वमा कुनै पनि देशले आफ्नो आर्थिक हितलाई प्रवर्द्धन गरी देशलाई उँभो लगाउनुको विकल्प छैन ।
आफ्नो परराष्ट्र नीति सञ्चालनका लागि नेपालले पनि विभिन्न मुलुकहरुमा कुटनीतिक नियोगहरु स्थापना गरेको छ । सो सञ्चालनका लागि समय समयमा राजदूत तथा अन्य कुटनीतिक कर्मचारीहरु नियुक्त भै जान्छन्, आफ्नो कार्यकाल सकिए पछि फर्कन्छन् । राजदूत नियुक्ति प्रकरणले निकै ध्यान आकर्षण गर्ने गरिने भएता पनि गएका राजदूतले के-के काम गरे देशको भलाका लागि लागि भनेर बिरलै सुनिन्छ । बरु सुनिन्छ अकर्मण्य, बेथिति, सताइएका ब्यथाहरु तथा भ्रष्टाचारका गाथाहरु । आजको अवस्थामा भन्ने हो भने कतिपय नेपाली नियोगहरुमा काम त छाडौं, फोनसम्म पनि उठाइँदैन । जताततै जनताको आक्रोश तथा गुनासाहरु प्रशस्त सुनिएका छन् ।-अनलाईनखबरबाट