पौडेर स्पेन आउँने क्रममा दुई अफ्रिकी शरणार्थीको मृत्यु


म्याड्रिड (स्पेन),/ मोरक्को हुँदै पौडेर स्पेन आउँने क्रममा दुई अफ्रिकी शरणार्थीको मृत्यु भएको स्पेनी न्युज एजेन्सीले जनाएको छ । मोरक्को तथा स्पेनका सञ्चारमाध्यमले जनाएअनुसार अफ्रिकाबाट भूमध्यसागरीय क्षेत्रकोे बाटो स्पेन जान हिँडेका शरणार्थीमध्ये दुई जनाको मृत्यु भएको र १२ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

शरणार्थीको रुपमा उक्त समूहमा स्पेन हिँडेका २०० व्यक्तिमध्ये १८० जना भने स्पेन आएको बताइएको छ । खतरा मोली सामुद्रिक इलाकामा पस्न खोज्दै गर्दा मोरक्कोको प्रहरीले उनीहरुलाई रोक्न खोजे पनि शरणार्थीले ढुङ्गा तथा लठ्ठीले प्रहरीलाई मरणासन्न हुनेगरी पिटेका मोरक्कोको प्रहरीले जनाएको छ । घटनाको मोरक्को प्रहरीले छानबिन सुरु गरेको छ ।

यता, जीवनको पर्वाह नगरी स्पेन पुगेका अफ्रिकी शरणार्थीलाई स्पेनस्थित अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको एम्बुलेन्सले खाना तथा औषधि शरणार्थीलाई पु¥याई सहयोग गरेको स्पेनले जनाएको छ । आप्रवासीहरुको अन्तर्राष्ट्रिय सङ्गठनले करिब १० लाख मानिस युद्ध, गरिबी तथा विभिन्न खाले सजायबाट उम्किन भागी स्पेन हुँदै युरोप छिरेको बताएको छ ।