पोखरा,/पोखरा ४ गैहपाटनमा रहेको कुमुदिनी होम्स उच्च माविले आप्mनो २९ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम विहिबार एक समारोहका वीच सम्पन्न गरेको छ । नेपालका विभिन्न जात जाति झल्कने पोशाक लगाएका विद्यार्थीहरुले २८ वटा र कार्यक्रमका प्रमूख अतिथिले एक गरी २९ दीप प्रज्वलन गरी कार्यक्रमको उद्दघाटन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको वताएका थिए । अधिकारीले गुणस्तरीय शिक्षाको बारेमा प्रकाश पार्दै विद्यार्थीले सही र गलत छुट्टयाउन सक्ने शिक्षा हुनु पर्नेमा जोड दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति अशोक पालिखेलेको विद्यालयले हासिल गरेको उपलब्धी र भावी कार्ययोजना बारे प्रतिवेदन पेश गरेका थिए । विद्यालयका सहप्राचार्य ईश्वरमणि अधिकारीले संचालन गरेको कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, विद्यालयका अभिभावक विश्व मोहन अधिकारी र विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी धिरज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कास्कीको सामुदायिक विद्यालयबाट यस वर्षको एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सुजन तिमिल्सिनालाई नगद पाँच हजार र सम्मान पत्र सहित सम्मान गरिएको थियो । त्यसै गरी सोही विद्यालय कुमुदिनीबाट छात्रातर्फ कास्की जिल्लामा उत्कृष्ट हुन सफल विद्यार्थी प्रतीष्ठा वुद्धाचार्यलाई नगद सहित सम्मान गरिएको थियो । वुद्धाचार्यलाई कुमुदिनी विद्याापदक प्रदान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा सो विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष गर्दै आएको सहयोग अन्तर्गत पुरन्चौरमा अवस्थित हिमालयन प्रावि लप्सी टाँकुरामा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।
वार्षिकोत्सवमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले भविष्यमा अवलम्वन गर्न सक्ने खोजमुलक कार्यहरुको प्रदर्शनी गरेका थिए । कार्यक्रममा अतिथिहरुले विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्मका वार्षिक परीक्षा, खेलकुद प्रतियोगिता र अतिरिक्त कार्यमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।