एशियन फोरमको गाईड तालिम सम्पन्न


कृष्ण रानाभाट/पोखरा
पर्यटनमा युवाहरुको सहभागितालाई बढाउन पोखरामा १५ दिने लोकल टुरिष्ट गाईड तालिम सम्पन्न भएको छ ।एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) ले कार्यान्वयन गरिआएको जेएमडिआई होस्ट परियोजनाले आयोजना गरेको सो तालिममा २२ जना सहभागिलाई भुमराज तिवारीले प्रशिक्षण दिएका थिए ।

तालिम अवधिभर सैद्वान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गरिएको थियो । साथै पोखराका विशिष्ट होटल, प्याराग्लाइडिङ्ग, स्पा, ट्राभल एजेन्सि व्यवसायी तथा भिटोफ, पर्यटन परिषद, सन्चारकर्मीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम राखिएको थियो । तालिमलाई अझ लाभदायक बनाउन एक दिनभर पोखरा र आसपासका पर्यटकिय क्षेत्रको भ्रमण र एक रातको लागि लेखनाथस्थित पचभैया होमस्टे लगिएको थियो ।

कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि जिविस कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले भाविष्यमा यो पेशालाई कदर र पर्यटन उत्थानमा आत्मसाथ होस् भनि शुभकामना दिए भने सहभागी कालावाङ होम स्टेका सचिव यमबहादुर गुरुङ्गले हार्दिक कृतज्ञता ज्ञापन गरी सबै सहभागीहरुको तर्फबाट एसियन फोरम र शिक्षकलाई मायाको चिनो प्रदान गरे ।

उक्त कार्यक्रममा सबै सहभागिलाई सर्टिफिकेट प्रदान गरी कार्यक्रमका सभापति एवं एशियन फोरमका केन्द्रीय अध्यक्ष निरज थापाले देशको विकासमा युवाको भुमिका बढी रहेको भन्दै आ–आफ्ना होम स्टे र ठाँउको विकासको लागि बढ्न आग्रह गरे ।

ग्रामिण पर्यटनले आप्रवासन कम गरी गाउँलाई स्वाबलम्वी बनाउने, दिगो विकास गर्ने र स्थानिय संस्कृतिलाई होमस्टे मार्फत प्रर्वद्धन गर्न युरोपियन युनियन र स्वीस सरकार विकास सहयोगको आर्थिक सहयोगमा जेएमडिआई होस्ट परियोजनालाई एशियन फोरमले कार्यन्वयन गर्दै आएको छ ।