काठमाडौं / खेल क्रियाकलाप प्रबर्द्धन गर्न आपसी सहकार्य गर्ने भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीच सम्झौता भएको छ ।यसअघि केही दोस्रो पुस्ताका प्रतिभाशाली खेलाडीको प्रतिनिधित्वका बिषयमा बिबाद देखिएपछि गैरआवासीय नेपाली संघले नेपाली पासपोर्टधारी त्यस्ता खेलाडीलाई राष्ट्रिय टोलीमा सहभागिता सुनिश्चित गर्न पहल गर्दै सम्झौता गरेको हो। यो सँगै गैरआवासीय नेपालीहरुलाई पनि नेपालको राष्ट्रिय टीमबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गराउँने बाटो खुलेको छ।
ओलम्पिक कमिटीको कार्यालय सातदोबाटोमा आइतबार एनआरएनए अध्यक्ष शेष घले र ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतासँगै ओलम्पिक कमिटीले आयोजना गर्ने सबै कार्यक्रममा गैरआवासीय नेपाली संघलाई अफिसियल पार्टनरका रुपमा सहभागी गराइने छ । यसैगरी गैरआवासीय नेपाली संघका अध्यक्षलाई ओलम्पिक कमिटीको मानार्थ सदस्य र संघले मनोनयन गरेका अर्का एक खेलकुदसँग सम्बन्धित एनआरएनलाई सदस्य मनोनित गरिने छ ।
यसैगरी गैरआवासीय नेपाली दिवसका अबसरमा हरेक बर्ष अक्टुबर १० तारिखका दिन ओलम्पिक कमिटिसँगको साझेदारीमा खेल कार्यक्रम आयोजना गरिने छ । एनआरएनले नेपालका छानिएका प्रतिभाशाली खेलाडीलाई एशियन, साउथ एशियन र ओलम्पिक खेलका लागि छात्रवृत्ति उपलब्ध गराउने छ ।
एनआरएनको सहयोगमा उनीहरुले बिभिन्न अन्तराष्ट्रिय ख्यातीप्राप्त तालिम केन्द्रहरुमा तालिमको अवसर पाउनेछन् । ति खेलाडीहरुलाई बन्दोबस्तीको ब्यबस्थासमेत गैरआवासीय नेपाली संघले नै गर्नेछ ।
यसैगरी एनआरएनले नेपालमा खेलकुद पूर्वाधार निर्माणका लागि बिभिन्न अन्तराष्ट्रिय संघसंस्थासँग समन्वय गर्नेछ । संघले ओलम्पिक, एशियन र साउथ एशियन गेममा सहभागी हुने खेलाडीलाई खेलजन्य सामाग्रीसमेत सहयोग गर्नेछ ।
खेलाडी आदानप्रदान कार्यक्रम अन्तर्गत बिभिन्न अन्तराष्ट्रिय संस्थासँग समन्वय गरी नेपाली खेलाडीलाई बिदेशमा तालिम तथा अभ्यासको अबसरसमेत एनआरएनले प्रदान गर्नेछ ।