लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले भारतीय नाकाबन्दीको विरोध गर्दै शुक्रवार बिहान लन्डनस्थित भारतीय हाइ कमिसनमा ज्ञापनपत्र बुझाएको छ ।
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्देशन बमोजिम विश्वभरका ७१ समितिले ज्ञापन बुझाउने क्रममा बेलायत शाखाले पनि सेन्ट्रल लन्डनको अल्वीचस्थित इन्डिया हाउस पुगेर मध्यान्ह ज्ञापन बुझाएको हो । यसअघि तिहारको अघिल्लो दिन ७१ वटै शाखाले एकैदिन ज्ञापन बुझाउने कार्यक्रम एक्कासी स्थगित भएको थियो ।
एनआरएनए यूकेले गत अक्टोबर ७ मा पनि भारतीय हाइ कमिसनमा ज्ञापन बुझाएको थियो । यसपटक बुझाइएको ज्ञापनमा पनि नाकाबन्दीको तत्काल अन्त्य गरि जनजीवन सहज बनाइदिन आग्रह गरिएको छ । अध्यक्ष मुछेत्र गुरुङले ज्ञापनमा खाद्यान्न र पेट्रोलियम पदार्थमात्र होइन, औषधिको समेत चरम अभावलाई मध्यनजर गरिदिन अपिल गरिएको जनाए ।
ज्ञापन बुझाउन संघका अध्यक्ष गुरुङसहित उपाध्यक्षहरु दासुराम पाण्डे र हिराधन राई, सचिव फडिन्द्र भट्टराई, महिला संयोजक सुशिला राई, युवा संयोजक हरि आचार्यलगायत पदाधिकारी र सदस्यहरु, प्रवक्ता खुशी लिम्बु, आइसीसी सदस्यहरु, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित लगायत हाइ कमिसन पुगेका थिए भन्दै वी नेपालीले समाचारमा उल्लेख गरेको छ।