भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसहित उनीमाथि २० हजार स्वीस फ्र्यांक (करिब २१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय पनि गरेको छ । उनी राप्रपा नेपालका सिफारिसमा मन्त्रिपरिषद्बाट मनोनित सांसद हुन् । राप्रपा नेपालको कोटाबाट सांसद भएका उनी उपपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाका भाइ समेत हुन् ।
थापाले सन् २००९ र २०११ को फिफा चुनावमा गलत काम गरेको, आफ्नो र परिवारका लागि गलत ढंगले पैसा लिएको जस्ता अभियोग फिफाले लगाएको छ ।
फिफाको स्वतन्त्र अनुशासन समितिले एन्फा अध्यक्ष थापालाई १० वर्ष प्रतिबन्ध लगाउनुको साथै २० हजार स्वीस फ्रान्क जरिवाना समेत गराउन निर्णय भएको छ ।
थापाले फिफा आचारसंहिताको धारा १३ (सामान्य आचारसंहिता), धारा १५( पक्षधरता), धारा १८ (गोपनीयता भंग), धारा १९ (स्वार्थको द्वन्द्व), धारा २० (उपहार र अन्य फाइदा लिएको) र धारा २१ (घूस लिएको) विरुद्ध काम गरेको अनुसन्धान समितिको ठहर छ ।
थापा यसअघि पनि फिफाको निलम्बनमा परेका थिए । नेपालमा संसदको लेखा समितिले थापाको अध्यक्ष पद निलम्बन गरेपछि उनलाई फिफाले १२० दिन निलम्बन गरेको थियो ।
थापा त्यही बेला राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्बाट सांसदमा मनोनित भए । र, गत असारमा फेरि एन्फा अध्यक्षमा फर्किए । तर, सोमबार फिफाको अनुशासन समितिले उनीमाथि १० वर्षे प्रतिवन्ध लगाएको छ ।