काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण एलपी ग्याँसको अभावले नेपालीको चुल्हो बल्न नसक्ने अवस्था उत्पन्न भएको बेला गैरआवासीय नेपाली संघ अमेरिकाले आगोको तापबाट विजुली समेत बाल्न सक्ने आधुनिक क्लिन कुक स्टोभ ल्याउने तयारी गरेको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराईले नेपालमा ईन्धनको संकटले नेपालीहरुको चुल्हो बल्न नसकेको अवस्थामा आफूहरुले थोरै दाउराबाट खाना पकाउने र विजुली समेत बाल्न सकिने चुल्हो नेपालमै उत्पादन गरेर न्यून मुल्यमा उपलब्ध गराउन सकिने बताए । उनले पहिलो चरणमा गैर आवासीय नेपाली संघले भुकम्प पीडितकालागि बनाउने लागेको एक हजार घरमा यस्ता चुल्हो जडान गर्ने योजना सुनाए ।
नासाले विकास गरेको प्रविधिलाई क्यालिफोर्नियामा अध्ययनरत नेपाली विद्यार्थीहरुले चुल्होमा जडान गरेर खाना पकाउने र उर्जा उत्पादन गर्ने गरी विकास गरेको सफ्ट बेयर ईन्जिनियर सुनिलराज भण्डारीले जानकारी दिए । सो चुल्होबाट सात मिनेटमा एक लिटर पानी उमाल्निे छ भने आगोबाट उत्पन्न तापलाई उर्जामा रुपान्तरण गरे बत्ती बाल्ने र मोवाईल चार्ज गर्न सकिने छ ।
सो चुल्होबाट १३ भोल्ट विद्युत उत्पादन गर्न सकिने छ । त्यसैगरी एनआरएन अमेरिकाले भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको भीम ताल गाविसमा रहेको सेतिदेबी मावीको भवन निर्माण गरिदिने भएको छ । पत्रकार सम्मेलनमै एनआरएन अमेरिकाका उपाध्यक्ष भट्टराई र सिन्धुपाल्चोक भीमताल ९ का रामजी माझीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
तीन सय परिवार माझी रहेको सो क्षेत्रको सेतिदेवी एकमात्र विद्यालय हो । भट्टराईले विपन्न जनतालाई शिक्षा दिने विद्यालय भएकोले आफूहरुले पुनःनिर्माण गर्ने सोच बनाएको बताए ।