काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षका प्रत्यासी शेष घलेलाई समर्थन गर्दै अध्यक्षका अर्का उम्मेदवार रतन झाले उम्मेदवारी फिर्ता लिएका छन् ।
एनआरएन पूर्वअध्यक्षहरुको आग्रहलाई स्वीकार गर्दै झाले उम्मेदवारी फिर्ता गरे पनि टीबी कार्कीले भने उम्मेदवारी फिर्ताको प्रस्ताव अस्वीकार गरेका छन् ।
देशको वर्तमान परिस्थिति र एनआरएनमा एकता कायम गर्नका लागि आफूले उम्मेदवारी फिर्ता लिएको झाले बताए । अध्यक्षमा घले र टेकबहादुर (टीबी) कार्कीबीच प्रतिष्पर्धा हुने भएको छ ।
नेपालको पुनर्निर्माणको लागि पनि एनआरएनमा पुनः एक कार्यकाल घलेको नेतृत्व रहनुपर्ने आवाज उठ्दै आएको थियो ।
विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीले एक पटक पुनः एनआरएनको नेतृत्व घलेले नै गर्नुपर्ने दबाब बढेपछि उनले अन्तिम समयमा मात्रै उम्मेदवारी घोषणा गरेका थिए । अधिवेशनमा विश्वका ७१ मुलुकबाट झण्डै १५ सय प्रतिनिधि सहभागी छन् ।
यस्तै, एनआरएनको नयाँ कार्य समितिको दुई उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्टसहित ६ जनाले उम्मेदवारी दिएका छन् भने महासचिवका लागि चार जना प्रतिस्पर्धामा छन् । सचिवमा चार जना र कोषाध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।