बसन्त रानाभाट/टिप्पणी
गैर आबासीय नेपाली संघ (एनआरएनए) को सातौ अधिबेशन आउन अब मात्र ८ दिन मात्र रहँदा गैर झन् उत्साह रौनकता थपिएको छ। अधिबेशनमा सहभागिता जनाउन गैर आबासीयहरु घर फर्कन थाले पछि झनै रौनकता सँगै चर्चा पनि चुलिन थालेको हो।
सामाजिक संजाल, फोन,ईमेल मार्फत भोट माग्न शुरु गरेका उम्मेद्वारहरु नेपाल पुगेमा प्रत्यक्ष भेटघाट गर्न पाईने हुँदा छिट्टै नेपाल पुग्ने क्रम बढ्दो छ। अधिकांश मुख्य पदका दाबेदारहरु काठमाडौ पुगेर आफ्नो सक्रियता समेत बढाईसकेका छन्। बिदा/छुट्टी मिलाउँन अप्ठारो हुने हुँदा अक्टोबर ९ देखि १३ को मितिमा धेरै गैर आबासीयहरु घर फर्कने तयारीमा देखिन्छन्। प्रबासमा रहेका धेरै गैरआबासीयहरुको अनुमान,चर्चा,बहस,समाजिक संजालमा देखिएका गतिबिधिहरुलाई आधार मान्दै अधिबेशन बारे यस्तो टिप्पणी गरिएको हो।
अध्यक्षका ३ उम्मेद्वारहरुमा चर्चा कस्तो छ ?
गैर आबासीय नेपाली संघको आगामी नेतृत्वका लागि अध्यक्षको लागि उम्मेद्वारी घोषणा गरेका शेष घले,टीबी कार्की र रतन कुमार झा बीच पहिलेका अधिबेशनहरुमा हुने गरेको जस्तो खासै चर्चा र उत्सुकता भने यसपाली देखिएको छैन। बिगतका अधिबेशनहरुमा अध्यक्ष को होला? कसले जित्ला भनी उत्साह र महत्वका साथ हेरिन्थ्यो तर यो पटक भने खासै त्यस्तो कौतुहलता प्रबासमा भेटिएको छैन।
यसको प्रमुख कारण हो, बर्तमान अध्यक्ष शेष घले नै फेरि नेतृत्वमा आउँछन् भन्ने धेरैको अनुमान छ। २ बर्ष कार्यकालमा धेरैको मन जितेका कारण घले नै पुन: अध्यक्षमा आउँने भनी अड्कल बाजी शुरु भएको हो।
उता घलेले पनि आँफुले उम्मेद्वारी घोषणा पछि भने प्रचारप्रसारमा खासै चासो देखाएका छैनन्। संबिधान घोषणा हुन लाग्दा कहिले संबिधान सभा हल तिर,कहिले मोबाइल एप निर्माण गर्ने भन्दै एसिया फाउण्डेशनको छलफलमा त कहिले अमेरिकी सहयोग नियोग ‘युएसएड’का अधिकारीहरुसँग पुनःनिर्माणका सम्भावना र अबसरबारे छलफल गर्न घले ब्यस्त बने।
यस्तै घले आफ्नै गाउँ पनि पुगे आँफु पढेको स्कुललाई पक्की बनाए भने उद्घाटनमा ब्यस्त बने। तर गाउँ नै पुगेर आमाको आशिर्बाद लिएको भन्दै सामाजिक संजाल मार्फत जानकारी भने गराएका थिए।
एक अर्थमा भन्ने हो भने उम्मेद्वारी घोषणा पछि घलेले आफ्नो प्रचारप्रसार भने ज्यादै न्यून गरेका छन्। आफ्नो उम्मेद्वारी घोषणाको क्रममा आफ्ना प्रतिबद्दताहरु खासै प्रस्तुत गरेनन् तर भनेका छन् पहिलेको कार्यकालमा भन्दा आगामी नेतृत्वमा आफ्नो सक्रियतामा कुनै कमी हुन दिने छैन। बिलेषण गरिरहँदा, प्रचार प्रसारमा मौन देखिए पनि आँफुले पुन: जित्नेमा उनि ढुक्क देखिन्छन्। अब बाँकी रहेका केहि दिनहरुमा उनि कसरी प्रस्तुत होलान् त्यो भने हेर्न बाँकी नै छ।
यता सबैभन्दा पहिले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेर देश दौडधुपमा लागेका पुर्ब महासचिब रतन कुमार झाले पहिले भन्दा आफ्नो सक्रियता कम देखाएका छन्। घलेले उम्मेद्वारी घोषणा गर्नु पुर्ब जति सक्रिय रुपमा प्रचारप्रसारमा लागे, पछि त्यो गति बिस्तारै कम हुँदै गएको देखिएको छ । भूकम्पबाट बिझिप्त नेपालको पुन:निर्माणको साझेदार नारा दिएका झा ले युरोप भेटबार्ताको समय भने मज्जैले खर्चेका थिए। तर अहिले सम्मको उनको प्रस्तुति देख्दा चुनाब लड्नेमा भने ढुक्क देखिन्छन्।
अर्का कतारवाट उम्मेद्वार घोषणा गरेका बर्तमान उपाध्यक्ष टिबी कार्की भने प्रचारप्रसारमा सबै भन्दा अगाडि देखिएका छन्। अध्यक्षका प्रत्यासी कार्की सामाजिक संजाल फेसबुकको अपडेटमा नम्बर एकमा नै भेटिन्छन्।
चाहे फेसबुकमा बनेको ग्रुप होस् वा आफ्नो वालमा आफ्ना एजेन्डाहरुलाई राम्रै सँग प्रस्तुत गरेका छन्। बिशेष खाडीका गैर आबासीयहरुका मुद्दालाई लिएर उम्मेद्वारी घोषणा गरेका कार्कीले खाडीबाट पनि नेतृत्व पाउनु पर्ने माग राखेका छन्।
उनले बर्तमान अध्यक्ष घलेलाई पछाडी हटेर आँफुलाई समर्थन गर्न अनुरोध गर्दै फेसबुकमा लेखेका छन्, ” बर्तमान अध्यक्षको नेतृत्वमा टास्कफोर्स गठन गरी संस्थागत रुपमा नयाँ कायँसमितीले उहाँलाई सम्मान जनक रुपमा प्रमुख सरक्षंकमा राख्नु पर्छ। नेपाल सरकारबाट उहाँलाई पुन:निर्माणका लागि बिशेष दुत नियुक्त गरेकाले त्यो जिम्मेबारी बहन तिर ध्यान दिनु पर्छ।” भाषा जसरी मिलाए पनि कार्कीको आशय यो हो कि “तपाई पछाडि हट्नुहोस् यो पटक अध्यक्ष खाडीलाई दिनु पर्छ जसको नेतृत्व मैले पहिलो पटक गर्ने छु।” संरक्षक बनाएर,१ हजार घर निर्माणको नेतृत्व घले कै टास्कफोर्स सम्पन्न गर्ने,कार्कीले गरेको खुल्ला प्रस्ताब हो भन्दा फरक नपर्ला।
तर अध्यक्ष घलेले धेरै ढिलो गरि उम्मेद्वारी घोषणा गरेका थिए। कारण यो पनि हो कि उनले धेरै गैर आबासीयहरुको आबाज सुनेका छन्। पुन: नेतृत्व गर्नुहोस् हामी तपाईको पछाडि छौ भन्ने आधारमा नै उम्मेद्वारी घोषणा गरेको हुँदा,घले पछि हट्ने कुनै सम्भावना देखिदैन।
सातौ अधिबेशनमा घलेलाई अध्यक्षमा सर्बसम्मत गर्नु वा चुनाबी मैदानमा उत्रनु यो प्रष्ट देखिएको बाताबरण हो। तर पछिल्लो पटक अध्यक्ष प्रत्यासी कार्कीले देखाएको सक्रियता र चासोको कारण उनि कुनै पनि हालतमा पछाडि नहट्ने पक्षमा देखिन्छन्। एसिया र मिडिल ईस्टबाट कार्कीलाई राम्रै समर्थन मिल्ने अपेक्षा गरिएको छ।
त्यसो त अर्का प्रत्यासी झा ले पनि महिनौ दिन अघि बाट नै गैर आबासीयहरु सँग छलफल र भेटबार्ता गरेका कारण पनि आँफुलाई धेरैले बिश्वास गर्नेमा ढुक्क देखिन्छन्। अमेरिकाबाट उम्मेद्वारी घोषणा गरेका झा को समर्थनमा युरोपका केहि देशहरुमा उनका समर्थकहरुले सक्रियता बढाएका थिए। झाले अमेरिकाबाट नै राम्रो समर्थन पाएको खण्डमा चुनाबी मैदानमा बलियो आधार मानिने अपेक्षा गरिएको छ। तर अमेरिका पनि घलेको समर्थनमा धेरै गैर आबासीयहरु रहेको अनुमान छ।
अन्तत: घले,कार्की र झा बीच त्रिपक्षीय चुनाबी प्रतिस्पर्धा भएको खण्डमा पनि घलेले सम्मान जनक जित हासिल गर्ने धेरैको अनुमान छ।
उपाध्यक्ष र महासचिबमा कस्तो छ ?
शेष घलेको अध्यक्षमा बढी सम्भावना भएका कारण, यस पटकको अधिबेशनमा उपाध्यक्ष,महासचिब र सचिबमा कसले जित्ला भन्नेमा धेरैको चासो छ। उपाध्यक्ष पदमा जापानबाट पुन:भवन भट्टले उम्मेद्वारी घोषणा गरेका छन्। यस्तै जर्मनीबाट बर्तमान महासचिब कुमार पन्तले पनि आँफुलाई उपाध्यक्षमा अगाडि सारेका छन्।
सोही पदमा खाडी क्षेत्रबाट नरेन्द्र भाटले दाबा गरेका छन्। लामो समय देखि खाडी क्षेत्रबाट एनआरएनको अभियानमा लाग्दै आएका भाट पनि बलियो रुपमा देखिएका छन्। यता अमेरिकाबाट उम्मेद्वार घोषणा गरेका खगेन्द्र क्षेत्रीलाई पनि दाबेदार मान्न सकिन्छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षको जिम्मेबारी सम्हाली सकेका क्षेत्री चुनाबी प्रचारप्रसारमा निकै अगाडि देखिन्छन्। यता उपाध्यक्षमा नै अस्ट्रेलियाबाट डा. शमशेरसिंह थापा र बेलायतबाट लक्ष्य गुरुङले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन्।
अहिलेको कार्यसमितिमा उपाध्यक्षमा काम गरेका भट्ट र महासचिबको जिम्मेबारी सम्हालेका पन्तलाई उपाध्यक्षमा प्रमुख दाबेदारको रुपमा हेरिएको छ। तर यस पटक उपाध्यक्षमा जस्तो पनि परिणाम आउँन सक्ने धेरै गैर आबासीयहरु अनुमान छ। निर्बाचन सँगै बन्ने समिकरणले परिणाममा असर पार्ने धेरैको बिश्लेषण रहेको छ। पन्त र भट्टले बिजय हासिल गर्न पनि निकै मेहेनत गर्नु पर्ने देखिएको छ। घलेको कार्यकालमा भट्ट र पन्तले दिएको सक्रियता र कामको भने धेरै गैर आबासीयहरुले उच्च मुल्याङ्कन गरेका छन्।
यसपटक उपाध्यक्षमा जस्तै महासचिबमा पनि कडा प्रतिस्पर्धा हुने निश्चित छ। रसियाबाट डा बद्री केसी,स्पेनका पुष्प राज तिमिल्सिना,अष्टेलियाबाट रन्जु बाग्ले थापा,र जर्मनीका पुष्प थापाले उम्मेद्वारी घोषणा गरेका छन्। गत अधिबेशनमा सचिबमा बिजयी बनेकी थापाले तिमिल्सिनालाई झिनो मतले पराजित गरेकी थिईन्। यी दुवै जना फेरि महासचिबका लागि एकै ठाँउमा भिड्दै छन्। उता कोषाध्यक्षमा सफलता पुर्बक जिम्मेबारी निर्वाह गरेका डा. केसीले सक्रियता बढाएका छन् ।
तर अहिले सम्मको चुनाबी समिकरणलाई हेर्दा महासचिबमा उम्मेद्वारहरु मध्येका कोहिँ पछि हट्न सक्ने अनुमान छ। महासचिबमा युरोपबाट मात्रै ३ जना प्रत्यासी एकै साथ भिड्दै छन्। अध्यक्ष र महासचिब दुवै अष्टेलियाबाट हुनु हुँदैन भन्ने आबाज पनि सुनिएको छ। तर प्रतिष्पर्धा हो गैर आबासीयहरुले मत दिएर अधिकार दिएको खण्डमा प्रजातान्त्रिक प्रक्रियालाई सबैले स्विकार गर्नु पर्छ भन्ने आबाज पनि कम छैन।तर अष्टेलियाबाट नै अध्यक्ष,उपाध्यक्ष,महासचिब,सचिब,कोषाध्यक्ष,युवा संयोजक जस्ता मुख्य सबै पदहरुमा उम्मेवारी घोषणा भएका छन्।
सचिब र कोषाध्यक्षमा पनि कडा प्रतिस्पर्धा
यसपटक सचिबमा उम्मेद्वारी घोषणा धेरै जनाले सहज ढंगले गरेका छन्। सहज यो अर्थमा कि अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य वा राष्ट्रिय समन्वय परिषदमा कुनै जिम्मेबारी पदमा रही काम गरेको अनुभव नभएकाहरुले पनि घोषणा गरेका छन्। कतिपयले यसलाई सस्तो लोकप्रियको संज्ञा दिएका छन्।
सचिबमा बेल्जियमका अर्जुन कुमार श्रेष्ठ,अष्ट्रेलियाका गणेश केसी, साउदी अरब बाट धरम केसी बेलायतबाट सुरेन्द्र श्रेष्ठ,जर्मनीबाट सन्तोष भट्टराई,ईटालीबाट युवराज अधिकारी लगायतले उम्मेद्वारी घोषणा गरेका छन्।
युरोप क्षेत्रबाट मात्र ४ जनाले उम्मेद्वारी घोषणा गरे पछि मत बिभाजन हुने निश्चित छ। यद्दपी उम्मेद्वारी दर्ता गर्ने समय सम्म कम हुन सक्ने अनुमान छ। युरोप क्षेत्रीय संयोजक जिम्मेबारी निर्बाह गरेका बेल्जियमका श्रेष्ठलाई सचिवका प्रमुख दाबेदारको रुपमा हेरिएको छ। तर युरोपबाट चुनाबी मैदानमा सबै जना उत्रने हो भने,श्रेष्ठलाई पनि अप्ठारो पर्न सक्छ। उता अष्ट्रेलिया र साउदी अरबका दुवै प्रत्यासी केसीहरुले पनि आफ्नो सक्रियता निकै बढाएका छन्।
यता कोषाध्यक्षमा जापानबाट चिरन्जिबी थापा, अस्ट्रेलियाका भैरव ढकाल,अमेरिका राजेन्द्र शिवाकोटी र अफ्रिकाबाट हिक्मत थापाले उम्मेद्वारी घोषणा गरेका छन्। कोषाध्यक्ष पदमा पनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
युवा संयोजकमा ठुलै भिड / महिलामा पुरानैको सम्भावना
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युवा संयोजकको पदका लागि लामै भिड छ। अष्ट्रेलियाबाट मात्रै दुई जनाले उम्मेद्वारी घोषणा गरेका छन्। वर्तमान युवा उप–संयोजक कृष्ण गिरी र अस्ट्रेलिया कै निरन्जन प्रसाइँले उम्मेदवारी दिएका हुन्। यस्तै युरोप क्षेत्रबाट मात्रै सोहि पदका लागि ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन्। फ्रान्सका निर्मल अर्याल,डेनमार्कबाट लोकराज शर्मा र नेदरल्याण्डका फडीन्द्र पन्तले दाबी गरेका हुन्।
यस्तै हाल महिला संयोजक र उपसंयोजक सम्हालि रहेका दुवै जनाले सोहि पदका लागि पुन: दाबी गरेका छन्। रसियाबाट संयोजक पदमा सपिला राजभण्डारी र बेल्जियम कि रजनी प्रधानले उप-संयोजकमा पुन:उम्मेद्वारी घोषणा गरेकी छन्। दुवै जनालाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ। महिला उप-संयोजकमा नै ईजरायलबाट भगवती बस्नेतले पनि उम्मेद्वारी घोषणा गरेकी छिन्।
युरोप क्षेत्रीय संयोजकका लागि कडा प्रतिष्पर्धा,उप-संयोजकमा उम्मेद्वार
युरोप क्षेत्रीय संयोजक पदमा यसपटक अहिले सम्म कै कडा प्रतिष्पर्धाको हुने देखिएको छ। बेलायतबाट कुल आचार्य र डेनमार्कका सोम सापकोटाले उम्मेद्वारी घोषणा गरे पछि कडा प्रतिस्पर्धा हुने देखिएको हो। सापकोटाले हाल उप- संयोजक पदमा रही धेरै गैर आबासीय नेपालीहरुको मन जितेका छन्।
उता आर्चाय एनआरएन युकेका पुर्ब अध्यक्ष एबम बर्तमान आईसीसी सदस्य समेत हुन्। ब्यबसायिक रुपमा सफल मानिएका आचार्य सामाजिक रुपमा पनि निकै सक्रिय छन्। यी दुई बीचको प्रतिस्पर्धालाई बडो महत्वका साथ हेरिएको छ। संयोजक कै लागि पोर्चुगलबाट पूर्ण हमालले उम्मेद्वारी घोषणा गरेको समाचार आए पनि, प्रचार प्रसारमा भने उनको खासै सक्रियता देखाएका छैनन्।
यता युरोप उप-संयोजकका लागि भने ठुलै भिड छ। स्पेनका दीपक खरेल,बेल्जियमबाट शिब कुमार बरुवाल र प्रेम गुरुङ,डेनमार्कबाट सुर्य प्रकाश खनाल, ,बेलायतका थर्क सेन,पोर्चुगलबाट हेमन्त सेढाई लगायतले उम्मेद्वारी घोषणा गरेका छन्। गत अधिबेशनमा उप- संयोजक पद सर्बसम्मत बने पनि यसपटक भने सोही पदका लागि दावा गर्नेको ओहिरो लागेको छ।
उम्मेद्वारहरुका एजेन्डाहरु के – के छन् ?
‘एक पटकको नेपाली सधैँको नेपाली” नेपाली नागरिकताको निरन्तरताको सुनिश्चिता भन्दै सधैँ प्रमुख एजेण्डा बनाउने, एनआरएनहरुको प्रतिबद्दतामा यस पटक भने यसबारे उल्लेख नै भएन। कारण, देशमा जारी नयाँ संबिधानले नागरिकताको अधिकार दिएको छ ।
राजनीतिक अधिकार सहितको नागरिकताको बिषयमा भने कहिँ कतै आबाज नउठेको भने होईन, तर त्यस्तो नागरिकताका अाकांक्षी अब हातमा गन्न सकिनेमात्र छन्, राजनीतिक अधिकार बिनाकै नागरिकतामा एनअारएन एकमत देखिन्छन् ।
तर यो पटक देशमा गएको भूकम्पको कारण सबै उम्मेद्वारहरुको नयाँ प्रतिबद्दता आएको छ- “देश पुन:निर्माणमा भूमिका खेल्ने छु, भूकम्पपछि देशमा पुन:निर्माण गर्नको लागि मेरो योगदान पूर्ण रुपमा रहने छ।” एनआरएनको आसान्न अधिबेशनमा उम्मेद्वारी घोषणा गर्ने उम्मेद्वारहरुको प्रमुख एजेण्डा यिनै बनेका छन्। यो अलवा गैर आबासीयहरुको हित,खाडीको समस्या, अभियानका निरन्तरता यी सबै पुरानै एजेन्डा हुन्।
राहत बितरण कार्यमा एनआरएनहरुले खेलेको भूमिकालाई मध्यनजर गर्दै पुन:निर्माणको चरणमा, म आँफु लाग्ने छु भन्नुलाई आलोचना गर्नु त उचित होईन। तर, एक हजार घर निर्माणको प्रक्रिया थाल्ने एनआरएनको सँस्थागत प्रतिबद्दता आईसके पछि पनि उम्मेद्वारहरुले भूकम्पमा मैले यसरी योगदान गरे, अब पुन:निर्माणमा यसो गर्छु भन्दै पटक-पटक प्रचारबाजी गर्दा कतिपयले यसलाई सस्तो लोकप्रियताको संज्ञा पनि दिएका छन्।
तर यहि भिडमा नयाँ आउँने एनआरएन नेतृत्वको पुन:निर्माण सम्बन्धी अभियानमा पूर्ण रुपमा मेरो साथ रहने छ भन्दै सरल भाषामा प्रतिबद्दता जनाउने उम्मेदवारहरुको पनि कमी भने छैन।