ब्याक अफ ईन्डिया भन्दै स्विसबासी नेपालीहरुले गरे प्रर्दशन


स्पेन/ नेपालमा बनेको संबिधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दीको हदसम्म सम्म पुगेको भारत सरकारको कदम बिरुद्द स्विसबासी नेपालीहरुले बिरोध जनाएका छन्। स्विजरल्याण्ड स्थित भारतीय दुताबासको कार्यलयमा नै पुगेर उनीहरुले बिरोध जनाएका हुन्।

भारतले नेपालको आन्तरिक मामिला हस्तक्षेप गर्दै नाकाबन्दीको हद सम्म पुग्नु अप्रजातान्त्रिक भएको ठहर गर्दै स्विसबासी नेपालीहरुले भारतीय दुताबासमा ज्ञापन पत्र समेत बुझाए।

लामो समय पछि ईतिहासमा पहिलो पटक नेपाली जनताहरुले आफ्नै हातले लेखेर, संबिधान पाप्त गर्नु ठुलो उपलब्धि रहेको बताउँदै ज्ञापनपत्र मार्फत नेपालको आन्तरिक मामिलामा छिरेर ,  भारतले पछिल्ला गतिबिधि बढाएको प्रति ध्यानकार्षण गराएका हुन्।

भारतीय दुताबास मार्फत प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष सन्देश पुर्याउँन खोजिएको ज्ञापनपत्रमा, अघोषित नाकाबन्दीको हदसम्म पुग्नु दुई देश बीचको लामो सम्बन्ध र भविष्यमा पर्न सक्ने खतरा बारे पनि सहज गराईएको छ। सोमबार स्विटजरल्याण्डको राजधानी बेर्न स्थित भारतीय दुताबासमा ज्ञापन पत्र बुझाउँदै गर्दा बिरोधमा सहभागी नेपालीहरुले भारत बिरुद्द नारा लगाएका थिए।

उनीहरुले ब्याक अफ ईन्डिया,भारतीय हस्तक्षेप बन्द गर,गणतन्त्र नेपाल जिन्दाबाद,सार्बभौम नेपाली जनता जिन्दाबाद लगायतका नाराहरु लगाउँदै हस्तक्षेप बन्द गर्न सजग गराए। नेपालीहरुले ब्यानर,प्ले कार्डहरु पनि प्रदशन गर्दै भारतीय हस्तक्षेप बिरुद्द बिरोध जनाए।

नेपाली जनसम्पर्क समिति स्बिजरल्याण्ड,प्रबासी नेपाली मञ्च,नेपाली ऎक्यबद्दता मञ्चको अगुवाईमा भएको प्रदशनमा तिनै सँस्थाहरुले ज्ञापानपत्रमा समेत हस्ताक्षर गरेका छन्।

यसै बीच स्पेन बासी नेपालीहरु पनि बुधबार भारतीय दुताबासको कार्यलय म्याड्रिडमा ज्ञापनपत्र सहित बिरोध जनाउने भएका छन्। बार्सिलोना स्थित भारतीय कन्सुलरको कार्यलयमा पनि पुगी हस्तक्षेपको बिरोध जनाउँने कार्यक्रम तय भएको छ। बिरोध कार्यक्रममा एनआरएन स्पेन लगायत स्पेन स्थित नेपाली संघ सस्थाहरुले ऎक्यबद्दता जनाउदै सामुहिक रुपमा गर्ने भएका हुन्।