भारतीय हस्तपेक्ष बिरुद्द, स्पेनका नेपालीहरुको आक्रोश


बार्सिलोना/ नेपालमा बनेको नयाँ संविधान प्रति असन्तुष्टि जनाउँदै , अघोषित नाकाबन्दीको हद सम्म पुगेको भारत सरकारको क्रियाकलाप प्रति स्पेनका नेपालीहरुले खेद प्रकट गरेका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन लगायत यहाँ स्थित राजनीतिक,जातीय,क्षेत्रीय संघ सँस्थाहरुले भारतको पछिल्लो गतिबिधिको बिरोध गर्दै खेद प्रस्ताब पारित गरेका हुन्।

संघको नेतृत्वमा स्पेन स्थित भारतीय राजदुताबासमा पुगी खेद प्रस्ताब सहितको ज्ञापनपत्र प्रस्तुत गर्दै, नेपाल जस्तो स्वतन्त्र र प्रजातान्त्रिक मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न दवाब दिने कार्य्क्रम तय भएको छ। संघका अध्यक्ष मुक्त बहादुर गुरुङको नेतृत्वमा आगामी बुधबार म्याड्रिड स्थित भारतीय दुताबासमा पुगी बिरोध जनाउँने कार्यक्रम तय भएको हो।

यस्तै संघका महासचिब उमेश प्रसाद अधिकारीको नेतृत्वमा अर्को टोलीले बार्सिलोना स्थित भारतीय कन्सुलर कार्यलयमा पुगी खेद प्रस्ताब सहित ज्ञापनपत्र बुझाउँने कार्य्क्रम छ। दुवै तिरका कार्यक्रमहरुमा सहभागिता जनाई, नेपालको सार्बभौमिकताको रक्षाका लागि, एक ढिक्का भई लाग्न, स्पेनका नेपालीहरुलाई संघले अनुरोध समेत गरेको छ।

गैर आबासीय नेपाली संघ स्पेन,लगायत नेपाली जनसम्पर्क समिति,प्रबासी नेपाली मञ्च,नेपाली जन प्रगतिशिल मञ्च,लगायतका संघ सँस्थाहरुले नेपालका प्रमुख राजनैतिक दलहरुलाई भारतसँग कुनै पनि हालतमा नझुक्न दबाब दिएका छन्। नेपालको संबिधान, हक, अधिकारमा कुनै पनि बाह्य शक्तिहरुलाई हस्तक्षेप गर्ने अधिकार नरहेको बताउँदै, राष्ट्रिय स्वाभिमानका लागि कुनै पनि हालतमा नझुक्न र सम्झौता नगर्न अनुरोध गरेका छन्।

भारतको हस्तक्षेप प्रति के भन्छन् स्पेनका नेपालीहरु ?

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्पराज तिमिल्सिनाले भारतको पछिल्लो हस्तक्षेप अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन्। उनले ८५ प्रतिशत भन्दा बढी नेपाली जनताहरुको मतको अधिकार प्रयोग भई, संबिधान सभाबाट जारी भएको संबिधानको बिरोध गर्ने ,भारतले आफ्नो ६५ प्रतिशतले बनाएको संबिधानलाई फर्केर हेर्नु पर्ने बताए।

नेपाली जनसम्पर्क समितिका पुर्ब अध्यक्ष पुष्प भण्डारीले नेपाललाई भारतले गिद्दे दृष्टिले हेरेको बताउँदै अर्काको आन्तरिक मामिलामा घुस्न नहुने भन्दै आक्रोश पोखे। उनले भारतले अघोषित रुपमा गरिरेहेको नाकाबन्धी पारवाहन सम्बन्धी सम्झौता बिपरित भएको भन्दै अन्तराष्ट्रिय रुपमा नै चासोको रुपमा हेर्नु पर्नेमा जोड दिए।

यस्तै नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगा प्रसाद भुसालले प्रबासमा बसेका नेपालीहरुले भारतीय बिस्तारबादलाई झुकाउन सधै दबाब दिनु पर्ने बताए। उनले संबिधान मान्य,नमान्य,जलाउने वा संरक्षण गर्ने अधिकार केबल नेपाली जनताहरुलाई नै भएको भन्दै भारतीय ह्स्तक्षेपको बिरोध जनाए।

प्रबासी नेपाली मञ्च स्पेनका महासचिब लक्ष्मण शर्माले प्रमुख तिन दलहरुले अहिले जसरी राष्ट्रिय स्वाधीतानताको मुद्दालाई उठाएका छन्,त्यसबाट कत्ति पनि बिचलित नभई भारत सरकार सँग झुक्न नहुने बताए। उनले प्रबासमा रहेका सम्पूर्ण नेपालीहरुले प्रमुख दलहरुलाई साथ दिनु पर्नेमा जोड दिए।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनकि उपाध्यक्ष जानुका रेग्मी खनालले नेपालीहरुले कहिले पनि आफ्नो शिर झुकाउँन नहुने बताईन्। लामो पर्खाइ पछि बनेको संविधानले धेरै नेपालीहरुलाई खुसी दिएको बताउदै,नेपालीहरुको खुसीमा भारत सरकार जलेको टिप्पणी गरिन्। तमु समाज स्पेनकि अध्यक्ष ज्योती गुरुङले एनआरएन स्पेनको नेतृत्वमा हुन लागेको कार्यक्रममा आफ्नो समाजको पूर्ण साथ र समर्थन रहेको बताईन्।

संघका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा आईतबार बसेको बिशेष बैठकमा महिला फोरम संयोजक सिता सिंह,नेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाट लगायतले बोले। कार्यक्रमको संचालन संघका महासचिब उमेश प्रसाद अधिकारीले गरेका थिए।

1 COMMENT

  1. Khoi k ho, Nepali neta haru ko believe garna gaaro, asti samma earthquack ko donation paisa gandai thiye, janata lai maarera…. Aaba pani k garne ho….. J hose ramrai hose…

Comments are closed.