नेपाललाई असफल राष्ट्र बनाउने खेल यसरी खेलिंदै छ


तर हामी सबै नेपाली एक हुनुको विकल्प छैन

प्रकाश ढकाल ।

नेपाल सदियौं देखिको विविध रितिरिवाज र संस्कृति प्रचलनमा रहँदै आएको देश हो । विविध भाषा र जातीहरु रहे पनि एकै समुदाय वा समाजमा मिलिजुली रहँदै आएको समाज हामी संग छ । हाम्रा आन्तरीक कारणले हामी नेपालीहरु (विविध जात जाती ) बीच कहिल्यै द्वन्द्ध र झगडा भएको इतिहाँस सम्म पनि छैन । तर अहिले आएर अनेक थरी बहानामा हाम्रो चलि आएको सदभावलाई भडकाउन खोजिंदै छ ।

Screen Shot 2015-05-14 at 10.45.38अहिले आएर हाम्रा छिमेकी देश भारत, चीन र युरोपियन युनियन हाम्रो देशलाई कसरी असफल बनाउन लागेका छन् भन्ने कुराको आभास हुँदै आएको छ । उनीहरुका पटक पटकका व्यवहार, हेपाहा प्रवृत्ति, नेपाली राजनीतिमा अनावश्यक चासो देखाउनुले यी कुराहरु प्रष्ट हुँदै छन् । सबैभन्दा त हाम्रै नेता र नेतृत्वको अकर्मण्यता र अदुरदर्शिताका कारण आज मुलुक असफल राष्ट्र बन्ने दिशामा अग्रसर हुँदै छ ।

भारत, चीन र युरोपियन युनियनको भूमिका कस्तो छ त ?

छिमेकी भारतसंग हाम्रो सम्बन्ध कहिल्यै सौहार्द हुन सकेन । विविध शंका र उपशंका मै हाम्रो सम्बन्ध चल्दै आयो र अहिले पनि त्यहि नै छ । जब जब नेपालमा संकट पर्छ तव उसले केहि न केहि थिचोमिचो गरेकै हुन्छ । पछिल्लो समय नेपालमा संघियता सहितको संविधान जारी हुने क्रममा छ र यसैबीच तराइका जिल्लाहरुमा द्वन्द्ध सिर्जना गरी संविधान जारी हुन नदिने खेल भारतबाट नै भएको हो भनेर बुझ्न गारो छैन । मधेववादी पार्टीका नेताहरुको बोलि नेपाल स्थित भारतीय दुतावासले बोल्नु अनि भारत सरकारले पनि त्यहि अनुरुप व्यवहार गर्नुलाई संविधान निर्माणमा भारतीय साथ् रहेको मान्न सकिंदैन । पछिल्लो १६ बुंदे समझदारी अन्तर्गत संविधान बन्ने अवस्था आएकोमा भारत रुष्ट थियो कारण उक्त १६ बुंदे समझदारी भारतसंग नसोधी गरिएको थियो । नेपालले सोध्नु आवश्यक पनि छैन तर भारत नेपालको हरेक मामिलामा ‘माइक्रो मेनेजमेन्ट’ गर्न चाहन्छ । भारतलाइ नसोधी र साथ् नलीइ के गर्न सक्दैनौ भन्ने ध्वाँस दिनको लागि पनि भारतले अहिले तराइका सिमावरती जिल्लाहरुमा घुसपैठ गराई मुठभेड गराइरहेको छ । हेर्दा हेर्दा तराइको आन्दोलन मधेसवादी दलहरुको काबुमा पनि छैन अहिले । कुनै विचार र दर्शनबाट निर्देशित नभएको त्यो केवल अराजक भिड हो र यस्तै यस्तै अवस्था सिर्जना गराई देशलाई असफल बनाउन भारत लागेको छ ।

भारतले किन यसो गर्दैछ भन्ने तर्फ चर्चा गरौँ । नेपालको भारत संग व्यापार घाटा नै साढे तिन सय अरब भन्दा बढी छ । नेपालले वर्षेनी करीब असि अरबको पेट्रोलियम पदार्थ भारत बाट नै किन्नु पर्छ । दैनिक उपभोग्य सामाग्री जस्तै आलु, प्याज, चामल, तेल देखि माछा मासु सम्म अनि साइकल देखि कार, बस ट्रक सम्म सबै भारतबाट आयात गर्नु पर्छ । यो यथार्थ हो देश यसरी नै चलेको छ । नेपालमै उत्पादन गरौँ, भारत संगको परनिर्भरता हटाउँ भनेर भन्ने नेता कोहि छैन । यस्तो अवस्थामा नेपालले भारतसंग केहि कुरामा वार्गेनिङ्ग पनि गर्न सक्दैन । किनकि भारतले एकदिन मालसामान ढुवानी ठप्प गरिदियो भने नेपाल देशभरी नै भोकमरी लाग्ने भन्ने अवस्था छ ।

भारतले नेपालका ठुला नेताका छोराछोरी, भान्जा भान्जी त्यो पनि नभए भतिजा, भतिजी सबैलाई निशुल्क पढाइ दिएको छ, कतिलाइ उसको खुफिया एजेन्सी ‘र’ को एजेन्ट बनाइ दिएको छ र वर्षेनी करोडौं पैसा र गाडी घर किनिदिएको छ ताकि उसको विरुद्धमा कोहि बोल्न नसकोस । नेताहरु पनि नुनको सोझो गर्नु पर्ने भएर होला भारतको विरुद्ध चुँ सम्म गर्न सक्दैनन । भारतले नेपालका ठुला पार्टीहरुमा आफ्ना वफादार एजेन्टहरु राख्न पनि सफल भएको छ त्यहि भएर पार्टीभित्रै पनि गुट र उपगुट बन्ने र त्यसले पार्टीभित्रै द्वन्द्ध सिर्जना गराउने उसको रणनीति हो । केहि नेताहरुलाई देशको चिन्ता भन्दा पनि नुनको सोझो को चिन्ता भएर आज मुलुकले दुख पाइरहेको छ । नुनको सोझो गर्दा गर्दै आफ्नै आमालाइ छातीमा प्रहार गर्न पछि नपर्ने केहि स्वाँठ नेताहरुको कारण आज देशले दुख पाइरहेको छ ।

ठुला ठुला विद्युत परियोजनाहरु भारतले बन्न दिंदैन कारण नेपाल झलमल्ल भएर सफल रास्ट्र बन्ने दिशामा लम्कियो भने उसलाई टेर्दैन कि भन्ने चिन्ता हो । भारतले धेरै मोटरबाटो बनाइदिएको छ तर रणनीतिक रुपमा हेरियो भने ती मोटरबाटोहरु तराइ हुँदै राजधानी आउनु पर्छ र एकदिन पनि बन्द भयो भने राजधानी काठमान्डौमा हाहाकार हुन्छ । राजधानी काठमान्डौलाइ जोड्ने अर्को वैकल्पिक बाटो समेत् भारतले बन्न नदिएको भनेर बेला बेलामा चर्चा हुने गर्दछ । भारतले जानी जानी यसो गरेको हो र नियत नै अर्कै रहेको बुझ्न त्यति अफ्ठेरो छैन । हामी ठान्छौं भारतले धेरै आर्थिक सहयोग गरेको छ तर यथार्थमा हामी बाट उसले सहयोग गरेभन्दा सयौं गुणा लागेको हुन्छ । भारतीय उद्योगहरुको ठुलो बजार नेपाल नै हो ।

छिमेकी चीन पनि नेपालको राजनीतिक मामलामा त्यति रुचि नराखे पनि आर्थिक रुपमा नेपाललाई सोस्ने देशको रुपमा चित्रित हुँदै छ । चीनसंग खुला व्यापार शुरु भएपछी नेपालका उधोग बन्द हुन शुरु भए । नेपालमा भएका उद्योगहरु पनि चीनबाट नै सामान ल्याउँदा सस्तो र थोरै मूल्य पर्ने देखेपछि धमाधम गार्मेन्ट उद्योगहरु बन्द भए । अहिले देशका  ठुल्ठुला विद्युत परियोजनाहरु चिनिया ठेकेदारहरुले बनाउंदै छन् । समयमा परियोजना सक्नुको साटो अनेक बहाना बनाउंदै थप लागत माग गरी देशलाई घाटामा पुर्याएका छन् धेरै चिनिया ठेकेदार कम्पनीहरुले । नेपाललाई जसो गरे पनि हुन्छ भन्ने मानसिकता हावी भैसक्यो । धेरै चिनिया कम्पनीहरुको बजार नेपाल भएकोले औधोगिक रुपमा नेपालले फड्को मार्नु भनेको चिनिया सामान नेपालले नकिन्नु हो र चीन यो हुन दिन चाहिरहेको छैन । नेपाललाई परनिर्भरतामै सिमित राख्ने चीनको भित्रि चाहना हो ।

वास्तवमा देशले संधै यी दुइ छिमेकी देशबाट प्रताडित बन्नु परेको छ । हाम्रो देश कस्तो चेपुवामा परेको छ भने चीन र भारत बीच पनि सिमा विवाद छ र बेलाबेलामा दुइ देशका सैनिक बीच लद्दाख सिमामा झडप हुने पनि गर्दछ । यी दुइ ठुला देशहरुको सिमानाको अवस्था त्यस्तो छ भने झन् हामो देशको यी दुइ देशसंग सिमाना जोडिएको छ भने झन् कस्तो अवस्था होला ? यसको पछिल्लो ज्वलन्त उदाहरण नेपालको दार्चुलाको लिपू लेक हो। नेपालको भुमि भारत र चीनले व्यापारिक नाका बनाउने बहानामा आफनो बनाए । नेपाल चुइंक्क बोल्न समेत सकेन । किनकि नेपाल कमजोर छ र वार्गेनिङ्ग पावर कत्ति पनि छैन । यी दुइ देशले २ दिन मालसामान ढुवानी ठप्प पार्ने हो भने सबै नेपाली भोकै हुन्छन । नेपालले भारत र चीनको केहि बिगार गरेको छैन तर पनि यी देशहरु नेपाललाइ आर्थिक रुपमा पनि टाट पल्टाउने मात्र नभई असफल बनाउने खेलमा उद्धत छन् ।

युरोपिय युनियनले विविध जात जाती र जनजातिको नाममा पैसा खन्याईरहेको छ । क्रिस्चियन धर्म प्रचार गर्ने भन्दै र गाउँ गाउँमा प्रोजेक्ट संचालन गर्ने भन्दै एकातर्फ क्रिस्चियन धर्मको प्रचार गरिरहेको छ भने अर्कोतर्फ जनजाती नेताहरुलाई करोडौं पैसा दिएर उचाल्ने काम मात्र गरेको छ । जनजाती लाई उकास्ने नाममा प्रोजेक्ट ल्याउने अनि केहि सिमित प्रभाव पार्न सक्ने जनजाती नेताहरुलाई उचालेर यो प्रदेश माग, उ प्रदेश माग, संघियता माग भनेर उचाल्ने काम युरोपियन युनियनका केहि सदस्य राष्ट्रहरुले गर्दै आएका छन् । नेपालमा जनजाती भन्ने शब्दको प्रयोग र  उपमा दिने काम केहि युरोपेली देश र अमेरिकाले  गरेका हुन् । त्यहाँभन्दा अगाडी हामि सबै नेपाली नै थियौं । यी र यस्ता क्रियाकलाप देशलाई असफल बनाउने तर्फ केन्द्रित छन तर हाम्रा नेताहरु कानमा तेल हालेर निदाएका छन् ।

छिमेकी देश सुरक्षाको दृष्टिकोणले पनि महत्वपूर्ण हुन्छ । दोस्रो विश्वयुद्धको समाप्ति संगै कमजोर देशलाई शक्तिशाली देशले अप्रतक्ष रुपमा हेप्ने र थिचोमिचो गर्ने प्रवृत्ति बढेको हो । कथमकदाचित देशबीच लडाई भयो भने कमजोर देशलाई आफ्नो अधिनमा लिन सजिलो हुन्छ भनेर कमजोर देशलाई हरेक क्षेत्रबाट प्रभावित पार्ने कोशिश हुन्छ । पहिले पहिले लडाईमा गोला बारुद प्रयोग हुन्थ्यो र देशलाई कमजोर बनाइन्थ्यो भने अहिले एकातर्फ देशका अनेक समुह, नेता, समुदाय र जातजातीलाई उचालेर तहसनहस पार्ने काम भैरहेको छ भने अर्कोतर्फ आर्थिक रुपमा चरम शोषण गरि टाट पल्टाउने काम भैरहेको छ । सजिलै थोरै खर्चमा उद्धेश्य पुरा हुने भएपछी गोला बारुदमा खरबौं कुन देशले खर्च गर्न चाहलान र ?

नेपाल लाई नै किन ?

नेपाल प्रकृति र प्राकृतिक सम्पदाले सम्पन्न मुलुक हो । सामरिक दृष्टिले उपयुक्त स्थानमा रहेको देश हो नेपाल । विश्वको उच्च हिमश्रीन्खला भएका देशहरु सामरिक दृष्टिले उत्तिकै महत्व हुन्छन । यहाँका अग्ला अग्ला डाँडा र वनजंगलहरु पनि सामरिक दृष्टिले महत्व हुन्छन । यहाँको गर्भमा नुन देखि सुन सम्म छ अनि मुल्यवान जडिबुटी देखि युरेनियम सम्म छ । यहि कारण हो नेपाल सबैको आँखामा परेको । नेपाल सफल राष्ट्र भएको खण्डमा केहि गर्न नसक्ने भएकोले असफल बनाइ राख्न भरपुर ताकत र हरसम्भव प्रयास सहित साम दाम दण्डभेद लगाएर भए पनि देशलाई असफल बनाउने प्रयत्न यावत भैरहेका छन् ।

भोलि अमेरिकाले चीन संग युद्ध गर्नु पर्यो भने अमेरिकाले नेपाललाइ सैनिक बेस ( आधार ) बनाएर चीनतर्फ आक्रमण गर्न चाहन्छ भने भारत र चीनको युद्ध हुने खण्डमा यी दुवै देश नेपाललाइ बेस आधार बनाएर क्याम्प खडा गरी एक अर्कासंग युद्ध गर्न चाहन्छन । आजको दुनियामा युद्ध गर्नु पर्यो भने यस्तै गरिन्छ र यथार्थ यहि हो । बुझ्नको लागि अफगानिस्तानको इतिहास छर्लङ्ग छ र तात्कालिन प्यालेस्टाइन देशको इतिहास हामि सामु छ ।

यस्तो अवस्थामा हामी नेपाली एक हुनुको विकल्प छैन । जसले जे भनेर उचाले पनि म नेपाली मात्र हुँ भन्ने भावना हामी सबैमा आउन सक्यो भने मात्र छिमेकी देशले हेप्न सक्दैनन् । नेपालीहरुको सबैभन्दा ठुलो सम्पति आत्मबल हो यहि आत्मबलका कारण आजको इतिहाससम्म कुनै देशले पनि सामरिक रुपमा हामीमाथि धावा बोल्न नसकेको हो । नेपालीहरुको देशभक्तिको व्याख्या बेलाबेलामा विश्वविख्यात साहित्यकार र सैनिकहरुले गरेकै कारण वैरीहरु सजिलै आँटन नसकेका हुन । फुटालेर राज गर्न खोज्नेहरुले फुटाल्ने ठाउँ छिद्र खोज्छन रे हो त्यहि छिद्र पर्न नदिउँ हाम्रो एकताको साङ्ग्लो मजबुत बनाउँ ताकि कसैले टुटाउन नसकोस ।

तपाईको प्रतिक्रिया