बसन्त रानाभाट
गतवर्ष आँगनीमा छमछमी कम्मर मर्काई मर्काई नाँचेका धेरै दिदीबहिनीहरु रहेनन् । माईतीमा गई आफ्ना दु:खसुख पोखेका चेलीहरु पनि रहेनन् । तीजमा वर्त बस्दै पतिको दीर्घायुको कामना गरेकाहरु पनि टाढा भए । कठैबरी माईतीको घरै भत्कियो, आँगनीमा बसी मादलु ठोक्ने डिलै लड्यो । वियोगले मन तड्पिएको छ। बेचैन मन छ, बेचैन तन छ। खै कसरी सम्झाउँने हो दुखी मनलाई ? हे भगवान ! कसो गर्ने तीजको खुशी भूइँचालाले खोसेपछि…।
यसपाली परिवार पनि टुक्रिएको छ । कतै दाजूभाइहरु हराएका छन्, कतै दिदीबहिनीहरु। भूइँचालामा बाँचेकाहरुलाई सुख कहाँ नै छ र ? मनैभरि सम्झना छ । खै फेरि कति चेलीहरुलाई रुवाईदिने हो यसपालीको तीजले ।
मावली घर जान पाईन्छ, बस चढ्न पाईन्छ, स्कुल पनि बिदा छ, छोराछोरीहरुले सम्झाँउने गर्थे,”मम्मी मामाघर कहिले जाने हो ?” अहिले त सानी छोरी पनि छैन, छोरोलाई पनि भूइँचालाले नै लग्यो । दुवैलाई हातले डोराई माईती पुर्याएका कैयौं यादहरु छन् । कसो गरी भुल्ने होला। लौ तीज आउन अब केही दिन मात्र बाँकी छ, कति आँशु बगाइदिने हो ? हे भगवान ! कसो गर्ने तीजको खुशी भूइँचालोले खोसेपछि…।
पोहोरसाल त साईली पनि थिई अनि माईली पनि । युरोपतिर छिरेकी कान्छी पनि तीजकै मेसोमा नेपाल आउँथी। भूइँचालोले म जेठीलाई मात्र किन लगेन ? सायद योपाली त कान्छी पनि फर्कन्न पो होला। युरोपतिरै बस्ने होली । तीजका मेरा चेलीहरु खोसी लग्यो ०७२ को भूइँचालोले । तीज आउँन अब केही दिन मात्र बाँकी छ, कति आँशु बगाईदिने हो ? हे भगवान! कसो गर्ने तीजको खुशी भूइँचालोले खोसेपछि…।
२० औं वर्षदेखि यही स्कुलकै कालोपाटीमा लेख्दै आए, उमेर पनि ७० नाघिसक्यो। भूइँचालोमा फेरि मैं बुढोलाई बाँच्न लेखेको । आँखैअघि स्कुल भत्कियो, लालाबालालाई किचिदियो। टहरामा अहिले पढाई रा’छु, कालोपाटी झुण्ड्याउने ठाउँ पनि कहाँ छ र ? वर्सेनि तीजमा गाउँने नाँच्ने, यही एउटा चौतारी थियो, त्यो पनि भूइँचालोले भत्काईदियो। खै गाउँका चेली यसपाली कतातिर नाँच्ने होलान् ? तीजका गीत गाउँने हुन् कि होईनन् ? खै के भनुँ ? तीज आउँन केही दिन बाँकी छ कति आँशु बगाईदिने हो ? हे भगवान! कसो गर्ने तीजको खुशी भूइँचालोले खोसेपछि…।
मुरली बजाइदिने हर्के दाई, मादल ठोक्ने बलेदाईलाई पनि भूइँचालोले छोडेन । तीजका भाकाबिना मादलु, बाँसुरीको तालैबिना कसरी गाउँने ? टुक्का सिकाई दिने सुन्तलीलाई पनि भूइँचालोले छोडेन । राधा दिदीको माईतीमा त झन् कोही पनि बाँचेनन् । सायद अाउँन्नन् पनि होला। म एक्ली कसरी गाम् कसरी नाचम् ? हे भगवान! कसो गर्ने तीजको खुशी भूइँचालोले खोसेपछि…।
१० डोकी घाँस काँट्थे यो बेलीमा। तीन दिन माईती बसेरै आउँथे । भाइ लिन टुप्लुक्क आउँथ्यो। तर अहिले घरीघरी झस्किराछु सपनी हो वा बिपनी। खै के का लागि घाँस थुपारुँ ? मेरो भाइ कहाँ नै छ र ? भूइँचालोले उसलाई पनि छोडेन। योपाली माईती जान सक्दिन। तीजको दिन कति आँशु बग्ने होला ? हे भगवान! कसो गर्ने तीजको खुशी भुइँचालाले खोसेपछि…।
हुँदा हेला, नहुँदा मात्र चासो, यो मनलाई कति धिक्कारुँ ? जिन्दगी साउदी कतारमा नै बित्ने भो। बिगतका बर्षहरु पनि घर फर्कन पाइएन, दिदीलाई निम्तो दिन गईएन। फोनमै भए नि मजैले गफ गरिन्थ्यो, दिदीलाई माईती जान भनिन्थ्यो। तर के गर्ने यो पालि कसलाई फोन गरूँ ? कसलाई माईती जाउँ भनुँ। वर्षौ भाथ्यो दिदीसँग भेट हुन नपाको । भूइँचालोले अब कहिल्यै भेट हुन दिएन। तीज आउँन केही दिन बाँकी छ, परदेशमा कति आँशु बग्ने हुन् ? हे भगवान ! कसो गर्ने तीजको खुशी भूइँचालोले खोसेपछि…।
केश फुलेकी म बुढी सधैँ कि एक्ली न एक्ली। रून कहिँले टुटेन। १० बर्षअघि छोरा गुमाएँ। द्वन्द्वले सधैँ चोटै चोट दियो। बुहारी हैन उ मेरी छोरी बनेकी थिई। युद्धले छोरा खोसे पनि दुःखमा सधैँ साथ दिई। मेरी सहारा बनेकी थिई, मलाई पनि छोडिन, घरलाई पनि सम्हाली। छोरी पनि उहि बुहारी पनि उहि, तिजकी चेली पनि उहि नै थिई। कठै बरा भूइँचालोले मेरी चेलीलाई पनि छोडेन। मेरो खुसी फेरि खोसिदियो। हे भगवान! कसो गर्ने तीजको खुसी भूइँचालोले खोसेपछि…।
देशमा सधैँ दुखै दुःख। जनताले कति सास्ती खेप्ने ? स्कुल सकेर बल्ल क्याम्पस जान थालेकी सधैँ बन्दै बन्द। कहिँले मधेशको आन्दोलन, कहिँले अखण्डको। संविधान पनि साह्रै महँगो रहेछ। खै मावली पनि कुन प्रदेशमा छ क्यारे ? कहिँले टुक्रन्छ कहिँले जोडिन्छ। मावली जान भिसा लगाउन पर्ने हो कि हैन ? कहिँले प्रहरी मार्छन कहिँले बन्दकर्ता ? मावली जाँदा बाँचिने पो कि हैन ? मावली घर पनि भूइँचालोले लगिदियो, पालमुनि नै बस्ने होला। प्रार्थना गर्छु हे भगवान । दर खानेतिर पानी नपरोस् । कसो गर्ने तीजको खुशी भूइँचालाले खोसेपछि…।
तीज आउँदा युरोप पनि गाँउ जस्तै लाग्थ्यो । हरेक वर्ष नयाँ सारी नेपालबाट नै आउँथ्यो। कहिँले पार्कमा कहिँले हलमा कहिँले घरघरमा मजैले दर खाईथ्यो। उफ्रिउफ्रि नाचिन्थ्यो। लण्डन भाकी दिदी पनि अहिले त्यति मन छैन भन्छिन्। बेल्जियम कि बहिनी पनि खुशी कत्ति छैनन् । देश शोकमा डुबेको वर्ष, भूइँचालोले धेरैलाई खाएको वर्ष, खै म कसरी खुशी भई रमाउँ ? पहिले पहिले जस्तो गरी उफ्रिन्न यो पाली।
मेरा दिदिबहिनीलाई केहिँ भा छैन, मेरो घर भत्केको छैन भनेर एक्लै कहाँ खुशी हुन सक्थेँ र ? यो पाली तीजमा सरल जिउँछु, दिवङ्गत दिदीबहिनीहरुलाई सम्झन्छु। यो वर्ष कसो गरूँ….. ? तीजको खुशी भुइँचालाले खोसेपछि…।
(प्रस्तुत लेखमा लेखकले देशमा गएको बिनाशकारी भूकम्पपछि, हरितालिका तीज पर्ब नजिकिदै गर्दा, नेपाली चेलीहरुका अनुभूतिहरुलाई आफ्नो मनोभावको रुपमा प्रस्तुत गरेका हुन्।)