– बसन्त रानाभाट
कैलालीको टीकापुर घटना यस्तो एउटा घटना बन्यो, सबैलाई त्रसित र भयभित मात्र होइन, एउटा सन्त्रासको वातावरण पैदा गरिदिएको छ । सम्भवतः एउटै घटनामा आधारित रहेर पहिलो पटक यति धेरै विचारहरु सार्बजनिक भईरहेका छन् । लेख्न सक्नेले लेखेका छन्, बोल्न सक्नेले बोलेका छन् ।
नलेख्ने, नबोल्ने वा अभिव्यक्त गर्न नचाहनेहरुले पनि मन थाम्न भने सकेका छैनन् । सोही विषयलाई लिएर अझै पनि सामाजिक संजाल रंगिएका छन् । चारै तिरबाट आक्रोशपूर्ण प्रतिक्रियाहरु आईरहेका छन् । सबैको मन तरङ्गित पारिदिएको छ । आखिर कारण एउटै छ, टीकापुर घटना क्रुर, अमानवीय र असैहृय थियो ।
यसअघि मलाई व्यक्तिगत रुपमा एउटा घटनाले मन साह्रै नै विच्छिप्त बनाएको थियो । ईराकमा घाँटी रेटी १२ जना नेपालीहरुको हत्या । यो घटनाले सबै नेपालीहरु मर्माहत बनायो । घाटी रेटी हत्या गरिएको भिडियो त्यतिबेला भाईरल बनेको थियो । तर भिडियो पूरा हेर्न तागत कसैको थिएन । आङ्ग जिरिङ्ग बन्यो । रगत तातेर आयो, आक्रोशको कुनै सीमा रहेन ।
ईराक हत्याकाण्डको कारण, बिश्लेषण वा चर्चामा यतिबेला म र्फकन चाहिँन तर एउटा कुरा भन्नैपर्ने हुन्छ । त्यहाँ मर्ने नेपालीहरु थिए र घाँटी रेट्ने बिदेशीहरु । हिजो हाम्रो लागि क्रुर बनेको यो घटनालाई आज कुन अर्थमा लिने ? सामान्य लिने कि असमान्य ? ताकी आज आफ्नै देशमा आफ्नै दाजुभाईले ईराकको क्रुरता भन्दा पनि बढी डरलाग्दो ढंगले, भाला, बन्चरो, खुकुरी, तरबार यतिले पनि नपुगी जिउँदै जलाएर देशका सुरक्षाकर्मीहरु मारिदिन्छन् भने । आखिर ईराक र नेपालमा फरक के नै भयो ?
हिजो लागेको थियो अर्काको देश हो, उनीहरुको राजनीतिक स्वार्थका लागि नेपालीहरुलाई ढाल बनाए । तर यहाँ मर्ने पनि नेपालीहरु छन् र मार्ने पनि नेपालीहरु नै । हिजो नेपालीलाई बिदेशमा घाँटी रेटेर मार्दा भावविहृवल भई रुनेले आज त्यो भन्दा डरलाग्दो र क्रुरतापूर्वक आफ्नै दाजुभाई जलाउन कसरी सके ?
भाला, बन्चरो, खुकुरी, तरबार हान्न कसरी सके ? ईराकमा नेपाली रेटे झैँ नेपालीले नेपालीलाई जिउँदै जलाउन थालेपछि अब त यस्तो लाग्न थाल्यो, “कि हाम्रो देश नेपाल होईन वा हामी नेपाली होईनौ । यदि हाम्रो देश नेपाल र हामी नेपाली हौ भने, नेपालीले नेपालीलाई जिउँदै जलाउँदैन, भाला, बन्चरो, खुकुरी, तरबार हानेर बर्बरतापूर्वक मार्दैन । तर भन्नै पर्ने हुन्छ कसैले कसैको हत्या गर्नु जघन्य अपराध हो, मानव अधिकार बिरुद्ध हो । चाहे घटना ईराकमा होस् वा नेपालमा ।
०४६ सालको आन्दोलन भयो रे । यसको केही सम्झना छैन । जब सम्झना हुन लाग्यो हत्या हिंसाका घटनाहरु नै सम्झनाका पलहरु बने । मुख्यतः स्कुल जीवनमा नै त्यस्ता धेरै स्मरणका पलहरु बन्ने रहेछन् । देशमा भएको युद्धकालको अबधिमा मर्ने र मार्नेबाहेक कानले केही सुन्न पाएन । रेडियो सुन्यो, टिभी हेर्यो वा पत्रपत्रिका पढ्यो जता पनि मरे र मारे मात्र । ०५८ को दरबार हत्याकाण्डले पनि सबैलाई यसरी नै स्तब्ध बनाएको थियो ।
युद्धकालमा पनि देशमा हजारौले ज्यान गुमाए । शान्ति वार्ताले सफलता पाएपछि भने केही हुन्छ कि भन्ने धेरै आशा पलाएको थियो । ०६२/६३ को जनआन्दोलनपछि राजनीतिक परिबर्तन सँगै देशमा गणतन्त्र आयो । त्यतिबेलादेखि नै फुकेको संविधानको नाराले पनि दशक बिताउन आँटिसक्यो । तर पनि देशले अझै निकास पाएको छैन । होइन, यो कस्तो हाम्रो अभागी पुस्ता ? सधैँ मारकाट नै सुन्दै आउनुपर्ने ? सधैँ हत्या हिंसाका घटना पढ्नुपर्ने ? आखिर जीन्दगीमा बुझ्ने भएदेखि मार्ने र काट्ने बाहेक केही सुनिएन ।
मार्ने र काट्ने सुन्दै आएको जीन्दगीलाई त्यतिले पनि पुगेनछ भनेर प्रकृतिले पनि नराम्रो सँग ठगिदियो । आलो घाउँ नै छ, भर्खरै भूकम्पले हजारौले ज्यान गुमाएका छन् । भूकम्पले देशलाई मजैले पछारेको छ । हजारौ घाईते छन् । कति त अस्पतालको शैयामा अझै छटपटाइरहेका छन् । घाईते र अपाङ्गहरुको आत्मा रोईरहेको छ । लाखौ घरबारबिहिन छन् । बर्षातको बेला गतिलो ओत छैन ।
बर्षेनि खेप्दै आएको बाढी र पहिरोको देशमा ठुलो खतरा नै छ तर जनता सडकमा लडिरहेका छन् । हिजो ज्यानको बाजी राख्दै भत्केका घरहरुमा छिरेर बाल, बच्चा, महिला असहायहरुलाई वचाउने सुरक्षाकर्मीहरू आज जिउँदै जलाएर मारिएका छन् । सधैँ झगडा हुने परिवारमा पनि छिमेकीको डरले, लाजले पनि झगडा कम हुन्छ, कम गरिन्छ, लाज लाग्छ लाग्छ भन्छन् तर हामीले त कसैको पनि हेक्का राखेनौं ।
भूकम्प पछि पुनर्निर्माण गर्छौ, देश बनाउँछौ भनेर खर्बाै रकम मागेर बसेका छौ तर त्यो सबै एकैछिनमा भुलिदिन्छौ, यो पनि हेक्का राख्दैनौ हाम्रो देश अहिले बिरामी छ । आज यति छिटै सडकमा ढुंगा मुडा गर्दा, दिनहुँजसो बन्द आन्दोलन गर्दा, नेपाल र नेपालीप्रतिको बिदेशीहरुको के सोचेका होलान् ? त्यसैले त ऋण दिँदा पनि शर्तमाथि शर्त राखेर दिएका रहेछन् ।
मलाई लागेको थियो यस्तो बेलामा हामी सबै सचेत छौ। कम्तिमा आफ्नो दलीय, व्यक्तिगत राजनीतिक स्वार्थबाट टाढा रहन सक्छौ । तर बुझाई गलत रहेछ । आफ्नै स्वार्थ पुरा भए ठिक नत्र आन्दोलन, यसरी देशले कहिँले निकास पाउँला ? बिरामी परेको देशलाई आज एउटा शब्दले आईसीयुमा पुर्याएको छ । त्यो हो संघीयता । संघियताबारे दलहरु आफै प्रष्ट भएनन् ।
आफैले गरेको सहमतिको कुनै हेक्का राखेनन्, कम्तिमा कुन बिन्दुमा अडिक रहने ? असहमतिलाई कसरी अन्त्य गर्ने, बिरोधलाई कसरी सम्बोधन गर्ने ? यसको कुनै हेक्का राखेनन्, सबैलाई सामान्य तबरवाट हेरे । तर परिस्थिति यस्तो बन्दै गयो आन्दोलन गरे संघीय प्रदेश बढ्ने पनि भए अनि घट्न पनि। कतै पहिचानका लागि भन्दै आन्दोलन कतै, अखण्डका लागि आन्दोलन, कतै विखण्डन बिरोधी आन्दोलन अनि सहमति दुई दुई दिनमा फेर्दै जानु पनि मुख्य दलहरुको कमजोरी हो ।
देशको सीमाङ्कनमा नै यति ठूलो बिबाद खेपेको देशमा नामाङ्कन गर्दा कुन रुप लिने हो ? सबैलाई चिन्ताको बिषय छ । तसर्थ योबारे दलहरु आजै सचेत हुन जरुरी छ । नेताहरुले संघियताबारे जनतालाई बुझाउँन सकेनन्। यसैको परिणाम आज संघियता शब्दलाई सामाजिक संजालमा धेरैले सरापेका छन् । संघीय नेपाल ठिक थियो वा गलत त्यो त भविष्यले देखाउँला तर संघीयताबारे जनतालाई प्रष्ट बुझाउँन नसक्नु फेरि जातीय क्षेत्रीय बर्गीय पहिचानका आधारमा संघीय राज्यको भाषण ठोक्दै हिंड्नु पनि आजको परिणाम हो।
अहिलेको गणतन्त्र मुलुकको एक गणतन्त्र प्रेमी नागरिक भए पनि ईतिहास भने राजा महाराजाको नै पढ्दै आईयो। पृथ्वीनारायण शाहले बाईसे चौबिसे राज्यहरु एकीकरण गर्ने क्रममा पनि एउटा राज्यले अर्को राज्यलाई आक्रमण गर्दा भन्ने गरिन्थ्यो रे, तिमीहरु आत्मसमर्पण गर । होइन भने हामी हमला गर्दै छौं ।
कम्तिमा चाहनेले ज्यानको रक्षा त गर्न पायो तर अहिले म थाकिसके, मलाई छोडिदिनुहोस, अलिकता दया गर्नुस, मेरो फौज तितरबितर भइसक्यो । मैले हारेँ तपाईँहरूले जित्नुभयो भन्दै एसएसपी लक्ष्मण न्यौपाने बिलौना गरे पनि कसैको दया पलाएन । भाला रोपेर नै मारे । एसएसपी न्यौपाने लगायत घटनामा ज्यान गुमाउने प्रहरी दाजुभाइहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।
अन्त्यमा, सोध्न मन लाग्यो, रक्ताम्दै पार्दै बन्चरो खुकुरी, भाला रोपेर आफ्नै देशका प्रहरी मार्ने राक्षसहरु के तिनीहरु पनि नेपाली हुन् र ?