पोखरा/ पार्टीको नगरस्तरीय चुनावको तयारी भइरहेका बेला कास्कीको लेखनाथमा नेपाली कांग्रेसका नेताको हत्या भएको छ । सामान्य विवाद चर्कदै गएपछि कांग्रेस समर्थकले नै नेविसंघ कास्कीका पूर्व अध्यक्ष एबं केन्द्रिय सदस्य रामजी पौडेल बादलको बिहीबार राति हत्या प्रहरीले जनाएको छ ।
पौडेलको शव लेखनाथ नगरपालिका वडा नं. १२ गगनगौंडामा पृथ्वीराजमार्ग नजिक भिरबाट फालेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । पार्टीको स्थानीय विवादमा लेखनाथ कै काग्रेस नेता लेखनाथ १३ का बुद्धिमान गुरुङ्गको घरमा छलफल पछि घर फर्किदै गरेका पौडेल सहितका २ जनालाई बाटो ढुकेर बसेको समुहले आक्रमण गरेका थिए ।
घटनामा संलग्नमध्ये एक नेपाल तरुण दल लेखनाथ नगर पािलका १६ का संयोजक राजु रानाभाटलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । तीन जना फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले बताए । घटनाको विरोधमा स्थानीयले पृथ्वी राजमार्गको गगनगौंडा खण्डमा बिहान ८ बजेबाट गरेको अवरोध बेलुकी सम्मै थियो । दिनभरी घटनास्थलमा रहेको शव प्रहरीले शुक्रबार साँझ पख उठाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएको छ । घटनामा नेपाली काँग्रेसका दुई कार्यकर्ता मनोज गुरुङ र नारायणहरि तिवारी घाइते भएका छन् ।
उनीहरु सामान्य उपचारपछि घर फर्केक छन् । आक्रमणमा संलग्न भनिएका नेपाली काग्रेस निकट आदिवासी जनजाति लेखनाथ नगर संयोजक प्रकाश गुरुङ, तरुण दल लेखनाथ १२ का कार्यवाहक संयोजक विश्वास गौतम र रविन केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुई दिन अघि लेखनाथको तालचोकमा भएको विवाद मिलाउन काँग्रेस महाधिवेशन प्रतिनिधि बुद्धिमान गुरुङले बिहीबार साँझ भेला बोलाएका थिए । साउन २७ गते तालचोकमा भेला भएर चुनावको बारेमा कुराकानी गरिरहेका बेला विश्वास गौतमले एक्कासी नारायणहरि तिवारीलाई आक्रमण गरेपछि विवाद सुरु भएको थियो ।
त्यतिबेला रामजी पौडेलले दुवैजनालाई छुट्याएको प्रत्यक्षदर्शीले बताएका थिए । त्यही विवाद मिलाउन बुद्धिमानको घरमा बिहीबार साँझ १२ जनाजति भेला भएको र त्यसमा समेत चर्काचर्की र हात हालाहालको अवस्था आएको बुद्धिमानले बताए । विश्वास गौतमले माफी मागेर हात मिलाउनै लाग्दा प्रकाश गुरुङले मिल्नु हुँदैन, सबै कुरा बिगार्ने रामजीले हो, यसलाई कुट्नुपर्छ भन्दै हात हाल्न थालेको घटनाका प्रत्यक्षदर्शी मनोज गुरुङले बताए । बुद्धिमानले भने, मैले मेरै घरमा बोलाएको मिटिङमा चर्काचर्की भयो, प्रकाश बढी नै रिसाएको थियो, सबैजना यहाँबाट निस्केपछि त यस्तो घटनाको भयो ।
प्रकाश र विश्वास बुद्धिमानको घरबाट निस्कँदा रामजी अब बाँच्दैन भन्दै कराएको सुनेको स्थानीयले बताए । बेलुका नौ बजेतिर बुद्धिमानको घरबाट मनोज र रामजी एउटा मोटरसाइकल र नारायणहरी अर्को मोटरसाइकलमा निस्केका थिए । केही पर पुग्दा साढे नौ बजेतिर बाटो कुरी बसेका पाँच÷सात जनाले लाठा र रडले पहिला नारायणहरिलाई हानेर ढलाएको मनोजले बताए ।
त्यसपछि मैले बाइक रोकेर सबैलाई सम्झाउन खोज्दा आफैमाथि आक्रमण भयो, कतिबेला बेहोस भएँ चालै पाइन, मनोजले भने । आफूले चाल पाउँदासम्म रामजीलाई उनीहरुले थिलोथिलो पारी कुटेको देखेको मनोजले बताए । आक्रमण गर्ने प्रकाश र विस्वासलाई चिने पनि अध्याँरोका कारण अरुलाई चिन्न नसकेको उनले बताए ।
झडप भएको केहीबेपछि थाहा पाएका बुद्धिमान आउँदा सडकमा नारायणहरि र मनोज बेहोस देखेपछि तुरुन्त अस्पताल पठाएर रामजीको खोजीमा लागेका थिए । बुद्धिमानले भने, राति धेरैतिर खोजियो, रामजीलाई कतै भेटिएन, प्रहरीलाई खरब गरेर राती ३ बजे सम्म खोज्यो, फोन पनि लागेन, बिहान त लास पो देखियो । कास्कीको लेखनाथ नगरकमिटीको चुनावमा वर्तमान सभापति राजेन्द्रमणि लामिछाने र नारायणहरि तिवारीको नाम चर्चामा थियो ।
राजेन्द्र संस्थापन पक्षका हुन भने नारायणहरि देउवा पक्षका । विद्यार्थी कालदेखि निकै सरल र सहयोगी स्वभावका रामजीको समर्थन नारायणहरिलाई भएकै कारण विश्वास गौतमले पहिलेदेखिनै पटकपटक आक्रमण गर्दै आएको स्थानीय बताउँछन् । रामजीको शव भेटिए नजिकै विश्वासले चलाउँदै आएको कार भेटिएको थियो । उक्त कार स्थानीयले बिहानै जलाइदिएका छन् ।
सडक दिनभर बन्द गाडीमा आग्जनी
पौडेलको हत्यामा संलग्न भएको भन्दै स्थानीय आक्रोशित भिडले लेखनाथ १२ का विश्वास गौतमको गाडीमा आगजनी गरिदिएका छन् । गौतमको बा १३ च ३२८० नम्बरको मारुती सुजुकी कार पौडेलको शव भन्दा केही माथि पृथ्वीराज मार्ग छेउ एक घर अगाडी पार्किङ गरीराखेको अवस्थामा भेटिएको थियो ।
स्थानीय आक्रोशित भिडले हत्यामा गौतम संलग्न भएको आंशकामा गाडीमा तोडफोड पछि आगजनी गरेका हुन् । स्थानीय र मृतक पौडेलका आफन्त तथा नेपाली काग्रेसका कार्यकर्ताले दोषी माथि कारवाही र कडा सजायको माग गर्दै विहानै देखी पृथ्वीराजमार्ग अवरुद्ध गरेका थिए । उनिहरुले गगनगौडा र विजयपुर पुलको सडकमा टायर तथा ढुंगा राखेर सडक अवरुद्ध गरेका थिए ।
सडक बन्दले अनुसन्धामा बाधा
पौडेलको हत्यामा संलग्न भएकाहरुलाई तत्कालै प्रक्राउ गर्न सकिने भए पनि सडक बन्दले अनुसन्धानमा बाधा परेको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले बताए । उनले सडक बन्दका कारण दिन भर लेखनाथमा सडक खुलाउन लाग्नु परेका कारण अनुसन्धानमा बाधा परेको बताए ।
उनले भने हत्यामा संलग्नहरुलाई अनुसन्धान गरि तत्कालै पक्राउ गर्न सकिनेमा प्रहरी टोली दिनभर बाटो खुलान मै लागेको बताए । घटनामा संलग्न भएकाहरु मध्ये एक जनालाई पक्राउ गरि सकेका कारण अन्यलाई पनि छिटै पक्राउ गर्न सकिने बताए । बन्द हड्तालले छिटो हुने कामलाई पनि झन ढिलो बनाउने बताउदै उनले बन्द हड्ताल नगर्न आग्रह गरेको भन्दै स्थानीय गन्थन डटकमले लेखेको छ।






kangreesi haru badhi pad ko lov gardachhan yeti sano pad ko lagi yeti thulo apradh ma kasari utriye achamva ghatana bhaye ko chha.
Comments are closed.