– मोहनराज बराल “मुन”
लाग्छ सन् १९९९ वा सन् २००० ताका यही समयको वरपर ओपन कन्सर्ट हेरेको थिए।त्यहाँ नेपालको ख्यातिप्राप्त गायकहरूको प्रस्तुति थियो। त्यहाँ नेपथ्यको ब्याण्डका अमृत गुरुङले लाग्छ ३ वटा गीत गाए, शुरुमा रानी ,जोमसोमै बजार र चरी मर्यौ सिसैको गोलिले ।
त्यो कन्सर्ट हुनु भन्दा २/३ बर्ष अघि सन् १९९७ सालतिर हुनुपर्छ नेपथ्यको श्रींगार एल्बम बजारमा निस्किएको थियो।सो एल्बम भित्र साहित्कार सरुभक्त श्रेष्ठको शब्दमा “सरुमा रानीको हाँसोको कसम ” स्वर्गीय गायक एवम संगीतकार प्रविन गुरुङको शब्द संगितको उकाली ओराली र नेपथ्य समूह जो राफ्टिंग जाँदा भोगेका अनुभूतिहरू समेटेर “यार्लिंग काफल पाक्यो”,”कति मिठयो गाउँले भाका रोदी घर दोहोरे गाउँदा”, “जीवनका आशाहरु विलाई गएछन कहाँ कहाँ खोजि हिडे म” जस्ता ग्रामीण जनजीबनका भोगाईहरूलाई उतारेर तथा राफ्टिंगबाट नदि पार गरेर पारि गाऊँ पुग्दा आमा समुहले गरेको न्यानो अभिवादन गर्दाको स्वागतमलाई गीत नभई हेक्सीडस मार्फत प्रस्तुत गरेको अनुभूति युक्त यो एल्बलको गीतहरु बजारमा खासै चलेन।
मिनपचाससम्म आईपुग्दा नेपाली साँङ्गीतिक आकाशमा तहल्का मच्चाएको यो समुह श्रींगार एल्बम पछि गुपचुप रहयो।यो समूह आफनै नाम झैँ नेपथ्य भयो।पहिलो एल्बम देखि हिमाल चुचुरे एल्बम सम्म रहेका गायक रविन श्रेष्ठ तेस्रो एल्बममा देखिएनन् ।मिनपचासमा देखिएका गायक गौतम गुरुङ श्रींगारमा देखिएनन् ।फेरि श्रींगार एल्बम पछिका करिब ५ बर्षसम्म यो समुह चुपचाप रहदा ब्याण्ड टुक्रियो रे।
गायक अमृत गुरुङले पनि ब्याण्ड छोडे रे।अब नेपथ्यको एल्बम आउदैन रे। हल्ला फैलिए।फेरि यी अनेकन हल्लाहरु बीच सन् २००१ मा एकाएक पाँचौ एल्बम आयो “रेशम”त्यसपछि देशव्यापी साँङ्गीतिक टुर अन्तर्गत लाग्छ त्यो दिन २०५८ असोज ६ गते शनिबार हुनुपर्छ मैले नेपथ्यको पोखरामा कन्सर्ट हेर्ने मौका पाँए । नेपथ्यको गीतहरू यात्रा, भोगेका घटना, नेपाली परिवेश र कालखण्डका चित्रण गरिएका छन् । यस्तो लाग्छ, गीतका रचनाहरू कोठामा थुनिएर, शब्दकोश पल्टाएर, कम्पोज गरिएका हुदैनन् । नेपाली पन, कुनाकुनाका माटोबाट जन्मेका आभास हुन्छ।
गीतहरुमा नेपाली जनजीवनका पीडा, माया, दु:खको रसलाई ‘लोक रक’ जुन आफ्नो स्थापना हुदाको मुलमन्त्रलाई नै आफ्नो मुलधार मान्ने हुनाले पनि नयाँ पुस्तालाई मनपर्ने शैलीमा गाँउगाँउका लोकभाकालाई प्रस्तुत गर्ने गरेकोले पनि के बच्चाबच्ची ? के युवायुवती ? के बुढाबुढी ? सबै उमेर समुह माझ उत्तिकै लोकप्रिय छ।
सन् १९९० ताका उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ पुगेका गायक अमृत गुरूड ,दीपकजंग राणा र भीम पुन साह्रै मिल्ने साथी थिए।दिउँसो कोठामा तीन जना गीत गाउँदै, गितार बजाउँदै, गाउँदा–गाउँदै ब्यान्ड नै बनाए। जस्को नाम रहयो “नेपथ्य”, गायक अमृत गुरूडको भनाई अनुसार यो नाम दीपकजंग राणाले जुराएका थिए। ‘टाइम पास गर्न ब्याण्ड खोलेका कारण पनि पहिलो एल्बम अप्रिल १, सन् १९९१मा रिलिज भयो भनिन्छ ।
तर “रिमझिम बर्षाद”,”हे माया तिमीलाई”जस्ता गीतहरू हिट भए।”हे माया तिमीलाई”यो अमृत गुरुङको स्वर रहेको पहिलो गीत हो।अफेयर चलेका गायक गुरुङ बिरक्तिएर कास्कीको हेम्जाकोटमा आफ्नो साथी पुस्कल गुरुङ्को घरमा करिब ३ महिना बस्दा गायक स्वयमले रचना गरेको गीत हो।
सन् १९९३ मा नेपथ्यको सेकेन्ड एल्बम “हिमाल चुचुरे” निस्किए पछि रबिन श्रेष्ठको स्वरमा रहेको गीत “छेको छेको देउराली डाँडाँ”ले तहल्का मच्चाउन सफल भयो यो गीतका संगीतकार एवम रचनाकार हाल पोखरामा डेराको जीन्दगीमा रोगले थलिएका छन। सोहि एल्बममा रहेको अमृत गुरुङको स्वरमा रहेको “बिन्ति छ मेरो “, “हिमाल चुचुरे “पनि हिट हुन सफल भए ।
फेरि अमृत गुरुङले आफ्नो ९ बर्ष सम्म सँगै बसेको दुख सुखमा साथ दिएका साथी दिपक जंग राणा जो पाईलट पढ्न बिदेश जाँदा बिदाई गरेर फर्केको रातमा लेखेको गीत “अनुभुति” थियो ।साथीलाई समर्पित गरेर लेखेको यो गीत मिन पचासको हिट गीतहरू सँगै चर्चित रहयो। सन् २००३ मा भेडाको ऊन जस्तो, सन् २००५ मा घटना सन् २००९ मा मेरो देश सन् २०१० ऐना झ्याल निकालेको नेपथ्यले अहिले १०औ एल्बम निकाल्ने तयारी गर्दैछ।
लेखक :- मोहनराज बराल “मुन”
यस्तै नेपथ्यले भेडाको ऊनजस्तो, लिभ आवर स्कूल अलोन, सा: कर्णाली , सङ फर डिलिकेट फ्लावर, म्युजिसियन्स कल’ गरी पाँचओटा वृत्तचित्र पनि निर्माण गरेको छ । पुराना सर्जकहरूलाई संरक्षण गरन “आईज निदरी” भन्ने गीत पनि गाएको छ। जुन गीतको शब्द, संगीत – कलानाथ अधिकारी को हो।जुन पुरानो गीत मानिन्छ।
आफ्नो जीवनमा शासकसँग नझुकी निरन्तर क्रान्तिकारी साहित्यि श्रृजनामा तल्लिन रहेको साहित्यकार स्व कलानाथ अधिकारी जो राजाका शासनका बिरुद्ध साहित्य कला मार्फत जनतालाई सुसुचित पार्ने कथा,कविता र नाटक मंचन गर्दा पटक पटक गरी उनको दुई पटक सर्वस्व हरणसँगै १७ बर्ष लामो जेल जीवन बिताए ।यिनै पुराना सष्ट्रालाई पुनर्जीवित गर्न पुन यो गीत गाएका छन्।
यसरी नै फेरि हो हो बा बा हो हो जस्तो पुरानो गीतलाई पनि पुन गाएको छ ।जीवनको दु:ख र सुखका पाटोलाई अात्म साथ गरेको पोखराका गायक तथा संगीतकार श्यामसुङ् तामाङ्को गीत यो जीन्दगानीलाई रिमेक गरेर गाएको छन् ।भन्निछ गायक तथा संगीतकार गंगा बरदानको “माया गर्ने बानी”भन्नी गीतलाई नारायण गोपाललाई गाउँन दिदा मानेनन् रे।
यो गीत नेपथ्यले गाए पछि हिट भएको थियो रेशम एल्बममा,सरुभक्तको संकलन रहेको “खान्न मत लाम्पते सुरती” ,फेरि उनीले नै संकलन गरेको करिब २५० बर्ष पुरानो गीत “यानी माया उहिले उहिले कास्की जादा” गाएको नेपथ्यले गीतकार प्रकट पगेनी शिबको “नराम्रो सपना देखे थिए” पनि गाएको छ।भेडाँको ऊन जस्तो एल्बलको “छोटो गीत”को शब्द, संगीत ड्यानियल डन कार्थक रहेको छ।फेरि रसुवामा गएर संकलन गरेको गीत भेडाको ऊन जस्तोको संकलन नारायण वाग्ले हुन।
लाग्छ गीतको खोजीमा जाँदा रसुवाको डाडामा खिचीएको गायक अमृत गुरूडको तस्विर मदन पुरस्कार प्राप्त कृति पल्पसा क्याफेको आवरणमा सज्जित छ।यस्तै “सा:कर्णाली” डोल्पा तिर गाईने यो गीतका संकलक लक्ष्मीकान्त उपाध्याय हुन।आफुलाई किसान भनेर चिनाउने गायक गुरूडको जन्म थलो पुम्दीभुम्दी जहाँ करिब ३०/४० बर्ष अधि त्यहि ठाँऊमा विवाहमा गाउने गीतलाई संकलन गरेर “तालको पानी माछीले खाने”तयार गरेका थिए।
फेरि देशमा २०५८ सालमा संकटकालीन अवस्था आए लगत्तै सामाजिक उत्तरदायित्व बहन गर्दै जागरणको गीतहरू लिएर मैदानमा देखा पर्यो शान्तिको लागी संगीतको नारामा मलाई याद छ मैले यहि नारामा आएको नेपथ्यको २०५८ फाल्गुन २८ गते ,२०६० फाल्गुन २३ गते र २०६३ माघ ६ गतेको कन्सर्ट हेरेको थिए पोखरामा । के लाग्छ भने त्यो कालो रात्रिमा गायकको काम मनोरन्जन मात्र दिनु होइन, समयलाई स्वतन्त्र राख्न अभिप्रेरित गराउनु हो।
कुनै पनि समय वा समयको शब्दलाई आशंका सन्देह र भयबाट सुरक्षित राख्नु वा सुरक्षित राख्ने माग राखिएको गीतहरु गाउनु एउटा गायकको इमान हो । लाग्छ आफ्नो इमानहरु पुरा गर्न हरेक समय समयमा इमान राख्न गायक धर्तिमा झुल्कन्छ्न। कुनै पनि गायक समयलाई अघोषित युद्ध,भोक र अज्ञात वासमा राख्न चाहदैनन। तर यस्तो लाग्छ, उनी जनताहरु प्रति उत्तरदायित्व बोकेर कष्ट सँग कालो पहाडका क्रुर छाया सँगै उभीइरहेका थिए। वास्तवमा कलाकारहरुलाई देश, परिवेश र बातावरणले प्रभाव पारेको हुन्छ। यो अबधिमा गुन्जायमान भएका गीतहरू
” सिमानामा टक्क अडेर,छाती भरि देशबोकेर रोए है
पैताला देखि हत्केला सम्म ,बेदना को छाल फुटुन्जेल सम्म
फेरि छाती उर्लिए ब्यथा ,चुपचाप जंघार तर्ने बेला
भक्कानो छाडी रुदै ,मुग्लान पसे हाम्रै दाजुभाई ,पुर्वै जाने रेलै चढेर”
-शब्द अमृत गुरुङ
“टाढा धेरै टाढा उडेका रंगीन चरा
धरतीमा कहिले फिर्लान्?
आकासको कालो मैलो हटी
घामजून कहिले खुल्लान्?”
-शब्द/संगित आभास
समयको कुरुप छायाँ हिमालैमा परे जस्तो छ
दुनैको रगतमा त रोल्पाको घाउमा
सिरानीमा फूल सिउरी निदाउन म सक्तिन
आदर्शका कुरा म केही नि बुझ्दिन
छताछुल्ल पोखिएका दुख पीर अंगाल्दै
आऊ सँगै बसेर एक अर्कालाई बुझौं
यो उदासी क्षण मधुर गीत गाऊँ
-शब्द अमृत गुरुङ
“चुरा फुट्यो, हिमाल लुक्यो, देउरालीमा चरी रोयो
रगतको आहाल जम्यो, शीरको टोपी, भूईंमा झर्दा
गुराँसमा, छिटो पर्यो, आँसु भेलले, कोसी बढ्यो”
-शब्द अमृत गुरुङ
बि.सं २०६१/०१/२७ गतेको सत्य घटनामा आधारित मैनापोखरी घटनाको गाईने शैलीको गीत यो गीत २६ मिनेट लामो छ।आम नेपालीलाई पारेको दु:ख पीडालाई यति मार्मिक ढंगमा पेश गरेको छ की सुन्नेको आँखा नरसाई रहनैसक्दैन। यस’घटना’ शिर्षकको गीतमा द्वन्दकालमा भएको मैनापोखरीको घटनालाई संगीत र शब्दका मार्फत ज्युँदो बनाइदिएको छ। भनिन्छ यस गीतले विश्वविख्यात रक ब्याण्ड ‘पिन्क फ्लोइड’को ‘अनदर ब्रिक इन द वाल’को सम्झना दिलाइदिन्छ। यो गीत कानले सुन्ने मात्र गीत होइन, यसलाई त मनले सुन्नुपर्छ, महसुस गर्नुपर्छ।
“गाँउ गाँउ बाट उठ बस्ती बस्तिबाट
उठ”
-श्याम टमोटले २०३७/२०३८ तिर लेखेको गीत जुन गीत जनगायक रामेशले गाएका छन।
“रातो र चन्द्र सुर्य “
शब्द गोपाल प्रसाद रिमाल
नेपालको “पिन्क फ्लोइड” जस्तै नेपथ्य र जोन लेनन जस्तै गायक अमृत गुरुङको कन्सर्ट सन् २०१३ अगष्ट ३ तारिकको दिनमा फेरि जोन लेननको देशमा जहाँ विश्वको ख्याती प्राप्त गायक ,ब्याण्ड र संगीतकारहरुले कन्सर्ट दिएका थिए ।
वेम्ली एरिना बिश्वकै चर्चित हल जहाँ वव ड्यालिनले १२ पटक आफ्नो प्रस्तुति दिएका थिए साकिरा,लेडी गागा,म्याडोना,द बिटल्स,पिङ्क,द विच बोईज ,पिरल जाम, केली कालसन,सान्ताना कार्लोस आदि हस्तीहरुले प्रस्तुति दिईसकेको हल हो।जहाँ यो पंक्तिकारले सान्टाना कार्लोस,केलि कार्लसन,वान डि जस्ता गायक संगितकार गायकहरूको पनि लाईभ कन्सर्ट त्यहि हलमा हेर्ने मौका पाएको थियो।त्यहाँ नयाँ गीतहरू सुन्ने मौका पाईयो।
जुन गीतहरूमा “सिरानमा फोटो छ “नेपथ्य यो भाका काठमाडौँको उतरी भेगमा प्रचलित तामाङ सेलोमा आधारित भाका अमृत गुरुङले लाङटाङको पदयात्राका क्रममा भेटिएका तामाङ सहयोगीहरूबाट संकलन गरेका हुन्।
त्यस्तै राष्ट्रकवि माधवप्रसाद घिमिरेले बि.स .२०११ तिर रचना गरेको कविता “ऐना झ्यालको पुतली ” विक्रम सुब्बाको कविता ‘मेरो देश’ आज भन्दा १९ वर्षअघि मंसिर पूर्णिमाको मेला पारेर मनकामना मन्दिरमा त्यतिबेलाको द्वन्द्वकालीन हिंसामा आधारित ‘घटना’ एल्बमको संगीत भर्ने सिलसिलामै ‘नीति’ धुन सुन्ने हिसाबले ‘नेपथ्य’का तत्कालीन गितारवादक हरि महर्जनको साथमा यता आएको क्षण अमृत गुरूडहरू “नीति धुन”को रेकर्ड सकिएपछि सोझै मुग्लिङ निस्कने पुरानो बाटोको यात्रा शुरूगरे पछि एउटा मगर गाउँमा भेटिएका वृद्धले मध्यरातमा सुनाएका केहि गीतमध्ये एउटा थियो
‘मायाले हुन्छ सम्झना’ ।‘ ‘उँभै जाने सिमली भुवा, उँधै जाने खोला जमराजाले क्षमा राखे, जमराजाले क्षमा जोगले हुन्छ भेँट, मायाले हुन्छ सम्झना यसरी बनेको गीत त्यसैलाई आधार बनाएर बाँकी गीत तयार पारिएको हो थियो ‘जोगले हुन्छ भेट’, गुरूङ भाकामा रहेको ‘नासै छ्यावा’ संकटकाल सकिएलगत्तै मुलुकको अवस्था बुझ्न निस्केको बेला यो गीत गायक अमृत गुरुङ आफ्नो ‘साथी चित्र पुनसँग गुल्मीको पूर्तिघाटबाट बर्याङको उकालो चढ्दै तोलागढ जाने सिलसिलामा बाग्लुङको रामखानी, धुसा र सिग्दी भन्ने स्थानका मगर समूदायबाट यसलाई संकलन गरिएको गीत हो।यस लगायत “मेरो देश”र “ऐना झ्याल”एल्बमका गीतहरू सुन्ने मौका मिल्यो। केहि अन्तराष्ट्रिय चर्चित गायक तथा संगितकारको कन्सर्ट हेर्न पाएको मेरो लागी नेपथ्य ब्याण्डको प्रस्तुति लाग्छ अन्तराष्ट्रिय ब्याण्डको भन्दा कम थिएन।कुनै जमनामा पोखरा कबि तिर्थ श्रेष्ठ पर्वतको ग्यादी पुगेर त्यहाँ भेटिएकी बृद्द महिलासग भलाकुसरी गरेपछि “आमा”कविता लेखेको थिए।कालन्तरमा नेपथ्यले यो कवितालाई गीतको रूप दिएर गाएको पनि छ।जुन गीतका केहि शब्द यस्ता छन।
“आमा हुन साह्रै असजिलो छ
पहाड जस्तो
उचाइमा पुगेर मैदान भैदिनु पर्ने
मैदानमा पुगेर उकालो भैदिनु पर्ने”
नेपथ्य ब्याण्ड नेपाली संगीतमा अत्यन्त उर्बर र जीवन्त भएर टिकिराखेको लाग्छ। नेपथ्य एउटा प्लेटफर्म हो, रेलको प्लेटफर्म। जहाँ स्टेसनपिच्छे कोही ओर्लिन्छ, कोही चढ्छ, फेरि ओर्लिन्छ।यसरी आईरहेको नेपथ्यको स्थापना देखि हाल सम्म रहिरहेका गायक ,संगीतकार तथा गीत संकलक अमृत गुरूड ब्याण्डको “आमा “हुन् ।नेपथ्य कुनै बेला पोखराको मात्रै ब्याण्डको रुपमा परिचित थियो तर अहिले नेपाली संगीतकै धरोहर बनेको छ।
विश्वका ख्याती प्राप्त गायक संगीत संगीतकारले कन्सर्ट दिईरहेका ठाँउमा उभिएर इतिहास बनाउदै कन्सर्ट दिईरहेदा, यो अन्तराष्ट्रीय स्तरकै ब्याण्डको रूपमा परिचित हुदैछ।फेरि यहि अगष्ट ८ बेलायतको ओटु एकेडमी विक्सटनमा कन्सर्ट दिदैछ।
त्यहाँ बेलायत गोर्खाको २०० बर्षको सम्बन्धलाई समर्पित गर्दै आउदो नयाँ एल्बलको नयाँ गीत “नैनाताल” जुन लाहुरे संस्कृतिमा आधारित करिब ४० बर्ष अघि संकलन गरिएको गीत पनि प्रस्तुत हुदैछ। अन्त्यमा यो कन्सर्टको सफलताको शुभ कामना।