– सुवास चापागाईं
‘अब के गर्ने? जागिर त उस्तै हो! उड्ने त होलानी!’ स्नातक को अध्ययन सकिनै लाग्दा आजकल यस्तै यस्तै चियागफ हुने गर्छ साथिहरुको बिचमा |
अनि यसो सोच्दा लाग्छ कठै हामी युवा! कति बिबश छौं हामी! जस्तै मै हु भन्नेको पनि देशमै बसेर केहि गर्छु केहि बन्छु भन्नसक्ने अवस्था छैन | मनमा इच्छाशक्ति, पाखुरामा बल भएर मात्र केहि नहुनेरैछ! जता हेर्यो त्येतै अस्तब्यस्तता छ | अवसरहरु शुन्य छन्! झन् अलि अलि पढेर बुझेकालाई त दिक्दार लाग्दो हो आफ्नै हालत देखेर | सर्टिफिकेट हातमा छ | दाजुभाइ हरु काठको बाकसमा फर्केकै छन्, तैपनि लाचार छन् युवाहरु आफ्नो पासिना रगत मुग्लानलाई बन्दकी बुझाउन !
हुन त हामीले बालक देखि किशोर हुँदै जवानिसम्म आइपुग्दा धेरै कुरा देखिसक्यौ, भोगिसक्यौ | रेडियोले यति जना मरे उति जना हताहत भए भनेको सुन्दा सुन्दै हाम्रो बालापन सकियो | धेरै दिदीहरुको चुरा फुटेको देखियो, धेरै रातहरुमा ‘नाइट भिजन’ को आवाज सुनियो! ड्रेस लाएर स्कुल जाने बेलामा ‘आज बन्द अरे’ भनेको सुनेर कतिपटक अबोध्र खुशी मनाइयो | बिस्तारै उमेरको उकालो लाग्दै गर्दा हत्याकाण्ड पनि देखियो अनि जन-आन्दोलन पनि! गरिबीले अश्त्र उचालेको देखियो, भ्रस्टाचारले श्रीपेच पहिरेको पनि देखियो |
हाम्रा अंकलजीहरुका लामा लामा भासण सुनियो, तालि बजाइयो; सिंगापुर देखि स्विटजर्ल्याण्ड सम्मका सपना बुनियो | यो वाद र उ पन्थ को बिचमै हाम्रा सपना चाहिँ एक एक गर्दै तुहिन थाले | उता अंकलहरु चिल्ला गाडीमा सरर कुद्न थाले, अनि हाम्रो भविष्यको मोल पाँचतारे होटेलमा गरिन थालियो |
हामी हुर्केर जवान भयौं–झगडै झगडाको बीचमा! युद्ध देखि आन्दोलन, सडक देखी सदन| कतै गोलि चल्यो, कतै धुवाँ उड्यो; कहिले टायर बले भने कहिले कुर्सी -टेबुल भाँचिए! उता अफुसँगै एसएलसी दिएका धेरैजसो साथीहरुले दुबई , कतारबाट फेसबुकमा आफ्नो स्टाटस अपडेट गर्न थाले| जुम्लाका स्याउ कुहिदै गरे, बर्खामा गाउँ पुरिदैं गरे, जो मुनि थिए झन् मुनि दबिए, उही दुइ-चारजना टाठाँबाठाँ अंकलहरु चाहीं आफ्नो भुड़ी दिन दुगुना रात चौगुना बढाउँदै गए|
हामी स्कुल, कलेज गर्दै विश्वबिद्यालयमा पढ्ने भयौं , दुइचार कुरा बुझ्ने भयौं| हाम्रा प्रमाणपत्रको खात बढ्यो भलै तिनको मूल्य लगभग शुन्य नै किन नहोस्| मोटा-मोटा किताबमा पढ्यौं कि अमेरिकामा यो अनुसन्धान भयो, यूरोपले यस्तो चमत्कार गर्यो! अनि धिक्कार्न थाल्यौं आफैलाई ‘हरे! कस्तो मुलुकमा जन्मिएछ !’ पासपोर्ट को फारम भर्न लाइन लाग्दै गरेको एउटा युवकको नजरबाट हेर्ने हो भने यो कुरालाई बुझ्न कत्ति गाह्रो छैन|
यत्तिका ब्यहोरेको हाम्रो पुस्तालाई यहि बर्ष भूकम्प ले पनि आफ्नो परिचय दिएर गयो| नेपाल आमा भर्खरै युद्धपछि संक्रमणको घाउ सुकाउदै थिइन् ,उनको छातीमा अर्को चिरा पर्यो|
प्रकृतिले पनि बेला बेला झक्झकाउने गर्छ हामीलाई, सायद आजसम्म कसैले उसको पाठ नसिकिदिएर होला| आमाको पिडा नबुझ्नुको श्राप होला |बेला बेला कोशी र सुनकोशीको बाढी देख्दा लाग्छ सायद हिमालभित्र लुकेका आमाका आँखाले आँशु थाम्न सकिरहेका छैनन्! इतिहास साक्षी छ, समय ले अग्निपरीक्षा लिन खोज्दैछ हाम्रो पुस्ताको!
संसार कुदिरहेछ, तर हाम्रा खुट्टा बाँधिएका छन् | मानौं दशकौ दखि हामी चुपचाप, मस्त निदाइरहेका छौं, अनि मिथ्या क्रान्तिको सपनामा भुलिरहेछौं| हाम्रो स्वास्थ्य कमिसनको बिरामी छ, हाम्रो शिक्षा नातावाद ले ग्रसित| राष्ट्रियतालाइ अन्योलताले जितेको छ, स्वच्छ प्रतिस्पर्धा भनसुन सँग डराएको छ | हामीलाई बिबेकले धेरै पहिलै अलविदा भनिसक्यो, नैतिकता हाम्रो आफ्नो कहिल्यै हुने सकेन|
त्यसैले त हाम्रा नदीहरु दिनदहाड बिक्रि हुन्छन अनि एउटा फोनको भरमै रातारात जंगल मासिन्छन्| भूकम्पले घर भत्केकाको त्रिपाल लगेर गोदाममा लुकाइन्छ, गुण्डाहरुलाई भेट्न जेल धाइन्छ| हामी देख्छौं अनि नदेखेझैं गर्छौं, बरु राति भट्टीमा ट्वाक लाएर टाउकेहरुलाई गालि गर्दै बाह्र बजाउँर्छौ!
हुन त अरु के नै उपाय छ र हामीसँग? हामीलाई सिकाइएकै यस्तै! हाम्रा घरहरु भत्केका छन्, हामीहरु चियापसल मा लुडो खेल्दै विदेशीको सहयोग कुर्दैछौँ! तर अब कुर्दा कुर्दै समय घर्केला भन्ने पिर छ | इतिहासले धिक्कार्ला भन्ने पिर छ | माटोको श्राप लाग्ला भन्ने पिर छ | हाम्रा छोराछोरी पनि हामीजस्तै बिदेशका सपना बुन्न बाध्य होलान् भन्ने पिर छ |
हामी पछाडिका पुस्ताले पनि हामीलाई सम्झिदै गालि गर्लान् भन्ने पिर छ | अवस्था चिन्तापूर्ण छ, तर चिन्ता भन्दापनि चिन्तन को खाँचो छ | धेरै भो देश बिरामी भएको; देशको पिडा बुझ्नुपर्नेछ, मलम पट्टि लगाउनुपर्ने छ | लोटिन्छ, तर उठेर हिंड्नैपर्ने छ |
देशको गर्व भन्दा पनि देशलाई कर्म गर्नुपर्ने बेला आएको छ |
हामीसँग केहि कुरा को कमि छ भने त्यो हो एउटा दृढ संकल्प को | हामीले हाम्रा अग्रज भनौदाहरुका झैँ आफ्नै आत्मालाई बारबार नढातिदिए पुग्छ, बस् | हामी सम्पदाका धनि छौं, हामीसँग थुप्रा स्रोत छन्| हामीले अठोट मात्र गरे पुग्छ, अबदेखि महाकालीको पानी यसै खेर फाल्नेछैनौं भनेर अनि सधैं दक्षिण र पश्चिमको मुख ताक्ने छैनौं भनेर| हामीसँग तराईको भकारी छ भने हिमालको आड| हामी तयार भए मात्र पुग्छ, हाम्रा पाँचौले र यार्चागुम्बा अमृत हुन् अनि हाम्रा रारा र मनाङ् स्वर्ग |
हामी भिन्न अबश्य बस्छौ , तर विभाजित हैनौं | हाम्रा भाषा छुट्टै होलान् , तर आवाज एक हो | कुनै सिमानाले हाम्रो भातृत्वमा भाँजो हाल्न सक्ने छैनन् | हाम्रो राष्ट्रिय एकतालाई कसैका बोलीले तोड्न नसक्ने गरि जोड्नु नै हाम्रो मुख्य कर्तब्य हो|
जे जस्तो भएपनि समयले थोपरेको जिम्मेवारीबाट पन्छिनु भनेको कातरपन हो| हाम्रो पुस्ताका काँधमा पनि यस्तै अवसर र चुनौती दुबैले कोचिएको जिम्मेवारीको पोको अडिएको छ| यो पोको बोकेर हामीले बिकासको उकालो चढ्नु छ | कसरि चढ्ने हाम्रै कुरा हो; सफल भए इतिहासले सलाम गर्ला |
लेखक काठमाडौँ विश्वबिद्यालयमा स्नातक तह अन्तिम बर्ष-बायोटेक्नोलोजीमा अध्ययन गरिरहेका छन्।