बसन्त रानाभाट
बार्सिलोना/
स्याउले गाबिस -९ भेडाबारे सिन्धुपाल्चोक स्थायी घर भई एक दशक देखि स्पेनमा बसोबास गर्दै आएका ३० बर्षिय अशोक नेपाल भूकम्प गएको केहि दिनमा नै घर फर्किए। बैशाख १२ गतेको बिनाशकारी महाभूकम्पबाट उनको घरमात्र हैन गाउँ लगायत पुरा जिल्ला नै नराम्रो सँग प्रभावित भयो। करिब १ हप्ता सम्म परिबारसँग सम्पर्क बिहिन हुँदा उनको मनमा सयौ रेक्टर स्केलका भूकम्पहरु गई रहे।
पछि सम्पर्क हुँदा बुबा आमा भाईहरु सकुशल रहेको खबर मिले पनि ४२ बर्षिय आफ्नै काकी र मामालाई गुमाएँको खबर पाएँ। उनले आफ्नै घर पछाडी कि २० बर्षिय छिमेकी बहिनी अनिता भण्डारीलाई पनि गुमाउँन पुगे। भूकम्प गए पछि घरको बार्तलीबाट भाग्दै भाग्दै आँगनमा आईपुगेकी अनिता आखिर,आफ्नै परिबारका अगाडी घरले पुरिएर ज्यान गुमाईन्।
तस्बिर:- भूकम्पले ज्यान गुमाएकी अशोक कि काकी
भूकम्प पछि १ महिना सम्म गाउँ बसेर पुन: स्पेन फर्किएका अशोकले नेपालीनेपाली डटकसँग बिशेष कुराकानी गर्दै मृतक बनेकी काकीले साढे २ बर्षकि आफ्नी नातिनीलाई बचाएको खुलासा गरे। उनले भने ” नातिनीलाई कपडा फेर्न लाग्नु भएको रहेछ ,भूकम्प गएँ पछि भाग्नु भएनछ,बरु टाउको निहुँराएर नानिलाई काखमा च्यापेर बस्नु भएँकि काकीलाई दलिनले थिचेछ।
उद्दार गर्ने भाई भतिज भन्छन् बच्चीलाई सामन्य चोट पनि लागेन, काकीले हामीलाई छोडेर जानु त भयो तर नातिनीलाई भने बचाउँनु भयो।”
खाद्यान्न / झुल बितरण
श्रीमती निर्मला सँगै गाउँ फर्केका अशोकलाई देखेर परिबार मात्र हैन सारा गाउँले नै खुशी भएँ। त्यो बेला सम्म प्रत्येक घर परिबारलाई गाबिसबाट बितरण भएको १५ केजी चामल बाहेक अन्य खाद्यान्न नपुगेकोले पहिले यसलाई नै प्राथमिकता दिएको उनि बताउँछन्।
साथी भाईहरुको सहयोगले करिब ३ लाख रुपैयाँ बराबरको खाद्यान्न जोहो गर्यौ, १८५ बोरा चामाल,नुन तेल मिलाएर बाड्यौ। मोरङबाट मात्र ७० बोरा चामल राहत आएको रहेछ, आफ्नो गाँस कटाएर पठाएका चामलका बोराहरूमा फोन नम्बर, नाम ठेगाना समेत लेखेर पठाउनु भएको रहेछ। निकै खुशी हुँदै उनले गाउँलेको तर्फबाट सहयोगी मनहरुलाई धन्यबाद ब्यक्त गरे।
अशोक भन्छन्, “बर्खा शुरु हुन लागेको समय,खुल्ला ठाउँ,त्यस माथि मकै बारीको बाँस, दिनभरी झिँगाले हैरान रात परे पछि लामखुट्टेको बिगबिगी त्यसैले काठमाडौ पुगेर झुल किन्ने निर्णय गरे।
तस्बिर:- झुल बितरण गर्दै अशोक ( पहेलो टिसर्टमा )
बार्सिलोना निबासी स्पेनिस साथी पाब्लोले गरेको ५ सय युरो सहयोग र बाँकी आफ्नै खर्चमा ३०० थान झुल किनेर गाउँ फर्किए।” पाँच सदस्य घर परिबार बराबर एक वटा झुलको दरले बितरण गरेको उनि बताउँछन्।
पिडितलाई राहत बाड्ने हैन,अहिले देश नै पिडित छ, को सद्दे,को पिडित ? अहिले बाँडीचुडी खाने र बस्ने बेला हो अशोकले भने। उनले गाउँमा सोलार लिएर गए पछि धेरैले मोबाईल चार्ज गर्न पाएको र आफन्तहरुलाई सम्पर्क गर्न सजिलो भएको बताए
बाबु आमा गाउँ छोड्न मान्नु भएँन
दोस्रो पटक गएको ७.३ रेक्टरको भूकम्पलाई सिन्धुपाल्चोकको आफ्नै गाउँमा परिबार सँगै बसेर सामना गरेका अशोकले परिबारलाई केहि दिन चितवन तिर बस्न आग्रह गरे। “हामीलाई त लिएर जालास् यी गाउँलेलाई पनि सँगै लिएर जान्छस् ?” भन्दै बाबाले उल्टो प्रश्न गरे पछि बोल्नलाई आँफू सँग कुनै शब्द नभेटीएको भावाना पोखे।
तस्बिर:- भत्केको घर
आफ्नो जन्म थलो पुर्खा देखिको सम्झना चटक्कै बिर्सन भन्दा पनि दुखको सामना गरेर अस्थायी बसोबास निर्माण तिर लाग्न बुबाले प्रेरित गरेको बताउँदै टहरा बनाउन जुटेको सम्झना गर्छन्। भत्केको घरलाई जति खोतल्यो उति नै सामान निस्कन्थे, ति सँगै जोडिएका पुराना याद र सम्झनाहरुले आँफु भाबबिहोल बनेको पनि सुनाएँ।
मैले त टहरा बनाएर फर्किए, अब पालो तपाईको
भूकम्पले सबैको मन चुडिएको छ मन भत्केको छ ,तर यो बेला भत्केको मनलाई जोड्ने बेला हो,भत्केका घरलाई बनाउने बेला हो। बिदेशमा काम गरिरहनु भएका तपाईहरुलाई सबै छोडेर देश बनाउँन घर फर्कनु नै त भन्दिन तर पनि जति सक्दो छिटो घर पुग्नुहोला भन्दै अशोक भन्छन्,” सकिन्छ ३ महिना,त्यो पनि नभए २ वा १ महिना,अझै नमिले २० दिन १० दिन वा १ हप्ता नै किन नहोस् तर यो बेला तपाईको जरुरत छ कृपया घर फर्कनुहोस्।
मैले पनि छुट्टीको लागि आग्रह गरे, अरु बेला भन्दा झन् यो समयमा बिदा पाउँन सजिलो भयो। अहिले हाम्रो पिडा सबैले बुझेका छन्। आँट गर्नुहोस् घर फर्कने बाताबरण मिल्छ। कुनै बेला सयौ युवा बस्ने मेरो गाउँमा अहिले मुस्किलले ७ -८ जना जम्मा भयौ,हामीले जति सक्दो टहरा बनायौ।
तस्बिर: भूकम्प अगाडिको गाउँ
कम्तिमा गाउँले बर्खा कटाउँछ भन्ने आशा जागेको छ । अशोकले भने,” यो बेला अरुले देला र खाउँला भन्ने रहेनछ ,प्रभावित ठाउँबाट २-४ युबा केहि दिनको लागि घर फर्कने हो भने पनि तपाईको परिबारले मात्र हैन सिङ्गो गाउँले नै राहात पाउँने छ ।
अन्त्यमा विनम्रताका साथ अशोकले नेपालीनेपाली डटकम मार्फत प्रबासमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरे, “मैले त टहरा बनाएर पुन: काममा फर्किए,अब पालो तपाईको।”