एनआरएन युरोपियन बैठक डेनमार्कमा कि, सिन्धुपाल्चोक वा गोरखामा ?


– वसन्त रानाभाट/प्रकाश ढकाल

गत बर्ष मे महिनाको अन्तिम तिर आईपुग्दा बार्सिलोना खुबै तातेको थियो। सबै हतारमा देखिन्थे,भ्याई नभ्याई थियो,आ -आफ्नो जिम्मेबारीलाई बहन गर्न सबै तत्पर देखिन्थे। कारण एउटै थियो गैर आबासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलन ।

राष्ट्रिय समन्वय परिषद् स्पेनले बार्सिलोनामा जुन ७ र ८ तारिकमा आयोजना गरेको सम्मेलन चहलपहल हुँदै बिबिध निर्णयका साथ समयमा नै सम्पन्न भयो। सम्भवत यस अघिका अन्य ६ बटा सम्मेलनहरु पनि यसै गरि सकिए।

अहिले पनि समय उस्तै छ तर अबस्था धेरै नै फरक, मे महिनाको अन्त्य तिर आई पुग्दा, सम्मेलनको मिति धेरै नजिकिएको छ। आगामी जुन २० र २१ मा डेनमार्कको कोपेनहेगनमा तय गरिएको सम्मेलन आफैमा अन्योल छ। कारण एउटै छ “देशमा गएको बिनाशकारी महाभूकम्प।” एक महिना बिति सक्दा पनि पटक पटक गईरहेका पराकम्पनले सबैको मनलाई हल्लाई रहेको छ।

अझ त्यस माथि हजारौलाई गुमाउनु पर्दाको पिडा,हजारौ घाईतेहरु, लाखौ घरबार बिहिन,यिनै कारुणिक र मार्मिक पिडालाई सहनको लागि देश तथा विदेशमा दुखलाई शक्तिमा बदल्ने कोशिस जारी छ।

बैशाख १२ गतेको भूकम्प पछि गैर आबासीयहरुले खेलेको भूमिकालाई चौतर्फी प्रशंसा गरिएका पनि छन्। देशमा बिपत पर्दा प्रबासबाट दाजुभाई दिदिबहिनीहरु घर फर्केर दुख पिडा बेदनालाई सँगै बाँड्न सक्नु आँफैमा स्वागत योग्य पनि छ। भूकम्पले अति प्रभावित भएका गोर्खा, लम्जुङ, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली र सोलुखुम्बु गरी १३ जिल्लाका करिव १७ हजार परिवारलाई राहत वितरण गरेको संघले आँकडा सार्बजनिक गरेको छ

। सोहि आँकडामा बताईए अनुसार अनुमानित करिव ६८ हजार भूकम्पपीडित प्रत्यक्ष लाभान्वित भएको पनि उल्लेख गरेको छ। उसो त प्रभावित बिभिन्न जिल्लाहरुमा गैरआवासीय नेपाली डाक्टर, नर्स लगायतका स्वयंसेवी परिचालित २६ वटा मेडिकल क्याम्प पनि सम्पन्न भएँ।

अब बुझ्न र सम्झन पर्ने के पनि छ भने गैर आबासीयहरुले भूकम्प पिडितहरुलाई राहत मात्र बाँडेका छैनन् उनीहरुलाई पुनर्निर्माण र पुनर्वासमा लागि भन्दै १ हजार घर टहरा बनाउने आश्वासन पनि बाँडेका छन्। पहिलो चरणको कार्य सफलता पुर्बक सम्मन्न भएँ पनि दोस्रो चरणमा गरिने कार्य आँफैमा जिम्मेबारी र महत्वपूर्ण छ।

तसर्थ अबको समय वा केहि दिनहरु या महिना, पुनर्निर्माण र पुनर्वासका लागि खर्चने समय हो। गैर आबासीयहरुको उदार मनबाट संकलित राहतलाई आँफै पुगेर बाँडदा बिश्वास जितेको मनलाई अब घर टहराका बनाउँन श्रमदान तर्फ किन केन्द्रित नगर्ने ? यो समय, योजनालाई अझै फराकिलो बनाई तत्परता देखाउने समय हो।

१० हजार घर परिबारलाई राहत बाँड्ने योजना लिएर देश पसेका गैर आबासीयहरुले १७ हजार परिबारलाई राहत बितरण गर्न सक्छन् भने १ हजार घर टहरा बनाउने वचन दिए पनि २, ३ हजार तँ बनाउँलान् नि भन्ने अपेक्षा चौतर्फी छ । अहिलेको समय,जनमानसले राखेको अपेक्षालाई पुरा गर्न केन्द्रित गर्ने समय हो।

गैर आबासीयको काँधमा दिन प्रति दिन थप जिम्मेबारी बढ्दै गएका छन् । देशको विपत्तिमा राहत बितरण गर्दै आफैँ जिल्ला जिल्लामा पुगेर खटिएका गैर आबासीयहरु। पाल मुनि बसेर बर्खालाई कसरी टार्ने होला भन्दै चिन्तित पिडितहरुलाई घर टहरा बनाईदिने जिम्मेबारी बोकेका गैर आबासीयहरु। यो बेला डेनमार्कको हिल्टन होटलको छाना मुनि बसेर कसरी सम्मेलन गर्न सक्छन् ?

यो बेला तँ गोरखा, सिन्धुपाल्चोक लगायतका अन्य भूकम्प पिडित जिल्लाहरुमा पुनर्निर्माण र पुनर्वासको बारेमा थप छलफल र निर्णय हुन जरुरी छ। जसका लागि साहेद गैर आबासीयहरुको लागि अहिलेको विषम परीस्थितिमा सम्मेलन आँफैमा महत्वपूर्ण छ। ताकि पूर्ण रुपमा पुनर्निर्माण र पुनर्वासमा बारेमा छलफल गर्दै सम्मेलन स्थलबाट अझ बढी रकम जुटाउँन सकियोस्।

तर यसका लागि अहिले कोपेनहेगन उपयुक्त स्थल हैन, गोरखा, सिन्धुपाल्चोक वा अन्य बढी प्रभावित क्षेत्र उपयुक्त हो। जहाँ घर टहरा बनाउँन आफैले शुरुवात पनि गर्न सकियोस्। यसैको लागि सम्मेलन पनि केन्द्रित होस्।

ब्यापार ब्यबसायमा लगाएको हाम्रो लगाव,युरोपमा बसेर होटल र रेष्टुरामा जुठाँ भाँडा मस्काएका हाम्रा बलिया हातहरु,कृषिमा अथक मेहेनत गर्दै चुहाएका हाम्रा पसिनाहरुलाई अबको केहि दिन पुनर्निर्माण र पुनर्वासमा केन्द्रित गराउँनु पर्छ। राष्ट्रिय समन्वय परिषद् डेनमार्ककै आयोजनामा देशका लागि पसिना चुहाउँने सम्मेलन बनाउँन यसलाई गोर्खा वा सिन्धुपाल्चोक वा अन्य कुनै प्रभावित जिल्ला तिर सार्न उचित देखिन्छ।

कोपेनहेगनमा २ सय गैर आबासीयहरु सहभागी भएको भन्दा गोर्खा वा सिन्धुपाल्चोकमा ५० जनाले सहभागिता जनाए पनि सम्मेलन ऎतिहासिक बन्ने छ। सयौ पीडितहरुको अनुहारका अगाडि, पालको ओतमा बसेर हुने सम्मेलनले बास्तबिक पिडितहरुको मर्मलाई नजिक वाट बुझ्ने छ।

राहत अभियानमा देश पुगिसकेका गैर आबासीयहरु भन्दा अब फरक अनुहारहरुले पनि विपत्तिको घडीमा देशलाई समय निकाल्नु पर्छ। बैधानिक रुपमा रहेका,घर फर्कन सक्ने युवाहरुले,गर्दै आएको काम, अध्ययन वा व्यवसायबाट कम्तिमा १ हप्ताका लागि भए पनि समय निकालेर पुनर्निर्माण र पुनर्वासमा समय खर्चनु पर्छ। युरोपियन क्षेत्रले बैठक सार्ने कि ? स्थगित गर्ने कि भनेर अन्योलमा रहनु भन्दा केन्द्र र आयोजक राष्ट्रसँग समन्वय गरि युवाहरुले पसिना बगाउँने सम्मेलन बनाउँन सक्नु पर्छ।

भूकम्प गएको केहि घण्टामा नै देश फर्कने निर्णय गरेर १७ हजार परिबारलाई राहत बितरण गरिसकेका गैर आबासीयहरुले अब असम्भव केहि छैन भन्ने साबित गरिसकेका छन्। फेरि त्यस्तै मन,ईच्छा र चाहाना राखे गैर आबासीयहरुलाई कोपेनहेंगनको यात्रा भन्दा गोर्खा वा सिन्धुपाल्चोको यात्रा नजिक लाग्न सक्छ।

कतिपयले भन्दै आएका पनि छन् गैर आवासीयहरु विदेशमा बसेर ठुला ठुला गफ गर्छन् तर देशका लागि केहि गर्दैनन्, घर फर्कदैनन्। फेरि कतिपयले यसो पनि भन्दै आएका छन् कि, गैर आबासीयहरु पाँच तारे होटलमा बसेर मात्र सभा सम्मेलन र सेमिनार गर्छन्। साहेद पहिलो प्रश्नको जवाफ १७ हजार घरपरिबारका करिब ६८ हजार भूकम्प पिडितहरुले दिने छन्।

तर दोश्रो जवाफ गैर आबासीयहरु आफ्नैले दिने बेला आएको छ। गोरखा, सिन्धुपाल्चोक वा अन्य बढी प्रभावित क्षेत्रमा पुगी पाल मुनि बसेर गैर आबासीय नेपाली संघको आठौ युरोपियन क्षेत्रीय बैठकलाई सम्पन्न गर्दा, साहेद यस्ता प्रश्नहरु फेरि फेरि दोहोरिने थिएनन् कि ?

तपाईको प्रतिक्रिया