पहिरोले कालिगण्डकी पूरै थुनियो, सदरमुकाम बेनीमा भागाभाग


काठमाडौं । म्याग्दीको राम्चे गाविस ९ बैसरीमा पहिरो जाँदा कालीगण्डकी नदी थुनिएको छ । नदी थुनिएपछि सदरमुकाम बेनीसहित नदीकिनार आसपासका बस्ती जोखिममा परेका छन् । स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान र सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

पहिरोका कारण भगवती गाविस २ को बस्ती पुरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले  जानकारी दिए । मानवीय क्षति भने नभएको उनले बताए । काफलडाँडाको चट्टानी पहाड झरेर नदीको ९५ प्रतिशत बहाव बन्द भएको स्थानीयको भनाइ छ ।आइतबार विहान २ बजेतिर नदी थुनिएको अनुमान गरिएको छ ।

घतान, पिप्लेको घुमाउने ताल, भगवती, बेनीबजार, गलेश्वर, तातोपानी, तित्ल्याङ, बेगखोला, महभिर, घुरुङ तातोपानी, पोखरेबगर, घारखोलालगायतका स्थान जोखिममा छन् । बेनीबजारदेखि दक्षिणतर्फ खानियाँघाट, फर्चे, मालढुंगालगायत स्थानका बस्ती पनि जोखिममा छन् । जोखिमयुक्त बस्तीका बासिन्दा अग्लो स्थानतर्फ लागेका छन् । कालीगण्डकी नदी थुनिएको खबरपाएपछि सदरमुकाममा भागाभाग भएको थियो ।

एक्कासी बाँध फुटेमा म्याग्दी आसपासका जिल्लाका बासिन्दासमेत जोखिममा पर्ने अनुमान गरिएको छ । कालीगण्डकी नदी थुनिएपछि स्याङ्जा गुल्मी र पर्वत लगायतका बस्तीहरु जोखिममा रहेका छन् ।