नेपाली बनेर रकम जुटाऔ, नेपालीको लागि बाँड्न सकौं


– वसन्त रानाभाट 

बैशाख १२ गते देशमा महाभूकम्पको प्रलयपछि प्रवासमा राहत संकलनको कार्यले तिब्रता पाएको छ। देश रोईरहेकोबेला जस्तोसुकै कठिन घडीमा पनि प्रवासी नेपालीहरु सहयोग गर्दै आएका छन्। तर यसपटकको सहयोग अलि फरक र बृहत हुन जरुरी ठान्दै तिब्रता दिए ।

गैरआवासीय नेपाली संघ लगायत बिभिन्न जातीय राजनीतिक क्षेत्रीय संघ संगठनहरुले आ-आफ्नो तरिकाबाट रकम संकलन गरेका छन्। तर कतिपय मुलुकहरुमा भने संघ लगायत बिभिन्न संगठनहरु एकैसाथ मिलेर एकमुष्ठ रकम जुटाएका छन्। तर युरोपको हकमा यस्तो प्राय: कम नै छ ।

राहतका लागि भन्दै संकलन गरिएको रकम सही समयमा पुगेर सदुपयोग हुन सक्यो कि सकेन ? पीडितले समयमा राहत पाए कि पाएनन् ? यी र यस्तै प्रश्नहरुका जवाफ महत्वपूर्ण छन्।

आफ्नो परिवारका सदस्यहरु गुमाउँदा,आँफन्त गुमाउँदा, लाखौ नेपालीहरुको आँशु बगिरहदाँ, बर्षौदेखि विदेशमा पसिना चुहाई बनाएका घरहरु भत्कदाँ हजारौ घरबारबिहिन भएर सडकमा आईपुग्दा कुन नेपालीको मन नरोएको होला र ? यस्तो अवस्थामा प्रवासमा रहेका हरेक नेपालीहरुले दिल खोलेर सहयोग गरिरहेका छन्।
जुनसुकै संघसस्था,संगठन मिडिया, ब्यक्तिले सहयोगका लागि आह्वान गरेर रकम जुटाए पनि यो बेला अन्य अवस्था भन्दा बढी रकम संकलन भएको देखिन्छ । तर अहिलेको यो परिस्थिति भनेको यसले यति रकम जुटायो वा यति रकम पठायो वा संकलन गरिरहेको छ आदिईत्यादी भन्नुमा नै सीमित रहने अवस्था पक्कै पनि होईन।

भूकम्प गएको २० दिन बितिसक्दा पनि संकलन गरेको रकमलाई प्रयोग गर्न सक्यौं कि सकेनौं ? जब जरुरी भएको बेला सहयोग गर्न सकेनौं भने त्यो कसरी राहत हुन सक्ला र ? राहतका नाममा रकम संकलन गरिरहेका संघसस्थाहरुले यसको जवाफ चित्त बुझ्दो रुपमा दिन र लिन सक्नु पर्छ।

एउटै देशमा रहेका फरक-फरक संगठनहरुले लाखौ रुपैयाँ संकलन गरेका छन् । सहयोगका लागि रकम जुटाउनु आँफैमा राम्रो हो तर एकमुष्ट गर्न नसक्नु नमिल्नु जस्तै हो । प्रवासी जीवन बिताईरहेका नेपालीहरुले आँफू बसेको मुलूकमा राहतको नाममा संकलन गरेको रकम एकमुष्ट गरेर एउटा बस्तीमा सहयोग गर्दा पीडितले राम्रोसँग सहयोग पाउन सक्छ।

कुनै जिल्ला,गाँउ वा बस्तीको लागि तत्कालको आधारभुत आवश्यकता (खाद्यान्न लत्ताकपडा,पाल) पुरा गरेर अस्थायी बसोबासको प्रबन्ध मिलाउन सकिन्छ।
तर एउटै देशका सहयोगीहरुले फरक-फरक ठाँउमा सहयोगलाई विकेन्द्रीकरण गरेर पठाउँदा कुनै बस्ती वा गाँउलाई पूर्ण रुपमा सम्बोधन गर्न सकिदैन। प्रभावित गाँउमा एउटा बोरा चामल,लत्ताकपडा र पाल छोड्दैमा मात्र सही सम्बोधन होईन।
एउटै मुलुकमा रहेका प्रवासीहरु एकजुट बनेर एकमुष्ट रकम पठाउन सकियो भने, कम्तिमा राहत लिएर पुगिसकेको ठाउँमा आधारभूत आवश्यकता सहित अस्थायी बसोबासको पनि प्रबन्ध मिलाउन सकिन्थ्यो होला । देशको बिपत्तिमा उठाएको रकमलाई मिलाएर पठाउन नसक्नु भनेको एकजुट बन्न नसक्नु हो।

अहिलेको विपत्ति काँग्रेस,एमाले,माओबादी, वा क्षेत्री, बाहुन, गुरुङ, मगर, शेर्पा वा पूर्व,पश्चिमलाई परेको विपत्ति होइन, नेपाल र नेपालीलाई परेको विपत्ति हो। त्यसैले नेपाली बनेर रकम जुटाऔ, नेपालीको लागि बाँड्न सकौं।

भूकम्प गएको पहिलो हप्तासम्म देशका ठूला दलका नेता कार्यकर्ताहरु उद्दारका लागि किन खटिएनन् ? किन स्वयंसेवक बनाई परिचालन गर्न सकेनन् ? अहिले हात हातमा मोबाईल लिएर सेल्फी र भिडियो खिचे जस्तै गरी, त्यतिबेला कुटो कोदालो र बेल्चा (सावेल) लिएर निस्केको भए धेरै बालबालिका, गर्भवती र बृद्धबृद्धालाई बचाउँन सकिन्थ्यो होला। तर पनि सबैको ज्यान जोखिममा रहेको बेला यस्तो किन भएँन भन्नु भन्दा पनि बिपतको बेला दलहरुले संयन्त्र बनाउन नसकेको भने स्विकार गर्नु पर्छ।

आज विदेशमा बस्ने नेपालीहरुले फेरि तिनै दलहरुको साँख जोगाउन रकम पठाउन शुरु गरिदिए र नेताहरुले पाल र चाउचाउ बाँड्दै फेसबुकमा तस्बिर राख्ने मौका पाएका छन्। यद्दपी केही नेताहरु भने स्वच्छ मनले बिपतको घडीमा शुरुवात देखि नै पीडितको बस्तीमा नपुगेका भने होईनन्।

युरोपका धेरै मुलुकहरुमा गैरआवासीय नेपाली संघ मार्फत राहत रकम पठाईरहेका छन् । संघले गरेको प्रारम्भिक राहत बितरण कार्य र पीडितहरुलाई घर निर्माण गरिदिने प्रतिबद्दताले सहयोगीहरु धेरै बिश्वस्त देखिएका छन्। तर संघ बाहेक पनि प्रबासमा रहेका राजनीतक,जातीय, क्षेत्रीय संघ संगठनले आ- आफ्नै ढंगबाट रकम जुटाएका छन्।

ब्यक्ति बिशेषले पनि नेपालमा रहेका संघ सस्था, क्लब राहत कार्यमा जुट्नेलाई सहयोग गरीरहेका छन्। सहयोग गर्नु रकम पठाउनु आँफैमा नराम्रो पक्कै होईन। फरक यत्ति हो कि सहयोग गरेको रकम एकै ठाँउमा केन्द्रित गर्न सकियो भने एउटा बस्तीले तत्कालिन राहतको साथ साथमा अस्थायी बसोबास पाउन सक्छ।

युरोपमा एउटा राम्रो उदाहरण बन्यो स्पेन। एनआरएनए, राजनीतिक,क्षेत्रीय संघ संगठन, समाजले छुट्टाछुट्टै रुपमा रकम संकलन गरे तर जम्मा एकै ठाँउमा गरे। गैरआवासीय नेपाली संघको काठमाडौस्थित खातामा रकम पठाए। सबैले नेपाली बनेर रकम जुटाए र नेपालीका लागि राहत बाँड्न चाहन्छन्। यहाँस्थित उठेको करिब ७७ लाख रुपैयाँले केही गाँउहरुलाई अस्थायी बसोबासको प्रबन्ध गर्न सकिन्छ। अब यसको जिम्मेवारी गैरआवासीय नेपाली संघले लिनु पर्छ। यो बारे सम्पूर्ण जवाफदेही संघ नै बन्नु पर्छ।

यो त आर्थिक मन्दीले छोएको देशमा उठेको रकम हो। आर्थिक स्थिति एवं आम्दानी राम्रो हुने युरोपियन देशका नेपालीहरुले सजिलै करोड रुपैयाँ संकलन गर्न सक्छन्। तर उठेको रकम कतै एनआरएनमा, कतै दलहरुको खातामा, कतै प्रधानमन्त्री राहत कोषमा, कतिपय आफैले बाँड्ने भन्दै नेपाल पुगेका छन्। रकम एकमुष्ट हुन सकेको भए अर्को नयाँ बस्ती बन्न सक्थ्यो। प्रत्येक देशमा रहेका नेपालीहरुले कम्तिमा एउटा बस्ती बनाउँन सके नयाँ नेपाल पुनर्निमाणको एउटा नयाँ शुरुवात पनि हुन सक्थ्यो।

देशमा ठूलो महाबिपत्ति आएर सबैलाई मर्माहत बनाएको महशुस हुँदा पनि हामी प्रवासमा बस्ने नेपालीहरु अझै एकजुट हुन सकेका छैनौ। आखिर सहयोग सबैले गरेका छौ, सबैको मन रोएको छ , यस्तो बेलामा मेरो पार्टीले, मेरो संगठन, मेरो समाजले हैन कि, कामना गरौ “नेपाली बनेर रकम जुटाऔ, नेपालीका लागि बाँड्न सकौ।”