काठमाण्डौ / पहिलो चरणको राहत बितरण सकिनै लाग्दा मंगलबार पुनः दोस्रोपटक ठूलो भूकम्प गएपछि गैरआवासीय नेपाली संघले राहत बितरण अभियानलाई अन्य जिल्लामा पनि विस्तार गर्ने भएको छ ।
पहिलो चरणमा ९ जिल्लाका १० हजार परिवारलाई राहत बितरण गरेको गैरआवासीय नेपाली संघले मंगलबारको भूकम्पबाट धेरै क्षति भएका जिल्लाहरुमा राहत वितरण गर्ने तयारी गर्दै छ ।
मंगलबारको भूकम्पबाट क्षति पुगेका दोलखा, सोलुखुम्बु, सिन्धुली, रामेछाप लगायतका जिल्लामा भएको क्षतिबारे विवरण संकलन भइरहेको छ ।
‘हामीले पहिलो चरणको राहत वितरण सकेर दोस्रो चरणमा घर निर्माण गर्ने तयारीमा लागि सकेका थियौं संघका अध्यष शेष घलेले भने-‘दुर्भाग्यवस फेरि मंगलबार ठूलो भूकम्प आयो, जसले गर्दा हामीले थप जिल्लामा पनि राहत वितरण गर्नुपर्ने अबस्था आयो, हामी यो बिपतमा अझै पनि राहतमा फोकस गर्ने तयारी गर्दै छौं ।’
उनका अनुसार गैरआवासीय नेपाली संघको टोली पहिलो चरणको राहत बितरणका लागि मंगलबार दोलखाको चरिकोट पुगेको थियो ।
त्यहाँको मार्गपुरामा राहत वितरण गर्दैगर्दा नयाँ भूकम्प आएपछि अहिले गैरआवासीय नेपाली संघको स्वयंसेवी टोली दोलखामै अलपत्र परेको छ । सडकमार्ग अबरुद्ध भएकाले एनआरएन स्वयंसेवी टोलीलाई उद्दार गरी काठमाण्डौ ल्याउने तयारी भइरहेको घलेले जानकारी दिएको अनलाईनखबरले जनाएको छ।