काठमाडौं/ ‘हिडेन ट्रेजर फ्यान्टा मिस नेपाल- २०१५’को ताज इभाना मानन्धरले पहिरिएकी छन् ।
काठमाडौंमा शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतिस्पर्धीलाई उछिन्दै इभानाले मिस नेपाल- २०१५ को ताज पहिरिएकी छन् । उनले १८ प्रतिस्पर्धीलाई पछि पारिन् ।
दिव्यता बैद्य फस्ट रनर अप भइन् । सेकेण्ड रनर अप मेधा कोइराला भइन् । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वर्ल्डमा सहभागी हुने अवसर पाएकी छिन् ।
विभिन्न ५ विधामा पुरस्कार जित्नेहरुलाई उत्कृष्ट १० को छनोट पश्चात नै टाइटल प्रदान गरिएको थियो ।
जसमा मिस फोटोजेनिकको उपाधी दिव्यता वैद्यको पोल्टामा गयो । यस्तै, मिस इन्टेलेक्चुअल विधामा इभाना मानन्धरले टाइटल जितिन् । मिस स्कुलर अफ द इयर टाइटलको उपाधी सुदिपा पाठक, मिस कप्लेक्सनको उपाधी निश्मा चौधरी र मिस पपलुर नुनिड लिम्बु भएका छन् ।
मिस ट्यालेन्ट विधाको उपाधी पूजा श्रेष्ठ, गस गर्ल विधाकी विजेता इभाना मानन्धर, मिस बब्ली निश्मा चौधरी, मिस फ्रेन्डसिप विधाकी विजेता सोनु थापा मगर, मिस पर्सानालिटी इभाना मानन्धर, ब्यूटी विथ त पर्पजको उपाधी रेविका क्षेत्रीले जितेका छन् ।
इभाना अमेरिकाबाट काठमाडौं आएकी प्रतिस्पर्धी
मिस नेपाल-२०१५ मा सहभागिता जनाउन अमेरिकाबाट काठमाडौं आएकी प्रतिस्पर्धी हुन् इभाना ।
अध्ययनका लागि ६ वर्षअघि अमेरिका पुगेकी भोटेबहाल, काठमाडौंकी स्थायी बासिन्दा इभाना मानन्धर ५ फिट ४ इन्च अग्ली छिन् । इभानाले अमेरिकामै मार्केटिङमा स्नातक गरेकी छिन् ।
गायन, नृत्य तथा भ्रमणमा रुचि राख्ने २३ वर्षीया इभानाले भविष्यमा कुशल इन्टरप्रेनर बन्ने लक्ष्य लिएकी छिन् । इभाना पहिलो पटक कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागी भएकी हुन् ।