अलकायदा भन्दै बम पड्काउने चेतावनी दिने दुई नेपाली अमेरिकामा पक्राउ


काठमाडौं /आफुलाई अलकायदाको सदस्य भन्दै अमेरिकाकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिने दुई नेपाली अमेरिकामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु २८ वर्षीय गुरु धिमाल र ६७ वर्षीय भगिरथ कोइराला रहेको प्रहरीलाई उदृत गर्दै स्थानीय न्यूज नेट फाइभले जनाएको छ ।

घटनाअनुसार गत शुक्रबार गुरु धिमालले अमेरिकाको इर्मेजेन्सी नम्बर ९११ मा फोन गरी आफू अलकायदाको सदस्य भएको बताएका थिए ।

‘गुरु धिमाल अलकायदाको सदस्य हुँ’ प्रहरीले सार्वजनिक गरेको फोन सम्बादमा उनले भनेका छन्, ‘हामीले ह्वाइट हाउसमा बम बिष्फोट गराउने तयारी गरिरहेका छौं ।’
बम तिमीहरुसँगै छ भनेर सोध्दा उनले आफुसँग बम नरहेपनि न्यूयोर्कमा रहेका आफ्ना साथीहरुसँग बम रहेको उनले बताएका छन् ।

उनले मे १ तारिखमा वासिङ्टनमा बम पड्काउने तयारी भइरहेको बताए । आफू ओहायो क्लिभल्याण्ड नजिकै बसमा यात्रा गरिरहेका जानकारी दिँदै उनले फोन अपरेटरलाई बस नम्बरसमेत टिपाए ।

त्यसपछि सुरक्षा निकायले उनी चढेको बस ट्रयाक गर्दै सवैतिर सर्तकताका लागि सूचना प्रवाह गरे । प्रहरीले धिमाल सवार बसमा खानतलासी गर्‍यो, तर त्यहाँ कुनै बम फेला परेन ।

आतंक फैलाएको अभियोगमा प्रहरीले धिमाल र उनका काका पर्ने भगिरथ कोइरालालाई पक्राउ गरेको छ । गत सोमबार अदालतमा पेश गरिएका उनीहरुलाई रिहाईका लागि २५ हजार डलर धरौटी माग गरिएको छ । अन्तिम सुनुवाई भने अप्रिल २१ तारिखमा हुँदैछ ।

धिमाल र कोइरालाका आफन्तहरुले भने उनीहरु यसअघि कहिले पनि त्यस्तो गतिबिधिमा लागेको आफूलाई थाहा नभएको बताएका छन् । धिमालको मानसिक अबस्थाबारे परिक्षण हुने बताइएको छ ।