बार्सिलोना /
फ्रान्स स्थित नेपाली राजदुताबासले आफुले हेर्दै आएका फ्रान्स लगायत स्पेन,पोर्चुगल र ग्रीसमा रहेका नेपालीहरुका समस्याहरु निराकरणका लागि भन्दै आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्पेन स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले सहभागिता जनाउने भएका छन्।
राहदानी तथा कन्सुलर सेबा सम्बन्धमा छलफल गर्न आगामी मार्च २९ तारिक राजदुतको निवासमा आयोजना हुने कार्यक्रममा प्रतिनिधिहरुले स्पेनका समस्याहरुलाई राजदुताबासमा राख्ने जनाएका छन्।
नेपालीनेपाली डटकमलाई पाप्त जानकारी अनुसार एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी ,नेपाली जनसम्पर्क समितीको तर्फबाट पुर्ब सह-महामन्त्री पेशल कोईराला, प्रवासी नेपाली मंचका अध्यक्ष दिनेश गुरुङ, जनप्रगतिशिल मंच स्पेनका महासचिव,गंगा प्रसाद भुषाल र तमु समाज स्पेनको तर्फबाट अध्यक्ष ज्योती गुरुङले सहभागिता जनाउदै छन्।
कार्यक्रममा सहभागी जनाउन लागेका प्रतिनिधिहरुले दुताबासमा कुनै कागजात लैजानु वा ल्याउनु परेमा सम्पर्क राख्न नेपाली समुदायलाई आहवान समेत गरेका छन्।
चारै मुलुकहरुबाट गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद तथा अन्य नेपाली संघ सस्थाहरुबाट दुई दुई जना प्रतिनिधिका दरले उपस्थित हुन दुताबासले सुचना जारी गरेको थियो।
फ्रान्सको लागि नेपाली महामहिम राजदूत अम्बिका देबी लुइँटेल पेरिस आए पछि, दुताबासले हेर्ने मुलुकका प्रतिनिधिहरुसँग पहिलो पटक संयुक्त रुपमा छलफल गर्न लागेको हो।
स्पेन,पोर्चुगल एबं ग्रीसमा रहेका नेपालीहरुलाई नयाँ राहदानी बनाउन लगायत अन्य कागजी प्रकियामा पेरिसमा डकुमेन्ट ओहोरदोहोर गर्नु पर्ने हुदा झन्झट व्योहोर्नु परेको छ।
दुताबासमा लामो समयसम्म फारमहरु रहने,नेपाल पठाउन ढिलो गरिदिने,बनेर आएका राहदानीहरु पनि समयमा नै पाप्त नहुने गुनासाहरु सुनिदै आएका छन्। राहदानी बनाउने प्रकियामा फारम भर्दा गलत भएमा वा फोटो नमिलेमा त झन् बर्ष दिन नै लाग्ने सेवाग्राहीहरुको गुनासो रहेको छ।
तर बेलाबखतमा हुने घुम्ती शिबिरहरुमा दुताबासका कर्मचारीहरुले फारम भर्दा,फोटो खिच्दा ध्यान दिनु पर्ने,यदि गलत भएर फारम बिग्रिएमा र राहदानी ढिलो बनेमा दुताबास जिम्मेबारी नहुने बताउदै आएका छन्।