बसन्त रानाभाट
बार्सिलोना /
फ्रान्स स्थित नेपाली राजदुताबासले आफुले हेर्दै आएका फ्रान्स लगायत स्पेन,पोर्चुगल र ग्रीसमा रहेका नेपालीहरुका समस्याहरु निराकरणका लागि भन्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
राहदानी तथा कन्सुलर सेबा सम्बन्धमा सुचना प्रदान गर्ने भन्दै आगामी मार्च २९ तारिक राजदुतको निवासमा कार्यक्रमको आयोजना गर्न लागेको हो।
चारै मुलुकहरुबाट गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद तथा अन्य नेपाली संघ सस्थाहरुबाट दुई दुई जना प्रतिनिधिका दरले उपस्थित हुन सुचना जारी गरेको छ।
दुताबासले मार्च २७ तारिक भित्र अन्तर्कियामा भाग लिने प्रतिनिधीहरुको नामवली पठाउन अनुरोध समेत गरेको छ।
फ्रान्सको लागि नेपाली महामहिम राजदूत अम्बिका देबी लुइँटेल पेरिस आए पछि, दुताबासले हेर्ने मुलुकका प्रतिनिधिहरुसँग पहिलो पटक संयुक्त रुपमा छलफल गर्न लागेको हो।
स्पेन,पोर्चुगल एबं ग्रीसमा रहेका नेपालीहरुलाई नयाँ राहदानी बनाउन लगायत अन्य कागजी प्रकियामा पेरिसमा डकुमेन्ट ओहोरदोहोर गर्नु पर्ने हुदा झन्झट व्योहोर्नु परेको छ।
दुताबासमा लामो समयसम्म फारमहरु रहने,नेपाल पठाउन ढिलो गरिदिने,बनेर आएका राहदानीहरु पनि समयमा नै पाप्त नहुने गुनासाहरु सुनिदै आएका छन्। राहदानी बनाउने प्रकियामा फारम भर्दा गलत भएमा वा फोटो नमिलेमा त झन् बर्ष दिन नै लाग्ने सेवाग्राहीहरुको गुनासो रहेको छ।
तर बेलाबखतमा हुने घुम्ती शिबिरहरुमा दुताबासका कर्मचारीहरुले फारम भर्दा,फोटो खिच्दा ध्यान दिनु पर्ने,यदि गलत भएर फारम बिग्रिएमा र राहदानी ढिलो बनेमा दुताबास जिम्मेबारी नहुने बताउदै आएका छन्।