एनआरएन यूके विवाद टुंगियो ,महेन्द्र कँडेललाई नेतृत्व हस्तान्तरण


लन्डन /लामो समयदेखि नेतृत्वका बिषयमा अल्झिएको एनआरएन यूके विवाद अन्त्य भएको छ । संघको शनिवार सम्पन्न विशेष साधारणसभाले महेन्द्र कँडेललाई नेतृत्व औपाचारिक रुपमा हस्तान्तरण गरेपछि विवाद अन्त्य भएको हो । कँडेललाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का महासचिव कुमार पन्तले नेतृत्व हस्तान्तरण भएको घोषणा गरे । साधारणसभामा यूवा समूहले नयाँ निर्वाचनको माग गर्दै चर्को आवाज उठाएका थिए । राष्ट्र राईको नेतृत्वमा रहको सो समूहले नयाँ निर्वाचन हुनुपर्नेमा माग जोडदार रुपले उठाएका थिए । यद्यपि उनीहरुको आवाजको सुनुवाइ भएन ।
विशेष साधारणसभाको बिट मार्दैन महासचिव पन्तले आफूले गैरआवासीय नेपाली संघको निर्देशन मान्नुबाहेक अर्को विकल्प नभएको बताए । उनले एनआरएन यूकेको अध्यक्ष कँडेल भएको घोषणा गरे । साधारणसभामा युवाहरुले उठाएमा मागलाई अन्तर्राष्ट्रिय परिषदमा पु¥याउने वचन दिए । गैरआवासीय नेपाली संघ अध्यक्ष योगन क्षेत्रीले अग्रजको अवैधानिक सोच र आर्थिक अपारदर्शिता भोग्नुपरेको आरोप उनले लगाए । आफ्नो सोचअनुसार काम गर्न नपाएको दुःख व्यक्त गर्दै उनले समाजको एकता र एनआरएन आइसीसीको निर्णयलाई मान्नुपर्ने कर्तव्यका कारण राजीनामा दिनुपरेको उल्लेख गरे ।

निवर्तमान कार्यसमितिबाट अझै पनि आर्थिक हिसाबकिताब स्पष्ट रुपमा नआएको र महेन्द्र कँडेलज्यूले बेलायतबासी हजारौं नेपालीबाट उठाएको सदस्यता शुल्कबारे पनि अस्पष्टता रहेकाले छानविन गर्न उनले आइसीसीसँग माग गरे ।

केही समयअघि गैरआवासीय नेपाली संघले पत्र पठाउँदै एनआरएन यूकेको संरक्षक परिषद् गठन गर्न र नेतृत्व हस्तान्तर गर्न निर्देशन दिएको थियो । साधारणसभाले संरक्षक परिषदलाई अनुमोदन गर्दै एनआरएन यूकेका पूर्व अध्यक्षहरु सो परिषदमा रहने निर्णय गरेको छ । सो साधारणसभाले आर्थिक छानविन समिति, निर्वाचन समिति, अनुशासन समिति गठन गरेको छ । यस अघि सभाले भक्त गुरुङको अध्यक्षतामा एनआरएन यूकेका सल्लाहाकार रहेको अध्यक्षमण्डल गठन गरेको थियो ।

साधारणसभामा एनआरएन यूकेका महासचिव योगकुमार फगामी र सचिव संगीता मरहठ्ठाले आ–आफ्नो पदबाट राजिनामा दिए । छलफल लम्बिदै गएका कारण हल खाली हुन नसेपछि प्रहरीले हस्तक्षेर गरेको थियो । कार्यक्रमको अन्त्यमा नेपाल बृटेन डक कमसँग कुरा गर्दै एनआरएन महासचिव पन्तले विशेष साधारणसभाले गरेको निर्णय स्वागतयोग्य भएको बताए । उनले एनआरएन युकेका साथीहरु आफै विवाद गर्छन् आफै मिलाउन पनि सक्षम छन भन्ने प्रमाणित भएको प्रतिक्रिया महासचिव पन्तले दिए । उनले सबै पक्षलाई मिलाएर लैजान अध्यक्ष कँडेललाई निर्देशन दिए ।

एनआरएन यूरोप संयोजक अर्जुन श्रेष्ठले एनआरएन यूकेको विवाद अन्त्य भएपछि संसारभर छरिरहेका एनआरएनमा सकरात्मक सन्देश जाने प्रतिक्रिया दिए । अध्यक्ष कँडेलले सबै पक्षलाई समेटर अघि बढ्ने वचन दिए । अल्डरसटस्थित कन्नट स्कुलमा भएको कार्यक्रमको उद्घाटन सत्रमा अगुवाले एकतामा जोड दिँदै विगत बिर्सेर एनआरएनको गरिमा बचाइ राख्न जोड दिए । आपसी तिक्ता र विवादले समाज विभाजित हुनेमा वक्ताहरुले चिन्ता व्यक्त गरे ।

उद्घाटन सत्रमा प्रमुख अतिथि कार्यबहाक राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथि एनआरएनए आइसीसी महासचिव कुमार पन्त, विशेष अतिथी एनआरएनए युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, आइसीसी संरक्षक क्या. रि. हितमान गुरुङ, एनआरएनए यूके संरक्षक डमर घले, संरक्षक सूर्य गुरुङ, आइसीसी सल्लाहकारहरु डा. हेमराज शर्मा, विश्वआदर्श पण्डित, एनआरएनए यूके आइसीसी सदस्य थर्क सेन, आदिवासी जनजाति महासंघ, बेलायत अध्यक्ष श्री लिम्बु, दूतावासका मिलिट्री अट्याची प्रदीपजंग केसी, नयाँ नेतृत्व ग्रहण गर्न लागेका कंडेललगायतले बोलेका थिए भन्दै नेपाल ब्रिटेन डटकमको समाचारमा उल्लेख छ।