जनप्रगतिशील मोर्चा युएईले विप्लब माओवादीलाई समर्थन गर्ने


– विवस लिम्बु,

दुवई/लामो समयको मौनता पछी अन्तत: नेपाली जनप्रगतिशील मोर्चा युएईले बिप्लबले नेतृत्व गर्नु भएको नेकपा माओवादीलाई समर्थन गर्ने निर्णय गरेको छ । मेट्रो पार्कमा बसेको मोर्चाको केन्द्रीय समितिले नेकपा माओवादीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कार्यवाहक अध्यक्ष रामसरण कडरियाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा मोर्चाका केन्द्रीय सदस्यहरुले आ-आफ्नो भनाई राखेका थिए । मन्तब्यकै क्रममा मोर्चाका प्रवक्ता बिस्वास चन्द ठकुरीले भन्नु भयो, “नेपाल देश अहिले निकै संकटमा फसेको छ ।

प्रतिकृयावादीहरु बलियो हुँदै गएको स्थिति छ । जनताले रगतसंग साटिएका अमुल्य चिजहरु हामीले गुमाउंदै गईरहेका छौं त्यसैले यो संकटको घडीवाट पार पाउनको लागि नेपाली समाजलाई क्रान्ति नै आवस्यक रहेकोले हाम्रो मोर्चाले नेकपा माओवादीलाई समर्थन गरेको हो ।” भेलामा मोर्चाका महासचिव पृथीछक बुढाले अव क्रान्तिकारीहरु फुटको दिशामा भन्दा पनि हामीले एकताको कुरालाई अगाडी बढाउने त्यसको लागि हामीले युरोपका संगठनहरुबाट पाठ सिक्नु पर्ने बताउनु भयो ।

युरोपका कतिपय देशहरुमा माओवादीका बिभिन्न घटकहरु एकता र एकीकरणको दिशामा अगाडी बढेका छन् । उहाँले बताउनु भयो, तत्कालको लागि युएई स्थित नेपाली जनप्रगतिशील मन्चसंग कार्यगत एकता गरेर अगाडी बढ्ने तर्क राख्नु भएको थियो । मोर्चाको बैठकमा बैद्य समर्थक ३ जनाको भने उपस्थित भएन ।

स्मरण रहोस, नेपाली जनप्रगतिशील मोर्चाको केन्द्रीय समितिमा २३ जना मध्य १९ जना बिप्लव नेतृत्वको नेकपा माओवादीलाई समर्थन गरेका छन् भने एक दुई जना तठस्थ बसेका छन् ।