– भरत कोइराला
पोखरा/चालु आर्थिक वर्षमा कास्कीमा छ वटा सरकारी स्वास्थ्य संस्थाको भवन बन्ने भएका छन् । क्षेत्र नम्बर १ का मिजुरे, थुम्की, हंसपुर सिद्ध र बेगनास र क्षेत्र नम्बर ४ को घाचोकमा रहेका स्वास्थ्य चौकी भवन बन्ने भएको हो । सहरी विकास तथा भवन निर्माण मन्त्रालयमार्फत् बनाउने गरी राष्ट्रिय योजना आयोागले कार्यक्रम स्वीकृत गरिसकेको छ ।
भवन बन्न केही वर्ष लाग्ने भए पनि यही वर्ष निर्माण प्रक्रिया सुरु हुनेछ । जिल्लाबाट चालु आवका लागि १४ वटा स्वास्थ्य चौकीको भवन बनाउन प्रस्ताव पठाए पनि छ वटा मात्र स्वीकृत भएको खबर आफूले पाएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत बालकृष्ण भुसालले बताए । भवन निकै जीर्ण अवस्थामा रहेको चापाकोट उपस्वास्थ्य चौकीको लागि भने यो वर्ष पनि रकम निकासा भएको छैन । दलीय प्रभावका कारण क्षेत्र नम्बर १ मा मात्र यो वर्ष पाँचवटा भवनका लागि योजना परेकोमा अन्य क्षेत्रका बासिन्दा भने असन्तुष्ट भएका छन् ।
यसैगरी लेखनाथको सिसुवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य मन्त्रालयले सिटी अस्पतालको स्तरोन्नती गर्न स्वीकृत दिएको छ । कास्कीमा जिल्ला अस्पताल नहरेको र उक्त केन्द्रंलाई १५ शैयया सहित जिल्ला अस्पतालस्तरको सिटी अस्पतालमा स्रोन्तनतीको लाथि अर्थ मन्त्रालयले स्वीकृति दिएपछि सोही अनुसार गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक एक वटा प्राथमिक स्वास्थ्य केन्द्र रहने प्रावधान अनुसार उक्त केन्द्र सैमराङ, मिजुरे, भाचोक र माझठानाका बासिन्दालाई पायक पर्ने गरी भाचोक गाविसको कसेरीमा राख्ने प्रस्ताव गरिएको छ । अघिल्लो जिल्ला परिषदबाटै उक्त निर्णय पारित भएको नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश खनालले बताए । केही समूह भने सिल्दजुरे गाविसको सोंदामा उक्त केन्द्र स्थापना गर्ने पहलमा लागेका छन् ।
कास्कीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालवाहेक चारवटा प्राथमिक स्वास्थ्य केन्द्र, २१ वटा उपस्वास्थ्य चौकी २२ स्वास्थ्य चौकी, एक सामुदायिक स्वास्थ्य एकाई, छ नगर स्वास्थ्य केन्द्र संचालित छन् । जिल्लामा संचालित उपस्वास्थ्य चौकीलाई क्रमश स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने क्रम पनि जारी नै छ ।