काठमाडौँ/ नेकपा (एमाले)को आज बसेको पदाधिकारी बैठकमा संविधान निर्माणका लागि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन सकारात्मक भएको ठहर गरेको छ। निर्धारित समयमै संविधान जारी गर्नका लागि सो समितिको प्रतिवेदन सकारात्मक र दलहरुबीच राष्ट्रिय सहमति कायम गर्ने वातावरणको सिर्जना गरेको विषयमा छलफल भएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो।
मङ्गलबार बसेको चारदलको बैठकमा सङ्घीयता र निर्वाचन प्रणालीका विषयमा दलहरुबीच भएको छलफल पनि सकारात्मक हिसाबले अघिबढेको र राष्ट्रिय राजनीतिक चुनौतीको समाधानका लागि पार्टी आन्तरिक रुपमा एकताबद्ध भएर जानुपर्ने विषयमा छलफल भएको समेत उहाँले जानकारी दिनुभयो।
नेकपा (एमाले)को पदाधिकारी बैठक बसेलगत्तै केन्द्रीय कमिटी बैठक बस्यो । बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आन्तरिक कमीकमजोरीलाई सुधार गर्दै लैजाने र निर्धारित मितिमै संविधान जारी गर्ने विषयमा पार्टीको ध्यान केन्द्रित भएको बताउनुभयो ।
बैठकमा पोलिट्ब्युरो र स्थायी कमिटी निर्वाचन र कार्य विभाजनलगायतका विषयमा छलफल गर्ने भनिए पनि आज त्यस विषयमा छलफल हुन सकेन । भोलि अपरान्ह् २ बजे बस्ने गरी आजको बैठक सकिएको छ।
यसैबीच, आजै नेकपा (एमाले)का अध्यक्ष ओली र माधवकुमार नेपालबीच पार्टीभित्रको आन्तरिक जीवनलाई प्रभावकारी बनाएर पार्टीलाई एक ढिक्का बनाई अगाडि बढाउने विषयमा परामर्श भएको छ।
पदाधिकारी बैठक बस्नुभन्दा अगाडि नै उहाँहरुबीच सहमति र समझदारीबाटै पार्टीको स्थायी र पोलिट्ब्युरो निर्वाचन गर्नुपर्नेलगायत विषयमा छलफल भएको सचिव ज्ञवालीले जानकारी दिनुभयो। रासस