पोखरामा पनि लगातार झरी


माधव बराल,

पोखरा, ३१ साउन

देशकै सवैभन्दा बढि पानी पर्ने ठाउँले परिचित पर्यटकीय नगरी पोखरामा विगत चारदिनदेखि लगातार झरी परेको छ । झरीले कारण केही ठाउँमा जमिन भासिनु तथा जमिन भासिएर पोखराको जरेवरमा एक घर सामान्य चर्किनु बाहेक अन्य ठुलो क्षति हुने घटना भने भएको छैन । पोखरा तथा आपसामा लगातार पारेको झरीले सहज रुपमा जीवन यापन गर्न भने कठिनाइ भएको छ । हावापानी कार्यालयका अनुसार पोखरामा गत साउन २७ गतेदेखि ३० गते विहान साढे आठ बजेसम्म ४ सय ३८ मिलिमिटर पानी परेको छ । तीन बजेपछि भने पानी पर्न कम भएको छ ।लगातारको झरीका कारण पोखरा विमानस्थलबाट उडान हुन सकेको छैन । पोखरामा आज घाम लागेकाले आजदेखी उडान शुरु भएको छ ।

साउन २७ गते पोखरामा ६८ दशमलव ९ मिलीमिटर, २८ गते १ सय ९७ दशमलव ९ मिलीमिटर, २९ गते ९२ दशमलव ८ मिलीमिटर र साउन ३० गते विहान साढे आठ बजेसम्म ८० दशमलव ८ मिलीमिटर पानी परेको कार्यालयका प्रमुख अनिल साहले बताए ।
उनका अनुसार गत वर्ष यो चार दिनमा जम्मा ५७ मिलीमिटर पानी परेको थियो ।

गत वर्षको साउन २७ गते ४७ दशमवल १ मिलीमिटर, २८ गते शुन्य दशमलव २ मिलीमिटर, २९ गते ९ दशमलव १ मिलीमिटर र ३० गते फाटफुट मात्र पानी परेको थियो ।कार्यालयका अनुसार गत साउन १९ गते ६८ दशमवल ९ मिलीमिटर पानी परेको थियो भने साउन २६ गतेसम्म एक दिनमा बढिमा १५ मिलीमिटर भन्दा बढि पानी परेको छैन । यो वर्ष यसरी लगातार झरी परेको पहिलो पटक हो । झरी पर्नुका खास कारण बारे थाहा नभएपनि मनसुन अवधी भएकोले नै वर्षा भएको अनुमान कार्यालयको छ ।