भित्तेलेखन मेटेकोमा नेकपा कास्की स्थानीय प्रहरी–प्रशासनप्रति आक्रोश व्यक्त


पोखरा – तीनमहिने एकीकृत राष्ट्रिय जनजागरणका क्रममा नेपाल कम्युनिष्ट पार्टी कास्कीले पोखराका विभिन्न स्थानहरुमा लेखेको भित्तेलेखनलाई रातारात स्थानीय प्रहरी–प्रशासनले मेटाउने काम गरेकोमा नेकपा कास्कीले आक्रोश व्यक्त गरेको छ ।

नेकपा कास्कीका सेक्रेटरी रुपेशले  एक प्रेस विज्ञप्ति प्रकाशित गरी स्थानीय प्रहरी–प्रशासनप्रति आक्रोश व्यक्त गरेका हुन् ।
आफ्नो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजिविकाको निम्ति संसदीय व्यवस्थाविरुद्ध निरन्तर संघर्षरत रहेको जनाउ दिंदै उक्त विज्ञप्तिमा “२०७४ माघ १८ गते राती कास्की प्रशासनले निरंकुश पंचायती व्यवस्थाकै झल्को दिदैं पोखराका विभिन्न भित्ताहरुमा लेखिएका नाराहरु सुरक्षा फोर्स परिचालन गरी मेट्ने काम गरेको” उल्लेख छ । आफ्नो पार्टीले लेखेको भित्तेलेखन मेटाउने कार्यलाई उक्त विज्ञप्तिमा “कथित समाजवाद उन्मुख गणतन्त्रात्मक संविधान र लोकतान्त्रिक अधिकारको खिल्ली उडाइएको” रुपमा व्याख्या गरिएको छ ।

सोही विज्ञप्तिमार्फत् बाढीपहिरोपीडितहरुलाई राज्यले निर्धारण गरेर दिएको मजुवा बस्तीको जग्गामा डोजर लगाउने, पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, पृथ्वीनारायण क्याम्पसको भ्रष्टाचार काण्डको ढाकछोप गर्ने, गुण्डा र दलालको संरक्षण गर्ने जस्ता दलाल प्रवृत्ति र पात्रको जनविरोधी कदम जस्ता घृणित जनविरोधी कार्यहरुको आफ्नो पार्टीले संघर्ष गर्ने संकेत गर्दै यस्ता संघर्षका कार्यक्रमहरुमा सहयोग, समर्थन र ऐक्यवद्धता जनाउन नेपाल कम्युनिष्ट पार्टी कास्कीले विज्ञप्तिमार्फत् आम पत्रकार तथा मानवअधिकारवादीहरुलाई आव्हान पनि गरेको छ । जनताका मौलिक हक अन्तरगत पर्ने राजनीतिक र मौलिक हकको हननमा मौन नबस्न एवम् स्वतन्त्र पर्यवेक्षण गर्न समेत विज्ञप्तिमार्फत् विशेष अनुरोध गरिएको छ ।