हुम्ला – हुम्लाको सिमिकोटमा तारा एयरको विमान दुर्घटना भएको छ । आज बिहान उडान भर्ने क्रममा विमान धावनमार्गबाट डिलमुनि खस्दा दुर्घटना भएको हो ।
कल साइन नाइन एनएवीएम विमान उड्ने क्रममा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटहरू वसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीनजना चुनाव सकेर फर्किँदै गरेका प्रहरी रहेका छन् ।
घाइतेहरूको हुम्लाकै सिमीकोटमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेको विमान यसअघि नेपाल एयरलाइन्सले चलाउँदै आएको थियो । यसलाई नै अहिले तारा एयरले सञ्चालन गर्दै आएको छ ।