रुकुम (पश्चिम)का सबै मतपेटिका सदरमुकाम ल्याइएको छ ।
सोमबार साँझ ७३ मतदानस्थलबाट सबैमा मतपेटिका सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए । ४३ मतदानस्थलका मतपेटिका आइतबारै सदरमुकाम ल्याइएको थियो ।
आठविकासकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिकाका ३० वटा मतदानस्थलका मतपेटिका सोमबार साँझ सदरमुकाम ल्याइएको हो ।
प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी जिल्लाभरका तीन सय ३३ मतपेटिका कडा सुरक्षाका बीच जिल्ला समन्वय समितिमा राखिएको छ ।
मतपेटिका राखिएको कोठामा मुसासमेत छिर्न नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
रुकुम (पूर्व)
रुकुम (पूर्व)का चारवटा मतदानस्थलका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको छ ।
पुथाउत्तरगंगा गाउँपालिकाको हुकाम, रन्मामैकोट, मैकोट र पेल्मा मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । पैदल दुई दिन हिँडेर मतपेटिका ल्याउँदा सुरक्षा चुनौती हुने भएकाले मतपेटिका ओसार्न हेलिकोप्टरको सहायता लिनुपरेको प्रजिअ सापकोटाले बताए ।
गोरखा
उत्तरी गोरखाका १६ वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको छ ।
दलीय प्रतिनिधिसहित दुर्गम मतदान केन्द्रका मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याएको गोरखाका निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए ।
गोरखा क्षेत्र नम्बर २ को मतपेटिका जिल्ला समन्वय समितिमा सिल गरेर राखिएको छ । दलीय प्रतिनिधिको रोहवरमा मतपेटिका भण्डारण गरेर सुरक्षित पारिएको सापकोटाले बताए ।
लमजुङ
हिमालपारिको जिल्ला मनाङमा सबै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सोमबार सदरमुकाम चामे ल्याइएको छ ।
चार गाउँपालिका रहेको मनाङमा ‘नार फु’ मा रहेका पाँच मतदान केन्द्रलाई अति संवेनदशील सूचीमा राखिएको थियो ।
उक्त केन्द्रको मतपेटिका सोमबार बिहान साढे ११ बजे हेलिकोप्टरमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय चामे ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताए ।
मनाङका २३ मतदान केन्द्रको मतपेटिका भने आइतबार राति ११ बजे चामे ल्याइएको थियो ।
ताप्लेजुङ
ताप्लेजुङका उच्च हिमाली गाउँमा रहेका चार मतदान केन्द्रका मतपेटिका सोमबार हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको छ ।
फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ को याङ्मा, ओलाङचुङगोला र फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ ग्याब्ला र घुन्साका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम फुङलिङ ल्याइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
ताप्लेजुङको सबैभन्दा उच्च हिमाली क्षेत्रमा रहेको याङ्मा मतदान केन्द्रमा ५७ मतदातामध्ये १६ जनाले मतदान गरेका थिए भने, ग्याब्ला मतदान केन्द्रमा ४९ मतदातामध्ये २५ मत खसेको थियो ।
धादिङ
भौगोलिक रूपमा विकट धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली र खनियावास गाउँपालिकाका मतपेटिका हेलिकोप्टरमार्फत सोमबार सदरमुकाम ल्याइएको छ ।
सडक नपुगेका उत्तरी क्षेत्रका १७ वटा मतदानकेन्द्रका ५१ वटा मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।