काठमाडौं– वरिष्ठ चिकित्सक गोविन्द केसीले संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्न खोजिएको भन्दै पुनः आमरण अनसन सुरु गरेका छन् । उनको यो १३ औं पटकको आमरण अनसन हो ।
यसअघि उनले दशैंको अवसर पारेर आमरण अनसन स्थगित गरेका थिए । प्रमुख तीन दलले मिलेर माफियामुखी ऐन जारी गर्न लागेकाले त्यसलाई रोक्न दशैं सकिएकै दिन विहिबार अपरान्हबाट आमरण अनसन सुरु गर्नु परेको वरिष्ठ चिकित्सक केसीले बताए ।
विहिबार आमरण अनसुन सुरु गर्नुअघि महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन दिइएको दवावको सरकारले सुनुवाई नगरेपछि पटक पटक आमरण अनसन बस्नु परिरहेको पनि उनले स्मरण गरे ।
वरिष्ठ चिकित्सक केसीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १२ पटकसम्म आमरण अनसन बसिसकेका छन् ।