काठमाण्डौ – कानूनी जटिलता देखिएपछि तालमेल गरेपनि फरक फरक चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुन एमाले र माओवादी केन्द्र तयार भएका छन्।
नेकपा माओवादी केन्द्र आफ्नै चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा संघ र प्रदेशको चुनाव लड्ने भएको छ।
नेकपा एमाले र माओवादी केन्द्रबीच यसअघि एमालेको चुनाव चिन्ह सूर्यमा दुवै पार्टीले चुनाव लड्ने समझदारी भएको थियो।
दुई पार्टीबीच पार्टी एकीकरण समन्वय समिति र चुनावी तालमेलको समझदारी भएको छ। समझदारीबारे जानकार दिन पाँच बजे पत्रकार सम्मेलन राखिएको छ।
एक नेताका अनुसार नयाँ दल दर्ता गर्न नमिल्ने, निर्वाचनमा उम्मेदवार सिफारिस गर्न अप्ठेरो हुने भएपछि दुई पार्टीबीच आ-आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने समझदारी बनेको हो।
‘केपी ओलीले टिकट दिएर प्रचण्ड चुनाव लड्नुपर्ने अवस्था देखियो, यस्तो हुँदा चुनाव अघि नै माओवादी पार्टी सकिने भयो। त्यसैले एकीकरण नभएसम्मका लागि आ-आफ्नै चुनाव चिन्हमा जाने समझदारी भयो’, एक नेताले सेतोपाटीसँग भने।
निर्वाचनमा उम्मेदवार टुङ्गो लगाउने व्यक्ति पद र हस्ताक्षर दलहरुले निर्वाचन आयोगमा बुझाई सकेका छन्। कानूनी अप्ठेरो भएकै कारण एउटै चुनाव चिन्हमा जाने निर्णय तत्काल रोकिएको ती नेताले बताए।