एमाले र माओवादी केन्द्र सूर्य चिन्हमा चुनाव लड्ने, चुनावपछि दुवै पार्टी एकीकरण


काठमाण्डौ – प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्र आगामी प्रदेश तथा संघीय चुनाव मिलेर लड्ने र अन्तत: पार्टी एकता गर्ने सहमतिमा पुगेका छन्।

आसन्न दुवै चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत ठाउँबाट उम्मदेवारी दिएर गठवन्धन गर्ने सहमति भएको छ। दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्ने छन्। चुनावपछि दुवै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति पनि जुटेको छ। कुन पार्टीले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्ने टुंगो छलफलपछि लगाउने सहमति भएको छ।

सहमतिको मस्याैदा पनि तयार भैसकेको र सम्भवत: म‌ंगलबार नै यसको घोषणा हुने नेताहरुले बताए।

चुनावी तालमेल र पार्टी एकीकरणमा मुख्य चुनौती हुने नेतृत्वको विषय पनि दुवै पार्टीले टुंग्याएका छन्।

सरकार बनाउने अवसर आएको खण्डमा दुवै पार्टीका नेताले अालोपालो गर्ने सहमति भएको र यो विषय सहमतिपत्रमै लेखिएको एक एमाले नेताले  बताए। माअोवादी केन्द्रका नेताहरुले भने सरकार र एकीकृत पार्टीको नेतृत्व नै आलोपालो गर्ने सहमति भएको र त्यही भाषा सहमतिको मस्याैदामा परेको दाबी गरे।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिब एक सातादेखि धेरैपटक एक्लाएक्लै भएका छलफलपछि यी विषयमा सहमति जुटेको हो।

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकीकरणबारे मंगलबार बैठक हुँदैछ। उक्त बैठकपछि मंगलबार नै सहमति सार्वजनिक हुने सम्भावना छ।