राजाराम पौडेल, पोखरा – पोखराको चिप्लेढुंगामा रहेको मेलोडी क्याफे एण्ड लाउञ्ज बारले दोस्रो ‘मेलोडी अवार्ड’ बाट संगीतकार सुनील थापालाई सम्मान गरेको छ । क्याफेको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रममा अवार्ड विजेता थापालाई कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नगद २५ हजार ५ सय २५ रुपैयाँसहित दोषल्ला र अर्वाड विजेता थापाकी आमा मायादेवि थापाले दूबोको माला लगाइदिएर अवार्डसहित सम्मान गरे । अवार्ड प्राप्त गर्ने थापा पोखरामा बसेर तीन दशक देखि गीतसंगीतको क्षेत्रमा कृयाशिल छन् ।
तेस्रापट्टि–३, पोखरा जन्मिएका थापा २०४५ मा पिस ह्यान्की क्लबमा आवद्ध भएर संगीतकर्मीको रुपमा पाइला चालेका थिए । २०४८ सालम कन्दरा समुहमा आवद्ध भएका उनी त्यसपश्चात हालसम्म कन्दरा समुहमै निरन्तरा दिइरहेका छन् । लोकपप, लोक आधुनिक, फिल्मी गरी हालसम्म झण्डै तिन सय गीतमा संगीत भरीसकेका थापाका सोलो संगीतको एल्बम बजारमा आइसकेका छन् ।
थापाले तीन दर्जन भन्दा बढी गीत रचना गरेका छन् भने ‘सुन ए साथी’, ‘भो भयो‘ लगायतका केही गीतमा आवाज समेत उनले भरेका छन् । उनले गुरुङ्ग चलचित्र र भिडियो चलचित्रमा समेत संग्ीत भरेका छन् । क्या राम्रो स्याउबारी, लाली गुँरास, रुपै राम्रो रुपातालको, झिम्के परेली लगायत उनले संगीत भरेका ठाउँ विशेषका चिनारी गीतहरु दर्शक श्रोताले उत्तीकै रुचाएका छन् ।
कार्यक्रममा सम्मानित व्यक्तिको परिचय दिदै कन्दरा समुहका गायक विवेक श्रेष्ठले सुनिल थापा अथाह प्रतिभाले भरिएको श्रष्टा भएको बताए । संगीतकारको रुपमा मात्र नभएर गीतकार, अभिनय लगायतको क्षेत्रमा समेत थापा अब्बल रहेको उनले खुलाए । थापाको संगीत तथा रचना गरिएका गीतका कारण नै कन्दरा समुहले विवेक श्रेष्ठको परिचय बन्न सकेको उनले बताए ।
सम्मानित व्यक्तित्व सुनिल थापाले आमाले गरेको दुःखलाई देखेर ती पिडा गीत संगीतको माध्यमबाट बाहिर ल्याएको बताए । आफुले प्राप्त गरेको नगद पुरस्कार आर्थिक अभावका कारण प्रतिभा भएर पनि ओझेलमा परेकालाई खर्च गर्ने प्रतिवद्धता उनले गरे । विगतका पिडा सबै सामु सुनाउँदा उनी भक्कानो छोडेर रोए । उनी रुदाँ उपस्थित दर्शकका आँखाबाट समेत आँशु झरेका थिए ।
कार्यक्रममा सम्मानित थापाले रचना गरेका गीतहरु कन्दरा समुहका विवेक श्रेष्ठ, बिनोद बानियाँ, पारस थापा र मालती गुरुङले आफ्नो आवाज मार्फत सुनाउदै उपस्थित दर्शकलाई रमाउने अवसर समेत प्रदान गरे । अवार्ड आयोजक संस्था मेलोडी क्याफे एण्ड लाउञ्ज बारका सञ्चालक मध्येका एक बिनोद बानियाँले गीत संगीतको प्रबद्र्धनका लागि आफूहरुले अवार्ड आयोजना गरेको बताए । ‘यो अवार्ड प्रदेश नं. ४ मा बसेर निरन्तर साँगीतिक क्षेत्रमा क्रियाशिल प्रतिभालाई हरेक वर्ष प्रदान गरिनेछ’ सञ्चालक वानियाले भने । मेलोडि रेष्टुरेन्ट एण्ड लाउञ्ज बारमा विनोद बानियाँ, शेखर शेरचन, अशोक गुरुङ र गणेश वसौलाको लगानी रहेकोछ । कार्यक्रमको सञ्चालन पत्रकार अमृत सुवेदीले गरेका थिए । गत वर्ष पहिलो मेलोडी अवार्ड तीर्थ तामाङलाई प्रदान गरिएको थियो ।