ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


 काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरु निर्वाचनकै विषयले भरिएका छन् । पत्रपत्रिकाहरुले २ नम्बर प्रदेशको चुनावलाई प्रतिष्ठाको विषय बनाउँदै सबै दल केन्द्रित भएको लेखेका छन् । निर्वाचन प्रचारका क्रममा भएका आचारसंहिता उल्लंघनका घटनालाई पनि पत्रिकाहरुले छापेका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा गर्दा चुनाव खर्च ह्वात्तै बढेको छ । पहिलो र दोस्रो चरणको स्थानीय चुनाव सम्पन्न गर्न ६ अर्ब ३० करोड खर्च गरेको आयोगले तेस्रो चरणअन्तर्गत असोज २ को निर्वाचनका लागि १ अर्ब ७५ करोड खर्च हुने अनुमान गरेको पत्रपत्रिकाले लेखेका छन् ।

नेपालमा बढ्दो चिनियाँ तस्करीदेखि सरकारी संरचनाहरु निर्माणमा ठेकेदारले गर्ने लापरवाहीलगायत विषयलाई आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर लेखेका छन् ।केही पत्रिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यतालिकामा सरकारले नै आपत्ति जनाएको लेखेका छन् ।

मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको जानकारीलाई आज गोरखापत्रले मुख्य खबर बनाएर छापेको छ । नेपाली भाषाको प्रयोग अनिवार्य गर्न भाषा आयोगले गरेको आग्रहलाई पनि गोरखापत्रले लेखेको छ । भारतमा सवारी दुर्घटना हुँदा सात नेपालीको ज्यान गएको, चितवनबाट प्रचण्डले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकोलगायत खबरले गोरखापत्रको पहिलो पृष्ठ भरिएको छ ।

नयाँ पत्रिका दैनिकले प्रमुख दलहरुले सम्पूर्ण शक्ति प्रदेश २ मा लगाएको लेखेको छ । नयाँ पत्रिकामा  नेपालबाट वार्षिक १० करोडको रौं निर्यात हुनेदेखि समाजसेवीको आवरणमा लुकेका अस्ट्रेलियन याैन दूराचारी पक्राउ परेकोसम्मका खबर छन् ।

‘चिनियाँ तस्करीको जालो’ शीर्षक दिएर अन्नपूर्ण पोस्ट दैनिकले तस्करीबारे चिरफार गरेको छ । अर्थमन्त्री र आपूर्तिमन्त्री बीच भएको चर्काचर्कीलाई पनि अन्नपूर्णले लेखेको छ । चरणबद्ध चुनावले खर्च बढेको विषयलाई पनि अन्नपूर्ण पोस्ट दैनिकले पहिलो पृष्ठमा समेटेकाे छ ।

नागरिक दैनिकले स्वास्थ्य क्षेत्रको भवन निर्माण अलपत्र छाडेर ठेकेदार बेपत्ता भएको लेखेको छ ।

‘मुहार फेर्ला राजविराजले ?’ शीर्षक दिएर मुख्य खबर लेखेको कान्तिपुर दैनिकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यतालिकामा सरकारकै आपत्ति रहेको उल्लेख गरेको छ । राजधानी दैनिकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै झन्डावाल गाडीमा मन्त्री भोट माग्दै हिँडेको लेखेको छ ।