काठमाडौं – सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरि मंसिर १० गतेको मिति तोकेको हो । सो निर्णयबारे निर्वाचन आयोगलाई जानकारी दिइने सरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । निर्वाचन एकै चरणमा गर्ने वा दुई चरणमा गर्ने भन्नेबारे निर्वाचन आयोगले नै टुंगो लगाउने पनि उनले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एजेण्डा पनि तय गरेको छ । प्रधानमन्त्री देउवाको राजकिय भ्रमणका बेला उठाउनुपर्ने विषय माथि छलफल गरी बैठकले स्पष्ट एजेण्डा तय गरेको हो । भ्रमणका क्रममा पुराना संन्धि सम्झौतालाई पुनरावलोकन गर्ने, लक्ष्मणपुर बाँध, कोशी बाँध लगायत विभिन्न बाँधबाट पुगेको क्षति नोक्सानीका बारेमा छलफल गरिने छ ।