निर्वाचन क्षेत्र निर्धारण आयोगद्धारा प्रदेश नम्बर ४ मा सुझाव संकलन


पोखरा – निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश नम्बर ४ मा क्षेत्र निर्धारणका लागि राय सुझाव संकलन गरेको छ । आयोगका सदस्य प्राडा विश्वकल्याण पराजुलीको नेतृत्वमा आएको टोलीले राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी सगँ सुझाव संकलन गरेको हो ।

अधिकांशले जनसंख्या र भौगोलिक आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा आयोगलाई सुझाव दिए । सुझाव दिने क्रममा जनसंख्यालाई मात्र हेरेर क्षेत्र निधारण गर्ने हो भने हिमाली क्षेत्रमा रहेका जिल्लालाई अन्याय हुने सहभागीको सुझाव थियो । प्रदेश नम्बर ४ मा हाल ११ जिल्लामा २४ वटा निर्वाचन क्षेत्र छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले कास्कीमा यसअघि निर्धारित ४ क्षेत्रलाई घटाउन नहुनेब बताए । उनले आयोगले हिमाल, पहाड र तराईमा कति क्षेत्र रहने हो भन्ने’boutमा कुनै कार्यविधि नभएको टिप्पणी गर्दै कास्की ४ क्षेत्रको लागि सम्पूर्ण आधार पर्याप्त रहेको उल्लेख गरे । काँग्रेसका जिल्ला सभापति कृष्ण केसीले क्षेत्र निर्धारण जनसंख्या र भौगोलिक आधारलाई मान्दा पनि कास्कीमा ४ वटै क्षेत्र हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जनसंख्या र भूगोललाई आधार मानेर क्षेत्र निर्धारण गर्नुपर्ने बताए । कार्यक्रममा आयोग सदस्य प्राडा पराजुलीले काम सुरु गरेको मितिले २१ दिन कार्यअवधि हुने भनी सरकारले तोकेको हुँदा सबै क्षेत्रमा पुगेर सुझाव संकलन गर्न कठिनाई भएको बताए । उनले प्रदेशमा केन्द्रित रहेर सुझाव संकलन कार्य सुरु भएको बताए । आयोगले गत साउन ११ देखि काम सुरु गरेको हो ।

जनसंख्या र भौगोलिक आधारमा निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन श्रेत्रबाट एक जना रहने गरी एक सय ६५ क्षेत्र निर्धारण गर्न आयोगलाई अधिकार क्षेत्र रहेको छ । प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्यादी, बाग्लुङ र नवलपरासीको बर्दघाट १ र सुस्ता पुर्वको क्षेत्र प्रदेश नम्बर ४ मा पर्दछ ।