सडक पेटीमा व्यवसाय गरेकोमा नेपाल राष्ट्रिय वाणिज्य संघ कास्कीको आपत्ति


पोखरा- पोखराको पृथ्वीचोकमास्थित नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको ‘सस्तो बजार’ प्रकरणसँगै त्यहाँ रहेका व्यवसायीहरुबाट बिगत केही दिनदेखि सडक पेटी अतिक्रमण गरी व्यवसाय गरेकोप्रति नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ । संघका अध्यक्ष संजिब कोइरालले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

केही वर्ष पहिला पोखराको फुटपाथमा अनधिकृत रुपले संचालन हुँदै आएको फुटपाथ व्यवस्थापन गर्ने क्रममा नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा ‘सडक व्यवसायी ’व्यवस्थापन गरिएको सम्बन्धित सबैलाई जानकारी भएकै विषय हो । तत्कालीन समयमा निगमबाट जग्गा भाडामा लिएको आकिरा प्रालिसँगको सहकार्यमा सो व्यवस्थापन सम्भव भएको हो । निगमले पछिल्लो सयय सो जग्गा अर्कै व्यक्तिलाई भाडामा लगाएपछि अहिलेको परिस्थिति उत्पन्न भएको र सो सम्बन्धी मुद्धा अदालतमा विचाराधिन रहेको कोही कसैबाट छिपेको छैन ।

जग्गा भाडामा लिने तथा त्यहाँ पहिलेदेखि नै बस्दै आएका व्यवसायीहरुबीच उत्पन्न बिवादकै बीचमा व्यवसायीहरुले सडकबाटै व्यापार गर्न थाल्दा र अहिले पनि लुकिछिपी फुटपाथ अतिक्रमण गरी व्यवसाय गर्नेहरु पनि सो क्षेत्रमा एकत्रित हुँदा समस्या झन बिकराल बन्न पुगेको विज्ञप्तीमा उल्लेख छ । यसले फुटपाथमा हिड्न पाउने आम नागरिकको नैसर्गिक अधिकार नै हनन मात्र भएको छैन, ‘फुटपाथ व्यवसायरहितको पर्यटकीय सहर ’ को नारा नै धरापमा परेको छ ।

राज्यलाई कर तिरी व्यवसाय गर्न पाउनु व्यवसायीहरुको नैसर्गिक अधिकार हो । त्यो अधिकारमाथि कहिँ कतैबाट धावा बोलिनु हुँदैन । तोकिएको भाडा तिरी वर्षौँदेखि सो स्थानमा रहँदै आएका व्यवसायीहरुको लगानी नै धरापमा पर्ने गरी बलात् सो स्थानबाट हटाउनु तथा अस्वभाविक रुपले भाडा बृद्धि गरिनलाईु मानवीय दृष्टिले उचित मान्न सकिँदैन । अर्कोतर्फ व्यक्तिको सम्पत्तिमाथिको अधिकारलाई हनन गर्ने गरी कुनै व्यक्तिको सम्पत्ति मेरै हुनुपर्छ भन्ने मान्यतालाई पनि कानून सम्मत मान्न सकिन्न । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्की अहिले उत्पन्न परिस्थिति संवाद र सहकार्यमार्फत हल गर्न सम्बन्धित पक्षसँग अनुरोध गर्दछ ।

नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्की फुटपाथमा हुने कुनै खाले व्यवसाय र गतिविधीलाई पूर्णत ः निषेध गरिनुपर्छ भन्ने मान्यता राख्दछ । अर्कोतर्फ, जुनसुकै बहानामा गरिने सडक अतिक्रमण दण्डनीय हो र त्यसमाथि पूर्णता रोक लगाउनु पर्छ । अहिले उत्पन्न परिस्थितिलाई बेलेैमा संवोधन गर्न नसके पोखरा कुरुप सहरमा परिणत हुने तथा कानूनी राज्यको अवधारणामाथि नै प्रश्नचिन्ह खडा हुनेमा कुनै आशंका छैन । कानून मिचेर गरिने गतिविधीलाई जनप्रतिनिधीहरुले नजरअन्दाज गर्न मिल्दैन विज्ञप्तीमा भनिएको छ । अतः अहिले पृथ्वीचोक क्षेत्रमा उत्पन्न समस्याको छिटो निराकरण गर्नको लागि नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्की पोखरा लेखनाथ महानगरपालिका, स्थानीय प्रशासन र सरोकारवाला सबै निकायसँग जोडदार माग गर्दछ ।