पोखरा – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्तापक्षबाट कतिपय स्थानमा धाधलीको प्रयास गरिएपनि दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् ।
सत्तापक्षबाट विशेष गरी अछाम, बझाङ, बाजुरा, डोटीमा अस्तब्यस्तता सिर्जना गर्ने प्रयास भएपनि सेना परिचालन गरी मतदान सम्पन्न गरिएको उनको दावि छ । केहि स्थानमा सेना परिचालन नगरिएको भए निर्वाचन हुनै नसक्ने वाताबरण समेत सत्तापक्षबाट सिर्जना गरिएको र केहि स्थानमा मतदात कार्यमा खटिएका कर्मचारीले समेत वदमासी गरेको उनको आरोप छ ।
प्रेस चौतारी कास्कीले विहिवार विहान पोखरामा गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले पहिलो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बनेको र दोस्रो चरणमा पनि पहिलोमै रहने दावि गरे । दोस्रो चरण निर्वाचनको मतगणना समयमै सम्पन्न हुने अपेक्षा ब्यक्त गर्दै उनले पहिलो चरणको परिणाम भन्दा पनि राम्रो परिणाम एमालेको पक्षमा आउने विश्वास ब्यक्त गरे ।
महासचिव पोखरेलले मधेसी दलको माग पुरा गराउने नाममा आएको हालको संसोधन प्रस्तावमा एमाले सहमत नहुने स्पष्ट पारे । संसोधनमा उल्लेख गरिएको भाषा, नागरिकता र जनसंख्याको आधारमा प्रतिनिधित्वको मुद्धामा एमाले सहमत हुनै नसक्ने उनको स्पष्टोक्ति छ । हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने षड्यन्त्रको साथ संसोधन प्रयास आएको उनको ठोकुवा छ ।
यद्यपी पोखरेलले तोकिएकै समयमा सबै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यन्वयनको वाताबरण बनाउन एमाले छलफलका लागि तयार रहेको बताए ।