भिटोफद्वारा गण्डकीका होमस्टे अनुगमन


पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराले गण्डकी अञ्चलका आधा दर्जन सामुदायिक होमस्टेको अनुगमन गरेको छ । गाउँलेका समस्या बुझेर समाधानमा सहकार्य गर्न अनुगमन गरिएको भिटोफका अध्यक्ष तारानाथ पहारी बताउँछन् ।

भिटोफले तनहुँ, गोरखा र स्याङ्जाका होमस्टे अनुगमन गरेको हो । उसले तनहुँका बन्दीपुर सामुदायिक होमस्टे, कोरिखा सामुदायिक होमस्टे, रानागाउँ भाल्डाँडा होमस्टे र बिमलनगर सामुदायिक होमस्टे घुम्यो । साथै गोरखाको पसलाङ र स्याङ्जाको पित्लेक देउराली होमस्टे अनुगमन गरेको पहारीले बताए ।

बन्दीपुर सामुदायिक होमस्टे, स्याङ्जाको वालिङ नगरपालिका–५ मा अबस्थित पित्लेक देउराली सामुदायिक होमस्टे र तनहुँको भानु नगरपालिका–४ मा अबस्थित राना गाउँ भाल्डाँडा होमस्टे पुराना हुन् भने कोरिखा र बिमलनगर होमस्टे भर्खरै सञ्चालनमा आएका हुन् ।

पहारीका अनुसार १२ वैशाख २०७२ को भुइँचालोबाट गोरखा नगरपालिका–४ मा अबस्थित पसलाङ गाउँ क्षतिग्रस्त छ । त्यहाँ पुनःनिर्माण गरिएका केही घरमा होमस्टे गराउन थालिएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर रानामगरले बताएका छन् ।

बन्दीपुर सामुदायिक होमस्टेकि अध्यक्ष दीलकुमारी रानाका अनुसार बन्दीपुरमा पर्यटकको चहलपहल राम्रो छ । बरु त्यहाँबाट एक घन्टा दुरीको कोरिखा सामुदायिक होमस्टेले पाहुना पाएको छैन । त्यहाँ गत पुस ११ गते शिक्षाविद् चिजकुमार श्रेष्ठले होमस्टे उद्घाटन गरेका थिए । कोरिखामा गुरुङका समुदायका ६ घरमा होमस्टे गराउन सुरु गरिएको गाउँका अगुवा युवा लिलबहादुर गुरुङले बताए ।

बन्दीपुर डाँडा मुन्तिर विमलनगरमा पनि मरस्याङदी आमा बचत तथा ऋण सहकारी लिमिटेडले पनि वर्ष २०७४ को वैशाखदेखि ८ घरमा होमस्टे सुरु गरेको छ । त्यहाँ अरु ८ घरमा पूर्वाधार बन्दैछ । १६ मध्ये १ घर नेवारको हो भने बाँकी मगर समुदायको । होमस्टेकि अध्यक्ष सीता थापाका अनुसार होमस्टे उद्घाटन नहुँदै पाहुना आउन थालिसकेका छन् ।

उता तनहुँकै रानागाउँका११ घरमा होमस्टे गराइन्छ । त्यहाँ अचेल पाहुना पुगेका छैनन् । बरु अग्र्यानिक गाउँ पित्लेक देउरालीमा चहलपहल बढ्न थालेको छ । स्याङ्जाको पित्लेक होमस्टेलाई आकर्षक गन्तव्य बनाउने अभियान सुरु भएको छ । गाउँका अगुवा युवा भुपेन्द्र गुरुङका अनुसार पित्लेकलाई नमुना गन्तव्य बनाउने प्रयासभैरहेको छ ।

गाउँ घुमेर फर्केका भिटोफ अध्यक्ष पहारी भन्छन्–सबै गाउँलेले अतिथि सत्कार तालिम, होमस्टे गाउँको भ्रमण र मार्केटिङका लागि सहयोग मागेका छन् । हामी आबश्यक तालिम, व्यवसायीको भ्रमण, होर्डिङ बोर्ड निर्माण लगायत काममा सहकार्य गर्नेछौं । स्थानीय निकायमा जनप्रतिनिधि आइसकेकाले उनीहरुसँग मिलेर काम गर्छौं ।